|

झापाः ७४ वर्षीय सन्चमान राई फुसको छानो फेरेर बर्खाअघि पानी नचुहिने नयाँ घर बनाएर बस्न पाउँछु भन्दै निक्कै खुसी थिए।

इलामको रोङ गाउँपालिका–४ ओझेली टोलका राई मनसुन सुरु हुनुअघिनै फुसले बनाएको खरको झुप्रो भत्काएर जस्तापाता र चित्राले बेर्ने योजनाकासाथ काम सुरु गरे।

सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत विपन्न तथा असहाय परिवारको पहिचान गरी पराल र खरको छाना घर भएका परिवारलाई ५० हजार दिने भएपछि गाउँपालिकाले उनको नाम छानो फेर्नको सूचीमा दर्ता गरायो।

गाउँपालिकाबाट नयाँ घर बनाएबापत ५० हजार आउने आसमा उनले बस्दै आएको खरको झुप्रो जस्तो घर भत्काए। ऋण काढेर नयाँ घर बनाउने सुरु गरे। अहिले खातामा पैसा नआएपछि उनी निराश बनेका छन्। ‘‘बस्दै आएको झुप्रो भत्काएर घर बनाउन थालियो, तर पैसा पाइएन’ उनले भने, ‘यो बर्खा कसरी कटाउने होला ?

गाउँपालिकाले कहिले पैसा दिने हो र घर बनाउला केही अत्तोपत्तो छैन।’ घर बनाउने पैसा माग्दै वृद्ध राई दिनहुँ आफूलाई भेट्न घरमै आइपुग्ने गरेको गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले बताइन्। कान कम सुन्ने, असहाय राईको पीडा देखेर आफूलाई पनि हिन्ताबोध भइरहेको उपाध्यक्ष राईले बताइन्।

उनलाई गाउँपालिकाले तीन दिन अघि मात्र पहिलो किस्ताबापतको ३० हजार रकम दिएको उनले बताइन्। ‘झुप्रो भत्काएर घर बनाउनुहोस्, सरकारले पैसा दिन्छ भनेपछि उनीसहित सबै विपन्न परिवारले घर बनाउन थाले,’ उनले भनिन्,‘सरकारले पर्याप्त पैसा नपठाउँदा गाउँपालिकामा छानो फेर्ने सबै विपन्न परिवारको अवस्था यस्तै छ।’

रोङ गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर लाप्चाको अवस्था पनि राईकै जस्तो छ। घर बनाउने थप पैसा सरकारले गाउँपालिकालाई नपठाएको जानकारी पाए पछि उनले घरको छानो फेर्ने आट नै गरेका छैनन्।

सोही वडाका ३६ वर्षीय केशर सापकोटाले घरको छानो फेरे। उनले पहिलो किस्ता ३० हजार पाइसके। उनी दोस्रो किस्ता २० हजार माग्दै गाउँपालिका धाइरहेका छन्। सोही वडाका ५८ वर्षीया मनबहादुर राईले घर बनाउन काम सुरु गरेर पहिलो किस्ता पाए। दोस्रो किस्ता नपाउँदा उनले जस्तापाता फेर्न नसकेको सुनाए।

घर बनाउन कर्जा लिएका उनी थप समस्यामा परेका छन्। एकातिर कोरोना कहर अर्कोतिर घर बनाउने कर्जा तिर्न नसक्दा निकै पीडा भइरहेको उनले सुनाए।

रोङ– ६ नम्बर वडा अध्यक्ष मणिकुमार स्याङबोले गाउँपालिकाले छनाेट गरेर छानो फेर्न लगाएको विपन्न परिवारको अपुग रकम सरकारले तुरुन्त पठाउनु पर्ने बताए। ५० हजारमा छानो फेरेर घर बनाउन लगाउँदा विपन्नलाई थप आर्थिक सङ्कट देखिएकोले सरकारले कम्तिमा प्रतिपरिवार एक लाख सम्म दिनुपर्ने उनले बताए।

सो गाउँपालिकाले छानो फेर्न १४६ विपन्न परिवार छनोट गरेको थियो। गाउँपालिकालाई पहिलो पटक २० लाख ९९ हजार र दोस्रो पटक ३४ लाख ५६ हजार बजेट पठाइएको छ। आर्थिक वर्ष सकिन लाग्दा अझै १७ लाख ४५ हजार अपुग रहेको उपाध्यक्ष राईले बताइन्।

साविक मेची अञ्चलका चार जिल्ला झापा, पाँचथर, इलाम र ताप्लेजुङमा सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रममा १५ हजार ८६१ लाभग्राहीले सम्बन्धित जिल्लाको पालिकासँग सम्झौता गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए।

सरकारले पुरै बजेट नपठाउँदा विपन्न परिवारलाई समस्या भइरहेको उनले बताए। ‘सरकारले चार जिल्लामा आधा मात्र बजेट पठाएको छ,’ उनले भने, ‘अब अपुग रकम आउने आर्थिक वर्षमा मात्र पठाउने विभागले जानकारी गराएको छ।’

चार जिल्लाका झन्डै ७९ करोड ३० लाख ५० हजार बजेट चाहिन्छ। सरकारले अहिलेसम्म करिब ४० करोड बजेट मात्र पठाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.