महानगरले आफ्नै भवन पनि बनाउन सकेन

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनताका मतदाताको घरदैलोमा पुगेर भनेका थिए, ‘मलाई चुनावमा जिताउनुस्, सय दिनमा १०१ काम गरेर देखाउँछु।’

शाक्य चुनावी प्रचारप्रसारमा लाग्दै गर्दा विभिन्न सञ्चार माध्यमसँग पनि भनेका थिए, ‘दुई पटक वडाध्यक्षमा जितिसके,अब जेठमा आएर महानगरपालिका हाँक्ने गरी तयारी भएर लागेको छु, भोलि मेयरका लागि भोट माग्दा हाम्रो शिर निहुराउनुपर्ने केही काम गर्दिनँ/गर्ने छैन।’ नभन्दै २०७४ जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौं महानगर प्रमुखमा शाक्य निर्वाचित भए।

उनी निर्वाचित भएपछि एक सार्वजनिक कार्यक्रममा भने,‘घोषणा र अपिल पत्रहरू हामीले जिम्मेवारी पाइसकेपछि पूर्ण रुपमा हामी कार्यन्वयन गरेर देखाउँछौँ,जुन विश्वास मतदाताले गरेको छ,भोलिका दिन विश्वास गुम्न दिने छैनौं,मत दिएर ऋण बोकाउनुभएको छ। काम गरेर देखाउँछौँ। सहर बस्न र हेर्न लायक बनाउँछौँ।’

उनले त्यही बेला काठमाडौ महानगरपालिका सुन्दर, सुरक्षित र जीवन्त सहरको विकास गर्ने बताएका थिए। प्रमुख शाक्य चुनाव नजित्दा नै उनको अधिकांश उपत्यकाभित्र चर्चा थियो। चाहे चिया पसल होस् या अन्य ठाउँ। ‘सय दिनमा १०१ काम’ गरेर देखाउँछु भनेपछि धेरैले उनको खोजीनीति पनि गरेका थिए। चिनेका थिए। 

उनले भनेजस्तै यी चुनावी प्रतिबद्धता सय दिनमा पूरा भएको भए सायद यतिखेर संघीय राजधानी काठमाडौंले अर्कै स्वरूप लिने थियो। हरियाली र फरक सडक बन्थ्यो। काठमाडौंलाई 'मास्कमाण्डु' भन्दै सर्वसाधारणले ठट्टा गर्दै हिँड्नुपर्ने थिएन।

प्रमुख शाक्यले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसक्यो। तर, उनको सय दिनमा भनेको एउटा पनि काम यो अवधिमा पूरा गर्न सकेका छैन। उल्टै उनको चाैतर्फी आलोचना भइहरेको छ। विकासको कुरा त परै जावोस् बरु उनी आलोचित बन्दै गएका छन्। सीमित केही सामान्य काम गरेको देखिए पनि प्रभावकारी नहुँदा उल्टै समस्याग्रस्त भएका छन्। ​

मेयर हुनुभन्दा अघि शाक्यले गरेका बाचा र उनले काठमाडाैं महानगरबासीलाई बाँडेका सपना र तिनका प्रगतिबारे हामीले यहाँ चर्चा गर्नेछाैं

के-के थिए उनले भनेका १०१ काम

१०१ काममध्ये एक थियो नदी किनारमा रहेका मठ मन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माण गर्ने। तर, बन्न सकेन। ती नदी फोहोरले दुर्गन्धित भएका कारण मुख थुनेर हिँड्न बाध्य छन् सर्वसाधारण। 

२४ सै घण्टा ‘जीवन्त सहर’को योजना निर्माण गर्ने, महानगर मातहतका हरेक कार्यालयहरूलाई आधुनिक चुस्त, जनमैत्री र प्रविधिमैत्री कार्यालयका रुपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने पनि प्रतिबद्धता थियो।

ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनःस्थापना गर्ने, महानगर र गोकर्णेश्वर नगरको समन्वय र सहकार्यमा तारे भीर परियोजना सञ्चालन गर्ने, टोखा नगरपालिकासँग सहकार्य गरी टोखाको संस्कृति सम्पदा संरक्षण,प्रवद्र्धन झोर स्थित बाणेश्वर वाटर फल पार्क बनाउने उनको चुनावी प्रतिबद्धता पूरा भएन। 

