खैरहनीस्थित पूर्वपश्चिम राजमार्गमा प्रदर्शन

|

चितवन : पूर्वी चितवनको राप्तीमा थप प्रदर्शन र हुलदंगा हुन नदिन जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको कर्फ्यु एक दिन थप गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज साँझ कर्फ्युको आदेश जारी गरी असार २४ गते साँझ ७ बजेसम्म लागु हुने बताएका हुन्। 

राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयले हिजो मंगलबार राप्तीमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेपछि प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क(१) अनुसार आज साँझ ७ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको थियो।

राप्ती–१ लोथरपुल देखि राप्ती–४ डडुवासम्मको राजमार्ग क्षेत्रको दायाँ बायाँ ५०० मिटर भित्रसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको हो। असार २४ गते बिहान ५ बजेदेखि ८ बजेसम्मको समयमा अत्यावश्यक उपभोग्य सामग्री खरिद/बिक्री गर्न सकिने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

त्यस्तो सामग्री किन्न जाँदा समूहमा बढीमा तीन जना मात्रै सहभागी हुन सकिने उनले बताए। कर्फ्यु आदेशको उल्लंघन गरे  त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेतर्फ प्रशासनले सचेत गराएको छ।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, हुलहुज्जत, ढुंगामुढा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यु लगाइएको उनले बताए। 

खैरहनीमा पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन 

भण्डारीको लागि न्याय माग गर्दै पूर्वी चितवनको खैरहनीमा स्थानीय युवाहरूले आज टायर बालेर प्रदर्शन गरेका छन्। खैरहनी नगरपालिका–१ शाही चोकमा सडक अवरुद्ध गरिएको हो। 

जिल्ला प्रशासनले राप्तीको लोथर पुलदेखि डडुवासम्म कर्फ्यु लगाएपछि आज खैरहनीमा प्रदर्शन गरिएको हो। भण्डारीको हत्या नै भएको भन्दै हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरी कारबाही गर्न स्थानीय युवाहरूले माग गरेका छन्। 

असार ११ गते साथीको घरमा जान्छु भनि हिँडेकी भण्डारीको शव असार २० गते  ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.