|

चिन्तया जायते दुःखं नान्यथेहेति निश्चयि

तया हीनःसुखी शान्तःसर्वत्र गलितस्पृह!!

भगवान बुद्ध

कुनै समय जापानका एकजना राजा चित्रकलामा अति नै सौखिन थिए। राजकाजमा अनेक बाधा अड्चनबीच पनि समय निकालेर क्यानभासमा चित्र कोर्थे, रंग भर्थे। सांसारिक प्रतिस्पर्धा, विरोधाभास, द्वन्द्व संसारमै मात्र काम लाग्छ। यस्तै, परिस्थितिबीच पनि आफू भित्रबाटै शान्त रहन सक्नुपर्छ भन्ने सन्देशसहित उनी चित्रकलाको माध्यमबाट आफूलाई साधनामा लगाउँथे।

मन्त्री र भारदारहरू पनि उनको जीवनशैली देखेर आश्चर्य मान्थे। एकदिनको कुरा-राजाले मन्त्री र भारदारहरूलाई पटांगिनीमा बोलाएर राज्यमा भएका सबै चित्रकारहरूबाट जीवनमा शान्ति मिल्ने सन्देश दिने चित्रकला संकलन गर्न निर्देशन दिए। थपे, 'जसको चित्रकला पहिलो हुन्छ, उसलाई म १० हजार असर्फी उपहार घोषणा गर्दछु।' 

जब मन अशान्त हुन्छ तब अरूलाई दोष दिन छोडेर हामी पनि एकछिन शान्त भएर, बन्द आँखाले आफ्नै मनभित्र त्यो अशान्तिलाई खोज्ने प्रयास गर्ने कि?

सबैतिर सूचना पुग्यो, सयौं चित्रकारहरू आफ्ना चित्रसहित दिइएको समयमा दरबारमा हाजिर भए। राजाले एकएक गर्दै चित्र छनोट गर्न थाले।

अन्तिममा दुईवटा चित्र छाने। पहिलो चित्र-नदीनाला, पहाड, जंगल, नदीको स्वच्छ र निर्मल पानीमा हिमालको छाया परेको।

हिमालमाथि नीलो आकाश, नीलो आकाशमा छेउछाउबाट लुकामारी गर्दै गरेका सेता कपासका डल्ला जस्ता बादल, आकाशमा पन्छीहरू यस्तै मनमोहक दृश्य र सुन्दर रंगहरूले सजिएको थियो।

दोस्रो चित्र थियो जसमा–पत्थरै पत्थरको पहाड, नांगा डाँडाहरू, रुखासुखा दृश्य, पत्थर माथि कालो आकाश, आकाशमा बादलको गड्याङगुडुङ आभास हुने, पानी पर्न नसकेर रिसाएको बादल जस्तो। मेघ गर्जन, बिजुली चम्केर पृथ्वीलाई नै तर्साइरहेजस्तो। पत्थरको पहाडको एउटा छेउमा पत्थर फोरेर उम्रेको रूख अनि त्यसमा एकजोडी चरा र उसका बचेराहरू।

पोथीले आफ्ना बच्चाहरूलाई आहारा खुवाइरहेको दृश्य। अलिपर एउटा कुनाबाट संघर्ष गर्दै झरेको झरना। राजाले सबैको अनुहार नियाले र सोधे –मैले यी दुई चित्र छानेँ, यसबाट पनि एउटा छान्नुपर्ने छ कुन छानौँ?

सबैले एक स्वरमा भने, 'पहिलो चित्र महाराज!'

'किन?' राजाले सोधे।

फेरि सबैले एक स्वरमा भने, 'त्यो चित्र हेर्नुस् न! जताततै हराभरा, निर्मल स्वच्छ नदी अनि बगेको पानी, सुन्दर हिमालदेखि बादल र आकाशसम्म। यसले नै शान्तिको सन्देश दिन्छ महाराज! दोस्रोमा रुखासुखा, दु:ख र दर्द मात्र भेटिन्छ। संघर्ष गरेको पन्छीको जोडी, कतै हराभरा केही छैन।'

राजा मुस्कुराएर भने, 'मैले दोस्रो चित्रलाई पहिलो पुरस्कृत गर्छु।' 

'कसरी महाराज?' सबैले जिज्ञासा राखे। राजाले भने, 'परिस्थिति अनुकूल हुँदा शान्ति मिल्ने र खुसी मान्नु के ठूलो कुरा भयो र? प्रतिकूलतामा संघर्ष गर्दै संयम र स्वीकारको जीवन बाँच्नु पो जीवन्तता त! ती चराको जोडी र तिनीहरूको प्रेम र जीवन्तता महसुस गर्न सक्छौ?'

