|

काठमाठाैं : युरोकप फुटबलको समूह चरणका खेलहरु सकिँदासम्म पोर्चुगलका खेलाडी क्रिश्चियानो रोनाल्डोले जारी संस्करणमा सर्वाधिक गोलकर्ताको सूचीमा उभिएका छन्।

समूह चरणका ३ खेलमा पुरै २ सय ७० मिनेट नै खेल्दै उनले ५ गोल गरेका छन् भने एक गोल गर्न मद्दत गरेका छन्। समूह चरणमा हंगेरीलाई ३-० ले हराउँदा २ गोल उनकै नाममा रह्यो।

खेलको ८७ औँ मिनेटमा पेनाल्टीमा र निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा रोनाल्डोले गोल गरेका थिए। समूह चरणको दोस्रो खेलमा जर्मनीसँग ४-२ को हार बेहोर्दा पनि रोनाल्डोले एक गोल गरे।

उनले खेलको १५ औँ मिनेटमा सुरुवाती गोल गरेका हुन्। यस्तै समूह चरणको अन्तिम खेलमा युरो कपको साविक विजेता पोर्चुगलले विश्वविजेता फ्रान्सलाई २–२ गोलको बराबरीमा रोक्दा पनि रोनाल्डोले नै दुबै गोल गरे।

उनले खेलको ३१ औँ र ६० औँ मिनेटमा पेनाल्टीमार्फत नै गोल गरेका हुन्। पोर्चुगलले क्वार्टरफाइनलमा पुग्न बेल्जियमको सामना गर्दै छ। 

रोनाल्डोपछि सर्वाधिक गोलकर्ताको सूचीमा चेकगणतन्त्रका प्याट्रिक स्चिक, स्विडेनका इपमल फोर्सबर्ग, बेल्जियमका रोमेलु लुकाकु, नेदरल्याण्ड्सका जर्जिनियो विज्नाल्डम र पोल्याण्डका रोबर्ट लेवान्डोस्की छन्।

उनीहरु सबैले ३–३ गोल गरेका छन्। चेकगणतन्त्रका प्याट्रिकले ३ खेलमा कुल २ सय ३६ मिनेट खेल्दै ३ गोल गरेका हुन्। पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराउँदा दुवै गोल उनकै नाममा रह्यो।

उनले खेलको ४२ औँ र ५२ औँ मिनेटमा गोल गरेका हुन्। यसैगरी क्रोयसियासँग १–१ गोलको बराबरी खेल्दा प्याट्रिकले एक गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा चेक इंगल्याण्डसँग १ गोलले हारेको थियो। चेक गणतन्त्रले अन्तिम १६ मा नेदरल्याण्ड्सको सामना गर्नेछ। 

स्विडेनका फोर्सबर्गले समूह चरणको दोस्रो खेलमा स्लोभाकियाविरुद्ध एक गोल गरे। उनले सो गोल खेलको ७७ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका हुन्। उनले पोल्याण्डविरुद्ध खेलका दौरान दोस्रो र ५९ औँ मिनेटमा दुई गोल गरे।

स्विडेनले अन्तिम १६ मा युक्रेनसँग खेल्नेछ। बेल्जियमका लुकाकुले पनि ३ गोल गरिसकेका छन्। उनले रसियाविरुद्ध खेलमा २ गोल गरेका थिए भने फिनल्याण्डसँगको खेलमा १ गोल गरेका थिए।

यस्तै नेदरल्याण्ड्सका विज्नाल्डमले पनि आफ्नो नाममा ३ गोल पुर्‍याइसकेका छन्। उनले नर्द म्यासेडोनियाविरुद्ध २ गोल गर्दा युक्रेनविरुद्ध पनि १ गोल गरेका थिए।

उनले ३ खेलमा पुरै २ सय ७० मिनेट खेलेका छन्। यसैगरी पोल्याण्डका लेवान्डोस्कीले पनि ३ गोल नै गरेका छन्। समूह चरणबाटै पोल्याण्ड बाहिरिएकाले उनको थप गोल गर्ने सम्भावना छैन।

नेदरल्याण्ड्सका मेम्फिस डिपे, इटालीका किरो इम्मोबाइल, स्विजरल्याण्डका जेर्दान साक्विरी र युक्रेनका रोमान येरेमचुकले समान २–२ गोल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.