चुलो बाल्नै सकस

|

जनकपुरधाम : आर्थिक अभावकै कारण बाँच्नका लागि गरिने संघर्ष अनेक् हुन्छन्। प्रदेश २ मा दुई छाक खान धाैधाै पर्ने समुदायको अभावको व्यथा अलग्गै छ। 

खाना जोहो गर्ने उनीहरूको पीडा त एक ठाउँमा छ नै खाना पकाउने इन्धन जोहो गर्न पनि उनीहरूलाई निकै सकस हुने गर्छ। ग्रामीण भेगमा बसोबास गरिरहेका प्रायः सबैजसले खाना पकाउन कहिले पातपतिङ्गर संकलन गर्छन् त धेरैजसोले गुइँठा बाल्ने गर्छन्।

गाई भैंसीको गोबरबाट बनाइने गुइँठा बालेर खाना पकाउने समुदाय प्रदेश २ मा अझै पनि छन्। सक्नेले जंगलबाट सुकेका दाउरा ल्याउँछन् त नसक्नेले गाईबस्तुकै गोबर संकलन गरी त्यसलाई सुकाएर गुइँठा बनाउँछन्। अहिले वर्षामा त झन् न गुइँठा बनाउन सकिन्छ न त जंगलमा सुकेका काठ दाउरा पाउन सकिन्छ।

नदी आसपास हुने समुदाय खोलामा बाढीसँगै बगेर आएका दाउरा ल्याउने गर्छन्।  उनीहरू ज्यानै जोखिममा राखेर दाउरा संकलन गर्छन्। यतिबेला विभिन्न खोला/नदीमा बाढीले बगेर आएका खोज्नु उनीहरूको दिनचर्या नै बनेको छ। 

यस्तै भीड अहिले धनुषा र कमलाको सीमा भएर बग्ने कमला नदीमा पानीको सतह घटेपछि देखिएको छ। नदीले जंगलबाट बगाएर ल्याएको काठ दाउरा बटुल्न कमला नदी तटमा बिहानैदेखि वरपरका बासिन्दाहरुको भीड लाग्न थालेको छ। 

दाउराको चुल्होमा खाना पकाउने गरिब बस्ती बासिन्दा आवश्यक दाउराको जोहो गर्न ज्यान जोखिममा राखेर कमला नदीमा पस्ने गरेका छन्। यस्तोमा विपन्न, गरिब, दलित बस्तीका महिला र बालबालिका हुने गरेका छन्। दैनिक ज्याला मजदुरीको काम बन्द हुँदा उनीहरू बाढीमा दाउरा खोज्नकै लागि जाने गरेका छन्। 

उनीहरु नदी किनारमा बसेर लौरोको मद्दतले बाढीमा बगेर आएका दाउरा निकाल्छन् भने कतिपय त ज्यानै धराममा पारेर बाढीमा पस्न पनि डराउँदैनन्। यसरी संकलिन दाउरा धेरैजसोले टायर गाडा, साइकलमा घरसम्म लैजान्छन्। कतिपयले भने टाउकैमा बोकेर पनि ओसारिरहेका हुन्ओछन्। 

बाढीले खेत कटान गर्नुको साथै पुल भत्कियो

कमला नदीमा आएको बाढीले धनुषातर्फको करिब सय मिटर बाँध नजिकको खेत कटान गरेको छ भने धनुषा र कमला जोड्ने हुलाकी सडकअन्तर्गत कमला पुलसमेत भत्काएको छ।

कमला नदीको बाढीले धनुषातर्फ बाँध कटान गर्न थालेपछि स्थानीय त्रसित भएका छन्। किरतपुर र ढोलबज्जमा बाढीको कटानले बाँध जोखिममा पारेको छ।

सबैला–१३ किरतपुरका रामनारायण यादवले भने, ‘नदीमा आएको बाढीले ३० बिघा जमिन कटान गरिसकेको छ।’

नदीमा पानीको बहाव घट्दा बाँध कटान हुने खतरा बढ्ने यादवले जानकारी दिए। उनले भने, ’नदीमा पानी बढ्दा कटान हुँदैन तर बहाव जति घट्दै जान्छ कटान त्यति नै बढ्दै जान्छ। खेत कटान हुँदै विस्तारै नदीले बाँध पनि कटान गर्छ।’

बाँध बचाउन र जोखिम नियन्त्रणका लागि प्रयास भइरहेको कमला नदी नियन्त्रण कार्यालयका प्रमुख एकराज भट्टराईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.