प्रतिकूलतालाई आत्मसात गर्दै जे छ त्यससँग खुसी हुन जान्ने कला प्राकृतिक गुणवत्ता हो। राजाको प्रज्ञापूर्ण कुराको सन्देश कतिले बुझे बुझेनन्। तर जीवनको वास्तविकता यही हो कि शान्ति कुनै शान्त र सुन्दर ठाउँमा भेटिन्न। 

होहल्ला र विरोधाभाषपूर्ण परिस्थितिमा पानी आफूभित्रको शान्तिलाई बोध गर्न सक्ने कलाको विकास हुनु वास्तविक रूपमा जीवनलाई उत्सवमय बाँच्ने कला हो।

सुखको परिभाषा

एकजना धनाढ्य व्यापारी दुई-चार वर्षदेखि आफूमा सुख र खुसी नै नभएको महसुस गर्दथे। बाहिरबाट हेर्दा आलिशन महल, विदेशका प्रख्यात विश्वविद्यालयमा पढ्ने छोराछोरी। नोकरचाकर, साधन र स्रोतको अभाव भन्ने नै छैन। भौतिक सुखको चरम उपलब्धता। हाँसीखुसी श्रीमान श्रीमतीको जीवन। बाहिरबाट देख्ने सबैलाई लोभलाग्दो जिन्दगी।

तर धेरैवर्ष अगाडिदेखि उनले आफ्नो निद्रा बिर्सिसकेका थिए। मन पटक्कै खुसी र आनन्दित भएको भेट्न सकेका थिएनन्। सम्पत्ति र साधनको कमी नभएको एकमात्र छोरा लागूपदार्थको दुर्व्यसनले दसौँपटक थुनिँदा, नेता र मन्त्रीहरू लगाएर गुपचुप थुनाबाट छुटाएर ल्याए पनि मनमा शान्ति थिएन।

अमेरिका पढ्न गएकी छोरीले दुई वर्षअघि नै विश्वविद्यालयको पढाइ छाडेर सांसारिक मस्तीको जीवन बाँचिरहेको खबर उनले आफ्ना आफन्तलाई अझै सुनाएका छैनन्। अरूले देख्दा साधन सबै छ, तर खुसी र सुख के मा हुन्छ खोज्न थालेका थिए।

एक साँझ टिभी अगाडि बसेर हेर्दै थिए, दुर्गम गाउँको एउटा दृश्य, लवाइखुवाइ, जीवनशैली देख्दा दया लाग्ने व्यक्तिहरू पनि अनुहारमा हाँसो छ। परिवारमा खुसी, दु:खको रेखा कतै देखिएको थिएन। उनी आश्चर्यमा परे र सुख के रहेछ जान्नको लागि बिहानै उठेर दुर्गम गाउँको भ्रमणमा निस्किने निर्णय लिए। 

सबेरै बाटो लागेका उनी, उनले सोचेको बाटो तय गर्न ४ घण्टाको ठाउँमा ६ घण्टा लाग्ने रहेछ। बाटोमा थकाई मार्दै, बोकेको पनि र खाजा खाँदै बाटोको आनन्द लिने कोसिस गरिरहेका थिए। बीचबीचमा झसंग हुन्थे–म कहाँ जाँदै छु र किन? सुनसान जंगलमा पनि बिचारको भिडले उनको मस्तिष्क बोझिलो बनाइरहेकै थियो।

एउटा चौतारीमा विश्राम लिनको लागि रोकिए। अघि नै विश्राम लिइसकेका यात्रु र भरियाहरू उठेर जाने तर्खर गरे। अर्को भरिया आइपुगे, भारी बिसाए। नजिकैको धारोमा कलकल चिसो पानी पिए। ती व्यापारीलाई पनि याद आयो–धाराको पानी मैले पनि पिए हुन्छ नि! उनले पनि पानी पिए र चौतारीमै बसे।

भरियाले भारीमा शरीर अडेस लगाए र एउटा बिँडी सल्काएर आनन्दको धुवाँ छोड्न थाले। बीचबीचमा लोकभाका गुन्गुनाउँदै थिए। व्यापारीले उनका सबै क्रियाकलापहरू चुपचाप हेरिरहे। एकैछिनमा ती भरिया घुर्न थाले। व्यापारी त अरू आश्चर्यमा परे। यति सजिलै निदाउन सकिन्छ!

