|

बर्दिया : गएको फागुन १७ गते बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट ६५ वर्षीय लालबहादुर थारूले ज्यान गुमाए। निकुञ्जमा भैँसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय थारूलाई बाघले आक्रमण गरी ज्यान लिएको हो।

फागुन २६ गते नै बर्दियाको मधुवनकी २७ वर्षीय महिलाले बाघको आक्रमणबाट ज्यान गुमाउनुपर्‍यो। वनमा घाँस काट्न गएका बेला कोठियोघाट ३ कि रिना सुनारलाई बाघले आक्रमण गरी ज्यान लियो। चैत ३ गते निउरो टिप्न बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ५५ वर्षीया डल्ली रावतको पनि बाघकै आक्रमणबाट ज्यान गयो।

त्यसअघि गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले झम्टेर ज्यान लियो। बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाए।

लगातार आक्रमणका घटना बढ्न थालेपछि चैत ४ र ५ गते गरी २ वटा पाटेबाघ नियन्त्रणमा लिइयो। बर्दियाको खाता जैविकमार्ग क्षेत्रबाट निकुञ्जको टोलीले मान्छे खान पल्किएको पाटे बाघ नियन्त्रणमा लियो। नेपाल प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले जैविक मार्ग क्षेत्रभित्र पर्ने गैरी सामुदायिक वनबाट वयस्क भाले बाघ डार्ट गरी नियन्त्रणमा लिएको थियो। यस्तै गेरुवा क्षेत्रबाट पनि एउटा बाघ नियन्त्रणमा लिइयो।

फेरि चैत २२ गते पाटेबाघको आक्रमणबाट जिल्लामा एकजनाको मृत्यु भयो। हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका माहुते ३१ वर्षीय पुलिसराम थारुको बाघले आक्रमण गरी ज्यान लियो। त्यस रात नै उनलाई आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिई काठमाडौं चिडियाखाना पठायो।

चैत ३० गते फेरि जंगली हात्तीको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ भटेराकी भुन्टी बोहोराको मृत्यु भयो। घर नजिकै बाख्रा चराउन गएकी ६० वर्षीया बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। जेठ ११ गते गेरुवामै घरमै आएर आक्रमण गरी जंगली हात्तीले आमाछोरीको ज्यान लियो।

जेठ १७ गते फेरि मधुवनकी ६६ वर्षीय महिला नन्दकला थापाले बाघको आक्रमणबाट ज्यान गुमाइन्। सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरि उनको ज्यान लिएको थियो। असार २ गते जंगली हात्तीको आक्रमणबाट ७८ वर्षीय वृद्धको ज्यान गयो। बर्दियाको बाँसगढीका ७८ वर्षीय नरेश्वर सापकोटालाई च्याउ खोज्न जंगल गएका बेला हात्तीले आक्रमण गरी ज्यान लिएको थियो।

बाघले लियो ११ जनाको ज्यान  

यी सबै घटना जंगल क्षेत्रमै भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने, 'एउटा घटना मात्रै घरमा भएको छ। हामी स्थानीयलाई एक्लै जंगल प्रवेश नगर्न पटक-पटक आग्रह गरिरहेका हुन्छौँ, उनी भन्छन्, 'स्थानीयले अटेर गर्दा वन्यजन्तुको सिकार भइरहेका छन्।'

लापरबाहीकै कारण १ वर्षको अवधिमा बर्दियामा ११ जनाले बाघको आक्रमणबाट मात्रै ज्यान गुमाएको निकुञ्जले जनाएको छ। बाघको आतंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

मान्छे मार्न पल्किएका ४ पाटेबाट निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। पाटे बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई मात्रै निकुञ्जले १ करोड बढी राहत वितरण गरेको जनाएको छ।

सडकमै मारिन्छन वन्यजन्तु

निकुञ्जअन्तर्गतको राजमार्गमा सवारीसाधन तीव्र गतीमा चल्ने गरेका कारण सवारी साधनको ठक्करबाट वन्यजन्तुहरू मारिन्छन्। मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा मात्रै होइन, जनावर पनि सुरक्षित नभएको बर्दिया निकुञ्जका सहायक वार्डेन असिमकुमार थापाले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज भएकै कारण प्रत्येक दिनजसो वन्यजन्तु आक्रमणका घटनाहरू सुनिन्छन्। तर पनि वन र वन्यजन्तु संरक्षणप्रति केही स्थानीयको मोह उस्तै छ। केही स्थानीयले बदलाको भावनाले वन्यजन्तुहरूसँग बदला लिए पनि वर्षौंदेखि संरक्षण अभियानमा होमिँदै आएका संरक्षणकर्मीहरूको माया भने उस्तै देख्न सकिन्छ।

स्थानीयको संरक्षणप्रति मोह भएकै कारण बर्दिया निकुञ्जले अहिले शून्य चोरी सिकार वर्ष मनाउँदै आएको छ। १ दशकयता गैँडाको शून्य चोरी सिकार वर्ष मनाउँदै आएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ बताउँछन्। बर्दियाका २५ सय बढी युवाहरु चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान गठन गरेर संरक्षण अभियानमा होमिएका छन्।

वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा मात्रै

पछिल्लो केही समययता बर्दियामा वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा चलिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन र वन्यजन्तुसँग जोडिएका जुनसुकै सभा–सम्मेलन तथा गोष्ठीहरूमा संरक्षणकर्मीहरूले वन्यजन्तुमैत्री संरचनाकै कुरा गरिरहेका हुन्छन्।

पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तललगायत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री सडक तत्काल बनाउन संरक्षणकर्मीहरूले पटक–पटक माग समेत गर्ने गरेका छन।

आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन्। यो निकुञ्जमा पछिल्लो समय पाटे बाघको संख्या पनि बढ्दै गएको छ। कोरोना महामारी फैलनु अघिका वर्षहरूमा बर्दिया निकुञ्जका आकर्षक पाटेबाघले स्वदेशी र विदेशी पर्यटकलाई मोहित पार्ने गरेको थियो। बाघ हेर्नकै लागि बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो। अहिले निकुञ्जको पर्यटकीय गतिविधिमा भने गिरावट आएको छ।

बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा पुग्दै

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको संख्या दोब्बर गराउने अन्तिम चरणमा रहेको बताए। सन् २०२१ नोभेम्बर बाट बाघ गणना शुरु गरि २०२२ भित्रमा बाघको संख्या दोब्बर हुने गरिएको अनुमान गरिएको उनले बताए।

निकुञ्ज र आसपासका क्षेत्रमा बाघको चहलपहलले बाघको संख्या बढेको आधार प्रसस्त रहेको उनी बताउँछन्। मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र व्यवस्थापन मुख्य कार्यक्षेत्र बनाएर निकुञ्जले काम गरिरहेको निकुञ्ज प्रशासनले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो। गैँडाको संख्या ३८ वटा, हात्तीको संख्या १२० वटाभन्दा बढि, घडियाल गोहीको संख्या १६ वटा, बाह्रसिंगा ८९ वटा रहेका छन्। प्राकृतिक रुपमा पनि निकुञ्ज क्षेत्रमा जीवजन्तुको वासस्थान राम्रो रहेको छ। निकुञ्जले अझ वासस्थान सुधारका लागि थप प्रयास गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.