वितरणमुखी बजेटमा निर्वाचनमुखी कार्यक्रम

|

काभ्रे :  काभ्रेका १३ मध्ये १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ का लागि १० अर्ब ८ करोड ८१ लाख ८७ हजार १ सय ९६ रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। तेमाल गाउँपालिका बाहेकका स्थानीय तहले २०७८/७९ का लागि बजेट प्रस्तुत गरेका हुन्। 

बजेट प्रस्तुत हुनेमा पनौती नगरपालिकाकाले १ अर्ब ६५ करोड ६६ लाख ३५ हजार रुपैयाँ, बनेपाले १ अर्ब ५५ करोड ६९ लाख ६८ हजार, धुलिखेलले १ अर्ब १५ करोड १५ लाख, मण्डनदेउपुरले ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ रुपैयाँ, पाँचखालले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैया र नमोबुद्धले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बजेट प्रस्तुत गरेको छ। 

त्यस्तै रोशी गाउँपालिकाले ६४ करोड ४३ लाख ३१ हजार, बेथानचोकले ५२ करोड ५१ लाख ४२ हजार ५ सय ५१ रुपैयाँ, महाभारतले ५४ करोड ५९ लाख ३४ हजार, चौंरीदेउरालीले ४७ करोड २६ लाख ३१ हजार र खानीखोलाले ४६ करोड २८ लाख ७७ हजार ४ सय ३० रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। 

जिल्लाका सबै स्थानीय तहको निति तथा कार्याक्रम र बजेट प्रस्तुत हुँदा तेमाल गाउँपालिकाको मात्र हुन सकेको छैन। गाउँपालिका अध्यक्ष तेमाल सिं तामाङले एकलौटी रुपमा बजेट ल्याउन खोजेको भन्दै एमाले र माओवादीका जनप्रतिनिधिहरुले बहिष्कार गरेका कारण रोकिएको हो। असार १० गते प्रस्तुत हुन नसकेपछि असार १३ गते लाई तोकिए पनि गणपूरक संख्या पुर्‍याउन नसक्दा पुनः रोकिएको छ। पनौतीको भने विवादकै बीच बजेट प्रस्तुत भएको छ। 

नमोबुद्ध नपा, पाँचखाल नपा, बेथान्चोक, महाभारत गापा र खानीखोला गापाले प्रस्तुत गरेको बजेटमा अंक मात्रै प्रस्तुत गरिएको छ। त्यस्तै रोशी गापा, चौंरीदेउराली गापा, भुम्लु गापालगायत पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। बजेट प्रस्तुत गरेका अधिकांश पालिकाहरुले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्।

निर्वाचनमुखी कार्यक्रम

निति तथा कार्याक्रम र बजेट प्रस्तुत गरेका प्रायः पालिकाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी बजेट प्रस्तुत गरेका छन्। 

विगतका वर्ष ढिलो प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अधिकांश पालिकाले यसवर्ष समयमै प्रस्तुत गरेका छन्। धुलिखेल र पनौतीले असार ७ गते,  महाभारतले असार ९ गते र अन्य पालिकाले असार १० गते बजेट सार्वजनिक गरेका थिए। 

रोशीको दृष्टि पर्यटन र कृषि 

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रोशीको दृष्टि पर्यटन र कृषि भन्ने मुल नारालाई सापेक्ष तुल्याउन कृषि र पर्यटनसँगै भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। अध्यक्ष लामाको अनुसार तीनधार झरण र डाम्फु पार्कको बाँकी काम यसै वर्षभित्र पूरा हुनेछन्।

गाउँसभाले आगामी आवका लागि आन्तरिक आयबाट १ करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँटबाट १४ करोड ७४ लाख ९७ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त, विशेष, समपुरक अनुदानबाट ३१ करोड र प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र सशर्त, समपूरक विषेशबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ। 

नमोबुद्धमा नाराको चाङ

कुल बजेटमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ विनियोजन गरेको नमोबुद्ध नगरपालिकाको नीति तथा कार्यक्रममा नाराको चाङ छ। 

मेयर टिपी शर्मा तिमलिल्नाद्वारा प्रस्तुत कार्यक्रममा 'किसानका गरा सधैं हराभरा', 'मेरो कृषि मेरो पौरख,' 'पर्यटन उद्यमीको हात नमोबुद्धको साथ', 'एक गाउँ एक उत्पादन', 'डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली', 'पहिलो अक्षर क लेखौं आफ्नै सामुदायिक विद्यालयबाट', 'नमोबुद्ध नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा', 'एक घर एक आयुर्वेदिक औषधिको बिरुवा रोपन' लगायतका नारा समावेश छन्।

धुलिखेलको रहर खानेपानीको शहर

धुलिखेल नगरपालिकलाई २०७८/७९ भित्र  शतप्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा चिनाउने गरी बजेट ल्याएको छ। मेयर अशोक व्याञ्जुले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै 'एक घर एक बैक खाता', 'धुलिखेल नगर, धुँवामुक्त शहर' नारासँगै कोभिड महामारीको नियन्त्रण तथा व्यवस्थापन र नागरिकहरुको उपचार, स्वरोजगार, आयआर्जन वृद्धि तथा गरिबी न्यूनीकरणलाई प्राथमिकता दिएको छ। 

बनेपामा बाजेबज्यै पार्क

बनेपा नगरपालिकाले ज्येष्ठ नागरिकलाई आवश्यक स्वास्थ्यलगायत बाजेबज्यै पार्कको योजना नीति तथा कार्यक्रममा समावेश गरेको छ। बनेपाले सबै वडा कार्यलयसम्म पक्की सडकसँगै धार्मिक तथा सास्कृतिक सम्पदाहरुको संरक्षण र भौतिक पूर्वाधार प्राथमिकतामा राखिएको छ। 

यस्तो छ, स्थानीय तहको प्राथमिकता

​पनौती नगरपालिकाले २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा भैंसी प्रवद्र्धन कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, १ हजार विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने, ५ हजार ५ सय ११ परिवारको मासिक ८० रुपैयाँका दरले एक वर्षको विद्युत् महसुल रकम भुक्तानी गर्ने, कोभिडबाट मृत्यु भएका परिवारलाई २५ हजार किरिया खर्च उपलब्ध गराउने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्। 

त्यस्तै मण्डनदेउपुर नगरपालिका, महाभारत र खानीखोला गाउँपालिकाले शिक्षा स्वस्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिँदा चौंरीदेउराली र बेथानचोक गाउँपालिकाले वडाको जनसंख्या, भूगोल र क्षेत्रको आधारमा योजनाहरुलाई प्राथमिकीकरण गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.