केही छिनपछि ती भरिया ब्यूँझे र आङ तन्काउँदै यात्रा तय गर्ने सुरसारमा देखिए। अब भने व्यापारीको बोली फुट्यो, 'म पनि माथि गाउँतिरै हिँडेको, तपाईंसँगै जान सक्छु?' भरियाले सहमति जनाए।

जाँदै गर्दा व्यापारीले सोधे, 'तपाईंले यति धेरै दुःख गर्नुभएको छ, जीवन कति दु:ख है? सुख कहिल्यै महसुस गर्नुभएको छ?' ती भरियाले हाँस्दै भने, 'साहेब! म जुन अवस्थामा जन्मेँ-त्यो भन्दा अरू सुख कस्तो हुन्छ त मैले भोग्न पाएको छैन। तर दिनभरमा धेरै पटक सुखको महसुस गर्छु।

अघि चौतारीमा भारी बिसाएर टन्न चिसो पानी पिउँदा जुन आनन्द र सुखको महसुस भयो नि त्यो पनि एउटा सुख हो मेरो लागि। त्यसपछि बिडी सल्काए, थकाई मारेँ, त्यही बचमा झुपुक्क निदाएछु, कस्तो आनन्द महसुस भयो। अहिले फुर्तिलो भएर हिँड्न सकिरहेको छु।

मेरो साहु पनि शहरमै बस्नुहुन्छ। उहाँ खेती थन्क्याउन गाउँ आउनुभाथ्यो त्यसैले छोड्न गएको थिएँ म शहर। अब साँझ घर पुग्छु नि! शहरमा साहेब साहेबनीले राखिदिएको लुगाकपडा, खानेकुरा जे छ त्यो पोको खोल्छन् परिवार केटाकेटी मिलेर, उनीहरू खुसी हुन्छन् अनि मलाई अरू खुसी लाग्छ।

दिनभर परिवारै खेतमा काम गर्छौं, सँगै बसेर खाजा खान्छौँ। साँझ घर फर्क्यो, थाकेको हुन्छ शरीर जुनको उज्यालोमा निदायो। यसरी दिनचर्या चल्छ हजुर, धेरै पटक खुसी मिलेको छ।'

व्यापारीलाई लाग्यो–शरीर थाकेपछि त निद्रा र भोक मिलिहाल्छ नि! भौतिक सम्पन्नताको आपाधापले मनस्थिति नै थाकेपछि कसरी निद्रा आओस्।

मन सक्रिय, तन निस्क्रिय, विचारको भीडभाडमा भोक, निद्रा र खुसी भेट्न उनलाई गाह्रो भएको रहेछ वोध गरे। सुख र खुसी आफ्नै स्वभाव रहेछ दु:ख र तनाव आफ्नो आर्जन। ती भरियाले आँखा खोलिदिएको महसुस गरे।

भरियाले असुविधाबीच पनि पनि अप्ठेरो नमान्ने भए एक रातलाई आफ्नो झुपडीमै बास बस्न अनुरोध गरे। 'शहरमा आफ्नो अलिशान बंगलामा पनि यी भरियालाई भेटेको भए मैले बास बस्न अनुरोध गर्थें त?' व्यापारीले आफैंलाई प्रश्न गरे। 

बोधिसत्वले भने–भोलि बिहानै तिम्रो अशान्त मन लिएर म कहाँ आउनु म त्यसलाई शान्त बनाउछु। अशान्त मन घरमा छोडेर न आउनु नि! बोधिसत्वले कुनै सूत्र मन्त्र देलान् भनेको त मन छोडेर नआउनु पो भन्छन् कस्तो पागल रहेछन्। कोहि आफ्नो चित्त र मनलाई अलग छोडेर हिंड्न सक्छ होला?

