|

काठमाडौ :  केहि समय अघि नेपाल भित्रिएको कोरोना भाइरसको औषधि भनिएको ’कोरोनिल’ आयुर्वेदिक औषधि विभागको गोदाममा थन्किएको छ। भारतमा प्रतिबन्धित औषधिको प्रयोग र बिक्री वितरणका लागि औषधि व्यवस्था विभागले अनुमति नदिएपछि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको गोदाममा थन्किएको हो। 

जेठ १७ मा तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अनुमति बिना नेपाल भित्रिएको औषधि मन्त्रालयमै बुझेका थिए। प्रक्रिया पुरा नगरी अनुमति बिना नेपाल भित्रिएको औषधि प्रयोगमा नल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

सुटुक्क ल्याइएको झण्डै १५ हजारमध्ये १६ सय ट्याब्लेट मात्रै मन्त्रीले सांकेतिक रुपमा बुझेका थिए। कति ल्याइएको थियो कुन प्रक्रियाबाट ल्याइएको हो जानकारी नभएको प्रवक्ता पौडेलले बताए।  

नेपालमा सो औषधि  कति भित्रियो भन्ने बारे औषधि व्यवस्था विभागलाई पनि जानकारी नभएको अधिकारीहरु बताउछन्। अनुमति नपाएको भनिएको ५० कार्टुन औषधि आफ्नै कार्यालयमा राखिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.बासुदेव उपाध्यायले जानकारी दिए। आधिकारीक स्वीकृति र प्रक्रिया पुरा गरेर मात्र वितरण गरिने उपाध्यायको भनाइ छ। हाललाई विभागमा नै होल्ड गरिएको उनले बताए। 

‘ ५० कार्टुन औषधि छ, जिल्लाहरुमा पठाउन भनिएको छ’ उनले भने, तर हामीले पठाएका छैनौँ गोदाममै छ।’ उनका अनुसार एउटा कार्टुनमा ३२ वटाका दरले १६ सय ट्याबलेट छन्। पतञ्जली योग पीठ ट्रस्ट नेपालका प्रतिनिधि शालिकराम सिंहले बताए। भारतका केहि  स्थानमा सो औषधि प्रयोगमा आएको  बताए। स्वीकृत प्रक्रिया नमिलेकाले  प्रयोगमा आउन नसकेको  उनको भनाइ छ। सिंहको टोलीले गत १७ गते नै मन्त्री त्रिपाठीलाई कोरोनिल हस्तान्तरण गरेको हो।

भारतीय आयुर्वेद संस्था पतञ्जलीले बनाएको यो औषधि विश्वभर विवादित बनिरहेका बेला नेपालमा भने अनुमति नै नलिइ ल्याइएको छ। नेपालमा कुनै पनि औषधि प्रयोग गर्न ल्याउनुपूर्व औषधि व्यवस्था विभागबाट स्वीकृती लिन पर्छ। ’दिव्य कोरोनिल ट्याब्लेट’ नाम दिइएको यो आयुर्वेदिक औषधि भारतमा प्रतिबन्ध छ।

 


 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.