|

सुर्खेत : कर्णाली प्रदेशसभाको आठौँ बैठक वा बजेट अधिवेशन सुरू भएको दिनदेखि नै राम्रोसँग चल्न सकेको छैन। गत जेठ २४ गतेबाट सुरू भएको प्रदेशसभाको आठौँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको हो।

गत वैशाख ३ गते नेकपा एमाले माधव–खनाल पक्षका चार सांसदले पार्टीले लगाएको ह्वीपको उल्लंघन गदै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहीले चार जना फ्लोर क्रस सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामध्ये प्रकाश ज्वालाबाहेक बाँकी तीन जनालाई मन्त्री पद उपहार दिएका छन्।

फ्लोर क्रस गरेपछि उनीहरूलाई चारै जनालाई पार्टीले कारबाही गरेको हो। उक्त सांसदहरुले पार्टीले हामीलाई अन्याय गर्‍यो हामी एमाले पार्टीमै बस्न पाउनुपर्छ भन्दै अदालतमा निवेदन दिएपछि गत जेठ २७ गते चारै जना सांसदलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको थियो।

चारै जना सांसद पुनर्वहाली भई एमाले पार्टीमै फर्किएपछि मन्त्री बनेका एमालेका तीनजना मन्त्रीले माओवादी नेतृत्वको सरकारबाट तत्काल राजीनामा दिई प्रमुख प्रतिपक्षको बेञ्चमा बस्न एमाले संसदीय दलले आग्रह गरेको छ। तर तीनै जना मन्त्रीले उक्त निर्देशनको पालना नगरी सत्ता पक्षको बेञ्चमा बसेको र सरकारबाट राजीनामा नदिएकोले प्रदेशसभा बैठक अवरुद्ध हुनुको मुख्य कारण बनेको छ।

आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम पारित गत असार १ गते भएर बजेट सार्वजनिक भएको थियो। तर, त्यसयता बैठक बसे पनि कार्यसुचीमै प्रवेश हुन नपाउँदै प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको छ।

 आज शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठक पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाएर अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नै शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नै गर्न नदिएर आठौँ अधिवेशनको १४ औँ बैठक पनि अवरुद्ध गरको हो।

दिउँसो २ बजेबाट सुरु भएको बैठक झण्डै १५ मिनेट चलेको संसद् बैठकमा कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसदको कारबाही अघि बढ्न नदिने बताइन्। उनले यति भन्नासाथ बैठकमा सहभागी एमालेका सबै सांसदहरु रोष्ट्रममा उठिसकेका थिए। सभामुख राजबहादुर शाहीले बारम्बार बसेर बैठक सुचारुको लागि वातावरण मिलाउन आग्रह गर्दागर्दै ३ मिनेट पुगिसकेको थियो।

 त्यतिकैमा एमालेका सांसद दानसिंह परियारले संसद अवरुद्ध एमालेका कारणले नभएर संसदीय व्यवस्थाअनुसार नभएकाले बैठक अवरुद्ध गर्नुपरेको बताए। परियारले भने, ‘सर्वोच्चले पुनर्वहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते सभामा नेकपा एमालेका चारजना भनेर पत्र वाचन गर्नुभयो। अब, कर्णालीमा नेकपा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोचेका थियौँ। तर, आज उनै व्यक्ति सत्तामा छन्, उनै एमालेको विरुद्धमा र उनै मान्छे सरकारको नेतृत्व गरिरहेका छन्। र हामीले हेरिबसेका छौँ। हामीलाई लज्जाबोध भइरहेको छ।’

तीन मन्त्री प्रतिपक्षको बेञ्चमा नबसेसम्म बैठक चल्न नदिने चेतावनी

अदालतले एमाले बनाईदिँदा एमालेको पक्षमा नभएको प्रति उनले टिप्पणी गरे। साथै उनले बैठक अवरुद्ध गर्नुको कारण सरकारमा रहेका तीन जना मन्त्रीहरु दलीय व्यवस्थाअनुसार सञ्चालन नभएको र तीन मन्त्रीले प्रतिपक्षको बेञ्चमा नबसेसम्म बैठक चल्न नदिने चेतावनीसमेत दिए।

एमालेका सांसदहरुले करिब १० मिनेट रोष्ट्रममै उभिएर विरोध गरेपछि सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे एमालेले नटेरेपछि असार २४ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.