जीवनमा आफ्नो स्वभाव धेरै कठोर भइसकेको रहेछ महसुस गरे। त्यो रात तिनै भरियाकहाँ बास बस्ने निधो गरे। उनको परिवारले देखाएको अपनत्व र अतिथि सेवा उनलाई स्वर्गीय सुखको अनुभूति भयो। त्यो ठाउँमा आफूले भए त्यो आत्मियता दिन सक्थेँ कि सक्दिनथेँ-आफैंमा प्रश्न थियो उनको।

शान्ति खोज्ने तरिका

मानिसले जति नै भौतिक सम्पदा आर्जन गरेपनि अन्तिममा खोज्ने भनेको मन शान्ति, चित्त शान्ति, घरमा शान्ति, राष्ट्रमा शान्ति नै हो। यति धेरै चाहना हुँदा पनि यो सजिलै किन मिल्दैन होला? किनकि यो प्रयासबाट प्राप्त हुने अवस्था होइन। निष्क्रिय जागरुकता, संयमता, होसपूर्ण व्यवहार र बाहिरका अशान्ति र कोलाहलबाट आफूलाई जोगाउनु शान्तिको महसुस गर्नु हो।

कसैको बाहिरी आवाज र कोलाहल मात्र होइन हाम्रो यान्त्रिक विचार, कल्पना, सोच, भावना सबैबाट बच्नु शान्तिको अनुभूतिमा प्रवेश गर्नु हो। अशान्तिपूर्ण व्यवहार र संस्कारबाट सचेत हुनु शान्तिको अनुभूति हो।

त्यसैले त ओशो भन्नुहुन्छ, 'शान्ति खोज्नुभन्दा पहिले खोज के चिजले तिमीलाई अशान्ति बनायो। त्यो अशान्तिबाट बच्न स्वीकार गर, विद्रोह नगर।' यसै प्रसंगमा ओशो बताउनुहुन्छ, 'चीनका सम्राट गुरू बोधिसत्व कहाँ गए र भने, मेरो मन सधैं अशान्त रहन्छ के गर्ने होला?'

बोधिसत्वले भने, 'भोलि बिहानै तिम्रो अशान्त मन लिएर म कहाँ आउनु, म त्यसलाई शान्त बनाउँछु। अशान्त मन घरमा छोडेर न आउनु नि!'

सम्राटलाई लाग्यो, 'बोधिसत्वले कुनै सूत्र मन्त्र देलान् भनेको त मन छोडेर नआउनु पो भन्छन् कस्तो पागल रहेछन्। कोहि आफ्नो चित्त र मनलाई अलग छोडेर हिँड्न सक्छ होला?'

सम्राट रातभर निदाउन सकेनन्। गुरू भनेर समस्या समाधानको लागि गएको झन समस्या थपिदिए। तैपनि सम्राट भोलिपल्ट बिहानै उठेर बोधिसत्वकहाँ गए। बोधिसत्व हातमा लट्ठी लिएर बसेका थिए। भने, 'ए! तिमी आयौ अनि तिम्रो अशान्त मन ल्यायौ होइन?'

सम्राटले भने–गुरू यो कुनै वस्तु हो र म बोकेर ल्याऊँ? यो त म भित्रको अवस्था हो। हातमा लिएर तपाईंलाई देखाउन सक्छु र? बोधिसत्वले भने, 'ल त्यसो भए आँखा बन्द गरेर तिम्रो भित्र भएको अशान्त मन खोज्न थाल। म यहि अगाडि हुन्छु, भेट्नासाथ आँखा खोलेर मलाई भन।'

सम्राट मनभित्र हेर्दै गए, खोज्दै गए, अन्तर कुना कुना सम्म खोजे, घन्टौँ खोजे भेटेनन्। खोज्दै गए...खोज्दै गए... भेटेनन्। बरू उनको अनुहारमा कान्ति झल्किन थाल्यो, उनी शान्त देखिन थाले।

बोधिसत्वले भने, 'अब आँखा खोल, तिम्रो प्रयास सकियो अब तिमीले केवल शान्ति भेटेका छौ।'

जब मन अशान्त हुन्छ, तब अरूलाई दोष दिन छोडेर हामी पनि एकछिन शान्त भएर, बन्द आँखाले आफ्नै मनभित्र त्यो अशान्तिलाई खोज्ने प्रयास गर्ने कि!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.