विज्ञ भन्छन् : जथाभावी शाखा सडक खन्दा पहिरोको प्रकोप

|

चितवन : गत वर्षको बर्खामा शान्त रहेको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष भने पहिरोले विभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ। असार १७ गते बिहानदेखि सडकखण्डको विभिन्न स्थानमा लगातार पहिरो गइरहेको छ। जसका कारण सडक अहिले पनि अवरुद्ध छ।

एक ठाउँको पहिरो पन्छाएर भ्याउन नपाउँदै अर्काे ठाउँमा पहिरो गइरहेकोछ। पहिरो पन्छाएर सडक सञ्चालन गर्न सडकका अधिकारी र प्रहरीहरु शुक्रबार दिनभर खटिँदा पनि सफल हुन सकेनन्। शुक्रबार साँझ सेती दोभान, चार किलो र घुमाउनेमा ठूलो पहिरो गएपछि लामो जाममा परेका यात्रुहरु रातभरबीच बाटोमा अलपत्र परेका छन्।

पहिरो पन्छाउनका लागि चार किलो, पाँच किलो र घुमाउनेमा एक÷एक वटा मेशिन बिहानैदेखि प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए। ‘घुमाउनेबाट मुग्लिनतर्फ हामीले पन्छाउने काम गरेका छौं। सडक डिभिजनले घुमाउनेबाट नारायणगढतर्फ पन्छाउने काम गरेको छ,’ उनले भने, ‘चौध किलोमा खसेको विशाल ढुंगा ब्रेकले शुक्रबार साँझदेखि फुटाउने काम गरिरहेको छ।’

बाटो खुलाउन अझै कम्तीमा ६ घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन्। 

नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारको काम सम्पन्न भएपछि यस खण्डको यात्रा सहज भएको थियो। सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरुले यस वर्ष तीन वर्षअघिको जस्तै सास्ती व्यहोर्नु परेको छ। ३३ किलोमिटर लामो सडकखण्डको विस्तारको काम २०७५ साउनमा सम्पन्न भएको थियो।

नारायणगढ–मुग्लिन सडक खण्डको छेउमा जथाभावी शाखा सडक खन्दा यस वर्ष पहिरोको प्रकोप बढी भएको इन्जिनियर खनालको भनाइ छ। ‘पहिरोको प्रमुख कारकमध्ये जथाभावी रुपमा शाखा सडकहरु खनिनु नै हो,’ उनले भने, ‘यसको अर्काे कारक स्लोप फेलर भएर पनि हो।’ 

चार किलो, पाँच किलो, केराबारी, चौध किलो, मौरीपुल र जलवीरेलगायत विभिन्न स्थानमा खसेको चट्टानसहितको पहिरो पन्छाएर सक्न नभ्याउँदै पुनः दुई ठाउँमा पहिरो गएपछि सडक सञ्चालन गर्न नसकिएको खनालको भनाइ छ।

‘६ वर्षदेखि यस सडकसँग सम्बन्धित रहेर काम गरिरहेको छु। पोहोर सालसम्म आइपुग्दा अब त शान्त भयो होला भन्ने विश्वास लागेथ्यो,’ इन्जिनियर खनालले भने, ‘अहिलेको अवस्थाले त्यो विश्वास चिरेको छ।’

सडक विस्तारका क्रममा खनाल नारायणघाट–मुग्लिन सडक आयोजनामा कार्यरत थिए। यस सडक खण्डमा खसेको पहिरो पन्छाउने र रोकथाम गर्ने काममा उनको ६ वर्षको अनुभव छ।

रक नेटिङ गरेन काम 

सडक विस्तारको काम सम्पन्न भएपछि नारायणघाट–मुग्लिन सडक आयोजनाले यस खण्डमा पहिरो रोकथामको काम पनि गरेको थियो। पहिरो रोक्न विभिन्न स्थानमा रक नेटिङ गरिएको छ। यस खण्डको काम सकेर आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गरिसकेको छ।
 
यस वर्ष पूरै पहाड नै झरेकाले रक नेटिङले काम नगरेको सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन्। ‘रक नेटिङले साना–साना ढुंगा मात्रै रोक्ने हो। पहाडभित्रैबाट बगेर आएको पहिरोलाई रोक्न सक्दैन,’ उनले भने, ‘रक नेटिङ गरिएको ठाउँमा पनि पहिरो गएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.