'नेता पुत्रत्रयको भेटघाटले पार्टीमा सकारात्मक सन्देश दिएको छैन'

|

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धा आउन सक्ने बताएका छन्।

पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको बताए। योग्य र सक्षम उम्मेदवारी आकांक्षीका रुपमा अघि आउन सक्ने उनको दाबी छ।

विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्ख्यौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबै लाई आग्रह गरे।

पार्टी भित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे।

भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उनले पार्टीमा ठूलो योगदान दिएका लाखौं नेता कार्यकर्ताहरू रहेको बताए। उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए। उनले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनितिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्छ।

प्रस्तुत छ, डाक्टर महतसँग महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारी बारेमा न्युज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंश

महाधिवेशन नजिकिएको छ व्यस्तता कत्तिको बढेको छ? कस्तो छ महाधिवेशनको तयारी?

हाम्रो महाधिवेशनलाई कोभिड १९ ले धेरै प्रभावित गर्‍यो। धेरै पटक कार्यतालिकामा संशोधन गर्नुपर्‍यो। नचाहँदा नचाहँदै यो परिस्थिति आयो। तर नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ।

यसको तयारी सबै पक्षबाट भइरहेको छ। क्रियाशील सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ। यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ। मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ। मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ।

नेतृत्वलाई लिएर आकांक्षीहरू धेरै छन्। पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरू र नयाँ आकांक्षीहरू पनि देखिएका छन्। यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ?

पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ। पालिकाको वडा देखि केन्द्रसम्म निर्वाचन हुन्छ। यसले धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको छ।

यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ। यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेरबहादुर दाइसँगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ। यसले सबै पदहरूमा उम्मेदवार हुने संख्या बढ्यो।

यस्तो अवस्थामा निर्वाचनले आफैं व्यवस्थापन गर्छ। अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिष्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ।

यसमा चुनौती पनि छ अवसर पनि छ। त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ। जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ पार्टीमा महत्वपुर्ण जिम्मेवारी लिन तयार छौं।

यसका बाबजुद राजनीतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन। पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ।

अहिले विशिष्ट परिस्थितिमा हामी छौ। यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय हो। पार्टी सम्हाल्ने कुरा बाहिर देखिएजस्तो हुँदैन। यस कारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्व नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ। आलोचना टिप्पणीहरू होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ।

यसको अर्थ पौडेल, देउवा, शंशाक र निधिलाई एकै ठाउँमा लडाउने हो त?

यस्तो छ कुरा, अहिले उपसभापति दुई जना हुनुहुन्छ। पहिला एक जना हुनुहुन्थ्यो। महामन्त्री दुई जना निर्वाचित हुन सक्नुहुन्छ। हामी सँगै काम गरौं फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ। होइन म पछि गर्दिनँ, अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ।

फेरि पनि देउवा र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईंहरूको राजनीतिक समय, उमेर र भविष्य ५ वर्ष पछाडि धकेलिने छ। यसबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र?

म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु। सभापति भएर पार्टीलाई हाक्न सक्छु भन्ने लाग्छ। अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ। हाम्रो अग्रज रहनुभएका दाइहरू हुँदा हुँदै बढ्न सकिने अवस्था छैन।

यसले हामीलाई नै घाटा छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरूको सान्दर्भिकता अहिले पनि छ। हो, यो हामीले बुझेका छौं। हामी केही वर्ष पछि धकेलिनेछौं। तर हामी त्यो दाबी गरिरहेका छैनौं।

मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भइसकेँ। सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन। यस्तै, अरू साथीहरूले पनि माथि दाबी गरिरहनुभएको छ। जस्तै विमलेन्द्रजी पनि हुनुहुन्छ। निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेका हरू फेरि नबन्ने दाउमा पुग्नुहोला। कतिपय उम्मेदवारी नै नदिएका साथीहरू अगाडि सर्नुहोला। त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन।

अहिले तीन शीर्ष नेताका सुपुत्रहरू संयोगले सबैको पार्टीभित्र अलग अलग योगदान छ। यसलाई वंश वा नाताले जोड्नुपर्दैन। तीनै जनाको घरमा लञ्च मिटिङ्ग भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ। पार्टी भित्र दुई समुह अहिले पनि छ। यसलाई कसरी हेर्नुभएको छ?

उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सिमित रहेर बैठक बस्यो भन्ने कुरा आम कार्यकर्ता पंक्तिले सहज रुपमा लिएको छैन। यो पार्टी समग्र जनताका छोराछोरीहरूको पार्टी हो। उहाँका पिताजी (नेताहरू)ले गरेको योगदान ठूलो छ। हाम्रो सम्मान पनि छ। तर यो पार्टीमा त मेरो बुबा मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौं।

हामी पार्टी सबै वर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौं। उहाँहरूले जसको बुबाहरू नेता हुनुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक पटक बैठक बस्नुभयो। यसले उहाँहरूको लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन। पार्टीमा लाखौं नेता कार्यकर्ताहरू छन् सबैको धेरै थोरै योगदान छ। कतिपय अवस्थामा उहाँहरूले गरेको भन्दा बढी योगदान गरेका साथीहरू छन्। यसकारण हामी मिल्यौ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन्। त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ।

यो प्रसंगको अर्को पाटो पनि छ, देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ। मान्नुहुन्छ?

विकल्प खोज्दा नेता पुत्रमा नै सीमित हुनुपर्छ भन्ने छैन नि। विकल्प खोज्न पाइन्छ। पिता नेता नभएका अरू पनि योग्य पात्र छन् नि। विकल्प खोज्न सकिन्छ। ठूलो प्रतिस्पर्धा छ तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन।

लामो समय देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका निधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ। संस्थापन पक्षलाई यसले असर गर्छ नि।

शेरबहादुरजीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै। प्रभाव पर्दैन भन्ने छैन। यस विषयमा धेरै साथीहरूले विमलेन्द्र जीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ। समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन्। यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ। तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन। नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ। त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ। तर उहाँ आफै उम्मेदवारी दिन योग्य हुनुहुन्छ। उहाँको अधिकार पनि छ। यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो, अलग अलग बाटो लागिसक्नुभयो भन्ने मूल्यांकन अलि अपरिपक्व हुन्छ।

सबैले आआफ्नो उम्मेदवारी दाबी गरिसकेका छन् तर तपाईंले गर्नुभएको छैन। तपाईंको दाबी कुन पदमा हो?

पार्टी सभापति स्वयं पनि साथीहरूको बीचमा भने पनि औपचारिक रुपमा घोषणा गर्नुभएको छैन। त्यसकारण हामीले  पनि घोषणा गर्न हतार गर्नुभएन। तथापि म सहमहामन्त्री भइसकेको छु। पहिला नै महामन्त्रीको लागि दाबी थियो। त्यसको लागि योग्यता र पृष्ठभूमि मसँग छ।

सभापति पदमा शेरबहादुर दाइ आफैं लड्छु भनेकाले सभापति पदमा दाबी छैन। म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो। म चुनाव लड्ने हो। महामन्त्री वा उपसभापति पदमा लड्छु। नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ। यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो। मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ।

फेरि पनि नेतृत्वले तपाईंलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि?

यी कुराहरू भइसकेको छ। यी कुरा नभई म यसरी बोल्ने थिइनँ। त्यो राम्रो पनि हुदैन। हामी संस्कार अँगाल्छौं। उत्ताउलो भएर राजनीति कहिलेकाहीँ गरेनौँ। यस विषयमा छलफल भएको छ। तर औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो। तर म सहमहामन्त्रीभन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु। यसको औपचारिक घोषणा केही समयपछि गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.