नालीबिनाका अवैज्ञानिक पिच सडकले समस्या

|

चितवन : धेरैजसो मानिसले विकास भनेको नै सडक बाटो भनेर बुझ्ने गर्छन्। आफ्नो घरअगाडि पिच सडक बनेपछि विकास भएको मान्छन्। तर त्यो पिच सडक कत्तिको गुणस्तरीय र वैज्ञानिक छ भनेर कमै मानिसले मात्रै चासो राख्छन्।

भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि कालोपत्रे सडक निर्माणले तीव्रता पाएको छ। ‘खै विकास’ भन्नेलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले सुरुमा देखाउने भनेको पिच सडक नै हो। महानगरमा बनाइएका नाली विनाका पिच सडक भने वैज्ञानिक देखिँदैन।

हिउँदमा चिल्ला देखिने पिच सडक बर्खामा पानी पर्नेबित्तिकै पोखरी बन्छन्। फुटपाथका लागि टायलमा करोडौँ खर्चिने भरतपुर महानगर नाली निर्माणमा चासो देखाउँदैन।

महानगरमा कालोपत्रे गरिएका अधिकांश सडकमा नाली निर्माण गरिएको छैन। गत वर्षको बर्खामा पनि महानगरको सडकहरू डुबानमा परेका थिए।

मोज्याक टायल खरिदमा लाखौँ रुपैयाँ कमिसन खान पाउने भएकाले महानगरले नाली निर्माणमा चासो नदिएको भरतपुर महानगरपालिका–९ शरदपुरका विष्णु भुसाल बताउँछन्। नालीका लागि सामान्य कंक्रिटको ढकनी भए पुग्छ।

भुसालको घरअगाडिको १६ मिटर चौडाइ भएको हाकिमचोक–गौरीगञ्ज सडक भर्खर मात्रै विस्तार भएको हो। सडकको दुवै छेउमा टायल राखेर आकर्षक फुटपाथ पनि बनाइएको छ। तर नाली बनाइएको छैन।

‘निकासबिनाको विकास छ। दीर्घकालीन सोच राखेर विकास गर्न नसक्दा जनताले दुःख पाएका छन्’, भुसाल भन्छन्, ‘बाटो बन्दै गर्दा नालीको अवधारणा भएन भने यस्तो समस्या आइरहन्छ। नयाँ बनाएको पिच पनि  छिट्टै भत्किन्छ।’ भरतपुरका धेरैजसो सडकहरू नाली विना नै बनाइएको उनी बताउँछन्।

हाकिमचोकदेखि भरतपुर अस्पतालसम्मको सडकमा पनि नाली बनाइएको छैन। यो क्षेत्र सरकारी कार्यालय बढी भएको क्षेत्र हो। बर्खामा यो सडकमा डुबानमा पर्दै आएको छ। यस सडक भएर हिँड्ने नागरिक र व्यवसाय गर्ने व्यवसायीलाई सडकमा बग्ने पानीले समस्या पर्ने गरेको छ।

बर्खामा परेको पानीको निकास नहुँदा गत वर्ष यहाँका सरकारी कार्यालयहरू समेत डुबानमा परेका थिए। निकासबिनाको विकासका कारण भरतपुर महानगरको वडा नं १, २, ३, ७, ९, १०, ११ र १२ का घरहरू डुबानमा पर्ने गरेका छन्।

चार वर्षमा ५१० किमि कालोपत्रे

जनप्रतिनिधि आएको चार वर्षको अवधिमा भरतपुर महानगरपालिकामा लामा छोटा गरी ५१० किलोमिटर सडक कालोपत्रे भएको महानगरकी मेयर रेनु दाहाल बताउँछिन्। ४५० किलोमिटर सडक ग्राबेल भएको उनले बताइन्।

दाहालले आगामी आर्थिक वर्ष ०७८-७९ को नीति तथा कार्यक्रममा मुख्य सडकहरूमा कालोपत्रे गर्नुभन्दा पहिले सतह ढल निर्माण गर्ने कुरालाई समावेश गरेकी छन्। त्यसैगरी, ६ मिटरभन्दा कम सडक अधिकार क्षेत्र भएका सडकमा मोज्याक टायल लगाउने नीतिलाई निरन्तरता दिइने उनले बताइन्।

नाली निर्माणका लागि केन्द्रको आस

आगामी आवको नीति तथा कार्यक्रममा नाली र कालोपत्रे सडकलाई एकैचोटि गर्ने र नाली नभएका सडकमा नाली बनाउने कुरा समावेश गरिएको महानगरका प्रवक्ता अरुणपीडित भण्डारी बताउँछन्। बर्खाको पानी निकासका लागि नारायणी लिफ्ट खगेरी सिञ्‍चाइ आयोजनाको पुरिएका नहरहरू खोल्ने काम भइरहेको उनले बताए।

‘डुबान हुन नदिन दूरसञ्चारदेखि रिजालचोकसम्मको नहर खोलिएको छ’, उनले भने, ‘हाकिमचोकदेखि गौरीगञ्ज सडकमा त प्राविधिक त्रुटिले नाली बनाउन छुटेको हो। त्यहाँ नाली बनाउनुपर्थ्‍यो।’ भरतपुर अस्पतालदेखि हाकिमचोक निस्कने सडकमा नाली अत्यावश्यक भएको उनी बताउँछन्।

तर, नाली निर्माणका लागि धेरै बजेट लाग्ने देखिएकाले प्रदेश र केन्द्र सरकारलाई गुहारिएको उनले बताए। ‘त्यसको लागि बजेटको भोलुम धेरै आउँछ। कसरी गर्ने भनेर प्लानिङ गर्दै छौँ’, उनले भने, ‘केन्द्र र प्रदेशलाई प्रस्ताव पनि पठाएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.