|

जुम्ला : आयुर्वेद कार्यालय जुम्लाका प्रमुखले अभद्र व्यवहार गरेको भन्दै सबै जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन्। प्रमुखलाई कारबाही माग्दै कर्मचारीहरू जुम्ला जिल्ला प्रशासन पुगेका हुन्। 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका आयुर्वेद शाखा प्रमुख देवेन्द्र ठाकुरले कार्यालयमा जथाभावी धम्की तथा गालीगलाैज गरेका उनीहरूले आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीलाई संयुक्त निवेदन दिएका  छन्।

आयुर्वेद शाखा वडा नम्बर १० का प्रमुख ठाकुरले सबै कर्मचारीमाथि अभद्र व्यवहारलगायत पटक पटक मानसिक यातना दिइरहेका उनीहरूले बताएका छन्। 

कार्यालय प्रमुखले कर्मचारीहरूलाई घरायसी कामकाजमा समेत लगाएका र काममा फर्किन नसकिने अवस्था भएको भन्दै कारबाहीका लागि निवेदन दिएका हुन्।

निवेदनमा आयुर्वेदका प्रमुख ठाकुरको व्यवहार जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटालाई सोध्नसमेत भनिएको छ। प्रमुख ठाकुरले कार्यालयमा हातपात नै गर्न खोजेपछि उनीविरुद्ध सबै कर्मचारी आन्दोलित भई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

निवेदन दिने आयुर्वेद शाखाका कर्मचारीहरू सुमित्रा आचार्य, छाया उपाध्याय, रञ्जना रावत, गोर्खा बुढा, कमल बुढा, रिता चौधरी, पार्वति रावल, मानवहादुर रोकाया, कर्णबहादुर बुढासहितका कर्मचारी छन्। 

शाखा प्रमुख ठाकुर आएदेखि अरु कसैलाई पनि पेश्की पनि नदिएका र आफूले लिएको ७ लाखको पेश्कीबाट अझै काम नगरेको समेत उनीहरूले आरोप लगाएका छन्। कोभिडको संकटको समयमा आफूले पनि काम नगरेको र जिम्मेवारी पनि नदिएको उनीहरूको भनाइ छ। 

केवल हाकिमेपन देखाएर गालीगलाैज गरेको भन्दै आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाइ छ। प्रमुख ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण नदिएका कारण १८ लाख रुपैयाँ जति कामै नभई बजेट फ्रिज जाने अवस्था भएको कर्मचारीको गुनासो छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार पहिल्यैदेखि कर्मचारीलाई शाखा प्रमुखले धम्क्याउने गरेका गुनासो गरिरहेका थिए। 'तर आज के भएको थाहा भएन। हामी बिहान कार्यालयमा गएका थियौं। तिमीहरू घर गइहाल भनेर धम्की दिएपछि हामीले उनलाई कारबाहीको माग गर्दै प्रशासनमा आएका हाैं,' कर्मचारी सुमित्रा आचार्यले बताइन्।

आइतबार कार्यालयमा जाँदा महिलाहरूले कार्यालयमा काम गर्ने होइन घरमा काम गर्ने हो भन्दै ठाकुरले धम्की दिएका अर्का कर्मचारीले बताए। कार्यालय प्रमुख ठाकुरको फोन नम्बर ९८४३६९९२२३ मा सम्पर्क गर्दा फोन काटिएको छ।

उनलाई उल्टै प्रहरीले जिल्ला प्रशासन कार्यालयसम्म पुर्‍याएको बताइएको छ। 

कार्यालय प्रमुख र महिला कर्मचारीहरूबीच जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको बुझिएको छ। जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफल गरेर पठाएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.