महानगरपालिकाभित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय केन्द्र जस्तैः स्वयम्भू, पशुपति, बौद्ध, वसन्तपुर लगायतमा द्रुत गतिको ‘फ्री वाइफाई’ जोड्ने पनि योजना थियो। जोडिएको वाइफाईसमेत द्रुत गतिमा चल्न सकेन। 

हाइड्रोजन फ्यूल सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन कार्य शुभारम्भ गर्ने भनिए पनि प्रतिबद्धता पूरा भएन। ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान सुरु गर्ने शाक्यले भने पनि त्यस्तो बन्न सकेन। धुवाँधुलो  न्यूनीकरण गरी ‘नो माक्स सिटी’ बनाउने भनिए पनि इतिहासमै पहिलो पटक काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पर्‍याे।

जसकारण प्रमुख शाक्यकै कार्यकालमा गत चैतमा काठमाडौंमा वायु प्रदूषण फैलिएपछि महानगरभित्रका विद्यालयहरू नै चार दिन बन्द नै भए। ‘काठमाडौं स्मार्ट सिटिजन कार्ड’ को कार्याक्रम लागु गर्ने,अपांग मैत्री पार्क बनाउने, भूकम्प प्रतिरोधि भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने पनि शाक्यका चुनावी प्रतिबद्धता थियो।

त्यस्तै, डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज सहुलियतपूर्ण स्वच्छ, स्वस्थ्य र सुरक्षित बनाउन आचारसंहिता लागु गर्ने भनिएको थियो। तर, कोही जातका आरोप त कोही आर्थिक कारण अहिले पनि घरबेटीले डेरावाललाई निकालेका छन्। कोठा दिन पनि हिचकिचाइका छन्। 

बागबजारस्थित भक्तपुर बसपार्क नयाँ व्यवस्थापन गर्ने, गोंगबु बसपार्कको मास्टर प्लान बनाई अघि बढाउने र महानगरपालिका भित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने योजना थियो। त्यो पनि पूरा भएन।

राजधानी महानगरलाई देशका सबै नेपालीको साझामैत्री नगरको रुपमा विकास गर्न ७ प्रदेशका लागि ‘प्रदेश भवन’ निर्माण गर्ने भनिए पनि काम अघि बढ्न सकेन। 
तीनकुनेको जग्गा समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्ने सुरुवात गर्ने भनिए पनि पार्क बन्न सकेन। अहिले खाली ठाउँ खेलमैदान र सवारी पार्किङस्थल बनेको छ। 

महानगरको भवन निर्माण कार्य थाल्ने पनि उनको चुनावी प्रतिबद्धता थियो। तर अहिलेसम्म पनि प्रमुख शाक्यले आफ्नै भवन बनाउन सकेनन्। त्यसो त चारैतिर राखिएको कार्यालय धाउँदा सेवाग्राहीलाई सकस परेको छ।

उनका ‘क्लिन सिटी अभियान,नो ट्राफिक जाम अभियान,स्मार्ट पार्किङ पनि प्रभावकारी भएन। भोक रहित जनता शोक रहित महानगरका लागि सुपथ मूल्यको ‘मेयर इच फुड पार्रलोर’खोल्ने भनिए पनि पसल खुल्न सकेन। जसले गर्दा निषेधाज्ञाले समस्यामा परेका गरिबी र मजदुरहरू बाँडिएको निःशुल्क खाना खाना बाध्य छन्।

प्रमुख शाक्यको महानगरपालिका पुरातात्विक महत्वका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाउने बाचा गरेका थिए। तर, उनी रानीपोखरी, काष्ठमण्डप, बागदरबार, धरहरा,कमलपोखरी पुनर्निर्माण जस्ता सम्पदा क्षेत्रको पुनर्निर्माणमा विवादित बने। 

साइकल सिटी निर्माणका लागि साइकल चढेर उद्घाटन पनि गरे उनी। तर,साइकल लेन नै बन्न सकेन। ‘घरघरमा अचम्मको सियो र घरघरमा गज्जबको चुलो’ कार्यक्रमलगायत उनका १०१ काम गर्ने घोषणा गरेका थिए। तर उनको यो अचम्मको सियो कार्यक्रमबारे मतदातालाई अहिलेसम्म जानकार नै छैन्। काठमाडौंमा मोनोरेल, मेट्रोरेल कुदाउने नीति कार्यक्रम पनि उनको अलपत्र परेको छ।

के भन्छन् मतदाता ?

