विभिन्‍न वहानामा बनाइँदैनन् सडक

|

काठमाडौं :  संघीय राजधानी काठमाडौंका सडक वर्षौंदेखि अलपत्र  अवस्थामा छन्। उपत्यकाको बाहिरी चक्रपथ जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु, इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्म नासा खोला, हरिसिद्धि, गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षौंदेखि हिलो,धुलोको  सास्ती भोग्दै आएका छन्। 

मनसुन सुरु भएसँगै  कालोपत्रेको पर्खाइमा रहेका उपत्यकाका सडक पानी जमेर पौडिन मिल्ने  अवस्थामा छन्। हिउँदभरि धुलोको सास्ती खेपेका  स्थानीयले वर्षाभरि हिलाम्मे बनेका सडकको सास्ती भोग्न थालेका हुन्।

उपत्यकाका यी सडक कालोपत्रे हुन नसक्दा  हिउँदमा धुलो त वर्षामा हिलोको सास्ती छ। स्थानीयले सडक कालोपत्रेको माग गर्दै दर्जनौँ पटक आन्दोलन गरे। सरकारले विस्तार गर्ने बहानामा चक्रपथ बाहिरका सडक क्रमशः भत्कायो तर कालोपत्रे हुनै सकेन। 

चालु आर्थिक वर्षमा नै सकिनुपर्ने काम विश्वभर फैलिएको कोरोना भाइरसका कारण ठप्प भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार  कोभिडको समयमा काम गर्न सकिएकाले ठेक्काको समय थप गर्न लागिएको  हो। उनले भने, 'काम नआउन्जेल ठेक्का सकिँदैन' उनले थपे, 'निषेधाज्ञाका कारण काम गर्न पाइएको छैन।' 

पाँच वर्षदेखि अलपत्र यी सडक

इमाडोल–सिद्धिपुर–गोदावरी खोला– लुभु लामाटार सडक विस्तारका लागि ३ चरण गरी ठेक्का सम्झौता भएको छ। पहिलो करिब ३ किलोमिटर सडक निर्माणका लागि २० जेठ २०७७ मा सम्पन्न गर्ने गरी २७ करोड ३ लाख रुपैयाँ ठेक्का रकममा २६ जेठ २०७३ मा डाँफे–समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। तर, ठेक्का म्याद सकिँदासम्म पनि कामै हुन सकेको छैन।

दोस्रो चरणको काम गर्न करिब ३ किलोमिटर सडक निर्माणका लागि २९ चैत २०७६ मै सम्पन्न गर्ने गरी ११ करोड ४८ लाख रुपैयाँ ठेक्का रकममा ३० असार २०७४ मा आशिष सी एम ड्रागन जेभीसँग ठेक्का सम्झौता भएको थियो।

समयमा काम हुन नसकेपछि फेरि म्याद थप्ने प्रक्रियामा छ। तेस्रो चरणको ४ किमी सडक निर्माणका लागि २८ पुस २०७७ मा सम्पन्न गर्ने गरी ५४ करोड ५० लाख रुपैयाँमा ३० असार २०७४ मा लामा-समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। हालसम्म ३ किलोमिटर मात्र कालोपत्रे सम्पन्न भएको सडक विस्तार आयोजनाले जनाएको छ।

५ वर्षमा ३ किलोमिटर कालोपत्रे

कर्मनासा खोला–हरिसिद्धि–गोदावरी सडकखण्ड ४ वर्षमा ३ किलोमिटर मात्र कालोपत्रे भएको सडक विस्तार आयोजनाले जनाएको छ।  यो सडकलाई पनि २ चरणमा विभाजन गरेर विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो। पहिलो चरणअन्तर्गत कर्मनासा खोलादेखि करिब ४ किलोमिटर सडक विस्तार गर्न आशीष–सिएम जेभीले ठेक्का पाएको थियो। 

३ असार २०७३ मा २९ करोड ९ लाख रुपैयाँ ठेक्का रकममा २०७७ माघमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर, कामले गति लिन सकेन। पुनः म्याद थप्ने प्रक्रियामा छ। त्यस्तै, दोस्रो चरणको करिब ३ किमी सडक निर्माणका लागि लामा-समानान्तर जेभीले ठेक्का पाएको छ।

३० असार २०७४ मा ३८ करोड ६ लाख रुपैयाँ ठेक्का रकममा २०७७ कात्तिकमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर, काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने प्रक्रियामा छ। 

जोरपाटीसुन्दरीजल

७ किलोमिटरको जोरपाटी–सुन्दरीजल सडक निर्माणका लागि आशीष–सिएम जेभीसँग २०७३ सालमै २ वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो। सम्झौताको ५ वर्ष बित्यो तर सडकको अवस्था फेरिएन। २०७५ साल असोजमा काम सक्ने गरी करिब ५४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।

ठेकेदारको ढिलासुस्ती र सरकारको बेवास्ताका कारण स्थानीयले सास्ती खेप्नुपरेको छ। जोरपाटीका स्थानीय रामलाल श्रेष्ठ भन्छन्, ‘निर्माणका लागि सडक खनेको ५ वर्ष भयो। काम कहिल्यै सक्दैनन्। सडकमा सामान थुपारिएको छ, काम भने हुँदैन।’

उस्तै छ चावहिलसाँखु सडक

जोरपाटी–साँखु सडक निर्माण गर्ने काम पनि आश्वासनमै ५ वर्ष बिताएको छ। १२ किलोमिटर लम्बाइको यो सडक चौडा विस्तार गरेर ४ लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २–२ मिटर अपांगमैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन २०७२ सालमै सम्झौता भएको थियो। 

सडक विस्तार आयोजनाका अनुसार १ अर्ब ७५ करोड रुपैयाँ लगानीमा यो काम गर्ने सम्झौता भएको हो। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु–च्याङमिलारखानी जेभी, बज्रगुरु–विरुवाखानी जेभी र बिटी–सुनकोसी र वर्ल्ड वाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ।

निर्माण सामग्री अभाव, सडक विस्तारमा विवाद, निषेधाज्ञालगायत कारण   समयमै काम सम्पन्न गर्न नसकिएको सडक विस्तार आयोजनाका प्रमुख अधिकारीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.