डडेल्धुरा : पुरुष टी–२० विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप युएई र ओमानमा हुने घोषणा गरेको छ।
भारतमा हुने भनिएको विश्वकप कोरोनाका कारण युएई र ओमानमा सारिएको आइसिसीले जनाएको छ। आइसिसीले विश्वकपको मितिसमेत सार्वजनिक गरेको छ।
विश्वकप अक्टुबर १७ देखि सुरु हुनेछ। फाइनल म्याच १४ नोभेम्बरमा खेलाइनेछ।
यो टुर्नामेन्ट यस वर्ष भारतमा आयोजना गरिएको थियो। तर, कोरोना महामारीका कारण यो निर्णय लिइएको हो। यद्यपि, प्रतियोगिताको आयोजना भने बिसिसीआई नै रहनेछ।
टुर्नामेन्टका सबै खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, शेख जायद स्टेडियम अबुधाबी, शारजाह स्टेडियम र ओमान क्रिकेट मैदानमा हुनेछन्।
टी–२० विश्वकपमा १६ देशले सहभागिता जनाउनेछन्। जसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान, बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी छन्।
आठ टिमबीचको पहिलो राउण्डको खेल ओमान र युएईमा हुनेछ। जसबाट शीर्ष चार टोली सुपर १२ मा प्रवेश गर्नेछन्। पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी, ओमान र नाबियाले प्रतिस्पर्धा गर्नेछन्।
‘हाम्रो प्राथमिकता आइसिसी पुरुष टी–२० विश्वकप २०२१ लाई सुरक्षित तरिकाले आयोजना गर्नु हो। हामी भारतमा यसलाई व्यवस्थित गर्न सक्षम हुन नसक्दा धेरै निराश छौं,’ आइसिसीका सिइओ जियोफ अल्लारडिसले भने, ‘वर्तमान स्थितिमा खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दा हामीले यो त्यस्तो देशमा गर्नु आवश्यक छ, जुन पूर्ण रूपमा सुरक्षित छ। प्रशंसकहरूले क्रिकेटको यस अद्भूत उत्सवको पूर्ण आनन्द लिन सक्दछन् भनेर हामी बिसिसीआई, एमिरेट्स क्रिकेट बोर्ड र ओमान क्रिकेटसँग मिलेर काम गर्नेछौं।’
‘बिसिसीआई यूएई र ओमानमा आइसिसी पुरुष टी–२० टुर्नामेन्ट आयोजना गर्न लागेको छ। हामी भारतमा यो आयोजना गर्न पाउँदा खुसी हुने थियौं। तर, कोभिडका अवस्था र विश्व च्याम्पियनसिप प्रतियोगिताको महत्त्वलाई ध्यान दिँदा बिसिसीआई अब यूएई र ओमानमा टुर्नामेन्ट आयोजना गर्ने भएको हो।’ बिसिसीआईका अध्यक्ष सौरभ गांगुलीले भनेका छन्।
टी–२० विश्वकप पछिल्लो पटक सन् २०१६ मा भारतमा आयोजना गरिएको थियो। फाइनलमा वेष्टइण्डिजले इंग्ल्याण्डलाई हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।