प्रमुख शाक्यलाई भोट दिनेमध्ये एक थिए ज्ञानेन्द्र महर्जन। महानगरपालिका वडा-१५ का महर्जन शाक्यको चार वर्ष बितिसक्दा पनि सोचजस्तै काम गर्न नसकेको तर्क गर्छन्।

उनी भन्छन्, ‘मेयरज्यूले जनगुनासो त बुझनु हुन्छ तर कार्यन्वयन भने ढिला गर्नुहुन्छ, सहरलाई सफा राखेर नो मास्क सिटी बनाउँछु भन्नुभएको थियो, तर अहिले मास्क बिना धुवाँ धुलोले हिँड्न सकिन्न।’ 

दुई वर्षदेखि चउमती जग्गामा मोटरेबल पुल बनाउन माग गरे पनि अहिलेसम्म बन्न नसकेको गुनासो उनको छ। ‘पुल नहुँदा धेरै समस्या हामीले भोग्नुपरेको छ, मेरै जग्गा दिएर बाटो बनाए पनि वालमा जाली नहालेकाले मेरो घर ढल्न लागेको छ, त्यही भएर वडामा आज निवेदन दिएको छु,’ महर्जनले भने।

९५ चुनावी प्रतिबद्धता पूरा भएको दाबी

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल अहिलेसम्म १०१ काममध्ये ९५ चुनावी प्रतिबद्धता प्रमुख शाक्यले पूरा गरेको दाबी गर्छन्।

‘मेयर सापले धुलोमुक्त सांस्कृतिक सहरको थालनी, सम्पदाको ऐतिहासिकता बचाउँदै सम्पदा पुनर्निर्माण, हरियाली पार्क अभियान, प्रत्येक वडामा पार्क अभियान लगायत ९५ प्रतिबद्धता पूरा गर्नुभएको छ,’प्रवक्ता डंगोलले भने। 

किन समयमा प्रतिबद्धता पूरा भएनन्?

महानगर प्रमुख शाक्यको एक सय दिनमा नै सबै काम पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। तर पूरा गर्न सकेनन्। शाक्य सहितको सबै जनप्रतिनिधिहरूको कार्यकाल आगामी चैतमा सकिँदै छ। प्रवक्ता डंगोलले जग्गा विवाद, मुद्दा मामिलालगायत कारण समयमा काम हुन नसकेको तर्क गर्छन्। 

‘कतिपय योजना हामीले सोचेको, परिकल्पना गरेअनुसार हुन सकेनन्,’ उनले भने, ‘प्राविधिक कारण सबै अधिकार महानगरमा नभएकाले पनि सय दिनमा काम हुन सकेन।’ 

बाँकी सबै चुनावी प्रतिबद्धता कार्यकालसम्म सकिने उनको दाबी छ। भने, ‘बाँकी सबै काम मेयरज्यूले उनको कार्यकालमा सकाउनुहुन्छ, उहाँले पनि त्यही भन्नुभएको छ।’ 

उनका अनुसार ३२ वडा मध्ये १४ वटाको वडा भवन बनिसकेको छ भने केही शिलान्यास भएर काम सुरु भएको छ। दुई स्मार्ट शौचालय बनेको छ। सबै जनप्रतिनिधिकै कार्यकालमा तीनकुनेको बुद्धपार्क,आफ्नै महानगरपालिका भवन, साइकल लेन बनाएर मतदाताको मन जित्ने उनको भनाइ छ।

‘पहिलादेखि नै बागदरबार भत्काएर नयाँ महानगरको भवन बनाउने भनेका थियौं, तर जिल्ला अदालतमा रिट परेकाले भत्काउन दिएन, काठमाडौं प्लाजामा सर्ने निर्णय अन्तिम चरणमा पुगेको छ, चैतमा हाम्रो कार्यकाल पनि सकिँदै छ, नयाँ महानगरको उद्घाटन गरेर हामी बिदा हुने छौँ,’ प्रवक्ता डंगोलले भने।

अहिलेसम्म महानगरपालिकाले गरेको कामले स्थानीय र जनताको मन जितेको पनि उनको भनाइ छ। उनले थपे, ‘कोभिडविरुद्ध रोकथाम नियन्त्रणमा पनि लागिपरेका छौँ, अक्सिजन प्लान्ट स्थापना गरेका छौँ, ९० प्रतिशत काठमाडौं सुधार गरेका छौं,मतदाताको मन जित्ने काम गरेका छौँ, बाँकी सुधार गर्दै जाने छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.