|

काठमाडौं : गत ३ जेठमा २२ वर्षीया  एक महिला जबरजस्ती करणीमा परिन्। यतिबेला उनी शारीरिक र मानसिक समस्यामा छिन्। पीडक भने फरार छन्।

पीडकलाई जतिसक्दो छिटो पक्राउ गरी कारबाही माग गर्दै महिला आयोगले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठायो। तर पीडकलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन। 

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाकी ३१ वर्षीया महिलाले आत्महत्या गरिन्। आफन्तले आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा उजुरी दिन गए। र तर प्रहरीले आत्महत्या भएको भन्दै जाहेरी लिन आनाकानी गर्‍यो। घटनालाई हाल महिला आयोगको टोलीले अनुसन्धान गरिरहेको छ।  

त्यस्तै महोत्तरीकी ३२ वर्षीय महिला बलात्कृत भइन्। प्रहरीले उनको खोजी जारी राखेको बताएको छ । राष्ट्रिय महिला आयोगले पीडकलाई छिटो पक्राउ गरी कानुनको दायरामा ल्याउन भन्दै  प्रहरीलाई पत्राचार गर्‍यो। 

माथि उल्लेखित घटना  प्रतिनिधि उदाहरण मात्र हुन्। सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखदेखि निषेधाज्ञा गर्‍यो। वैशाखदेखि जेठ अन्त्यसम्ममा महिला हिंसाका ६५ वटा उजुरी दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगमा शारीरिक, मानसिक, आर्थिक, यौनजन्य १४ उजुरी दर्ता भएका छन्। त्यस्तै घरेलु हिंसाका ५१ वटा मुद्दा दर्ता भएका आयोगले जनाएको छ।  

गत वर्षको वैशाखदेखि चैतसम्म लैंगिक हिंसाका एक हजार तीन सय ३३ र महिला हिंसाका दुई सय ३२ घटनाका उजुरी आयोगमा दर्ता भएका थिए । आयोगले निषेधाज्ञाको समयमा जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार तथा संरक्षणका लागि आयोग तथा अन्य संस्थाले सञ्चालन गरिरहेका हेल्पलाइन सेवाबारे सर्वसाधारणमा थप प्रचार गर्नुपर्ने, हिंसा पीडितका लागि मनोपरामर्श र मानसिक स्वास्थ्य सेवा सहज उपलब्ध गराउनेतर्फ ध्यान दिएको आयोगकी अध्यक्ष कमला पराजुलीले जानकारी दिइन्। 

महामारीमा यस्ता घटनामा देशभरका पीडितले उजुरी दिन महिला आयोगको ११४५ नम्बर पर्याप्त नहुने भन्दै सर्वोच्चले उजुरी दिने नम्बर थप्न आदेश दिएको थियो । लैंगिक हिंसा तथा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकाको आकस्मिक तथा तत्काल उद्धारका लागि देशका सात सय ५३ वटै स्थानीय सरकारमा हेल्पलाइन टेलिफोनबाट सेवा दिइरहेको छ।  

प्रहरीमा १५ हजार ७ सय ५६ हिंसाका उजुरी  

चैत २०७६ देखि हालसम्म नेपाल प्रहरीमा १५ हजार ७ सय ५६ वटा महिला हिंसाका उजुरी दर्ता भएका छन्। जबरजस्ती करणी, बालविवाह बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप,घरेलु हिंसा जातिय छुवाछुतलगायत उजुरी प्रहरी कार्यालयमा दर्ता भएका प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवरले जानकारी दिए। उनका अनुसार ११ हजार ७ सय ३८ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। 

जबरजस्तीकरणी २ हजार १ सय ४४, जबरजस्ती करणी उद्योग ६ सय ८७, बहुविवाह ७ सय ३४, यौन दुराचार २ सय ३२,अपहरण ३४, अवैध गर्भपतन ३४,जातीय छुवाछुत ३०,बोक्सी आरोपका ३४ वटा उजुरी दर्ता भएका छन्।  

प्रवक्ता कुँवरका अनुसार प्रदेश १ मा १ हजार ४ सय १२, प्रदेश २ मा ४ हजार ९२,प्रदेश ३ मा १ हजार ६ सय ११,प्रदेश ४ मा १ हजार २ सय ९२,प्रदेश ५ मा २ हजार ४७, प्रदेश  ६ मा ९ सय २० र ७ मा १ हजार ६७ उजुरी दर्ता भएका छन्।

त्यस्तै उपत्यकामा २ हजार ९ सय १३ वटा घटना दर्ता भएका प्रवक्ता कुँवरले जानकारी दिए। शारीरिक, मानसिक, आर्थिक, यौनजन्य १४ उजुरी दर्ता भएका छन्। अन्य समयभन्दा निषेधाज्ञामा हिंसाका घटना बढेका प्रहरी प्रवक्ता कुँवरको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.