२३ किलोमिटरमा भने कालोपत्रे सुरु

|

धनगढी : धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त गतिमा भइरहेको छ। सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको हाटखोलीदेखि डोटीको सलेनासम्म ट्रयाक खोल्न २०७४ सालमा ३० महिनाको अवधि राखेर विभिन्न प्याकेजमा सम्झौता गरिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।

२०७४ वैशाख ४ गते सम्झौता भएको कैलालीको हाटखोलीदेखि ओझेनासम्मको २० दशमलव ५ किलोमिटर सडक निर्माणको काम अझै सम्पन्न भएको छैन। ३० महिनाभित्र ट्रयाक खोलिसक्ने गरि काम सुरू भएपनि अहिलेसम्म १७ किलोमिटर मात्र ट्रयाक खोलिएको छ। 

धनगढी–दिपायल द्रुतमार्ग योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले ओझेनादेखि बिपीनगरसम्मको ४ किलोमिटर र डोटीको बिपीनगरदेखि काफतडीसम्मको ८ किलोमिटर ट्र्याक भने खोलिएको बताए।

डोटीकै काफतडीदेखि सलेनासम्मको ५० किलोमिटर ट्र्याकको काम भने रूख कटानको आदेश नपाउँदा अलपत्र छ। यसमा सलेनामा रूखले काम अवरूद्ध भएको हो।

द्रुत मार्गअन्तर्गत कैलालीमा रूख कटानको काम जारी छ। डोटीमा भने रूख कटानको आदेश नै नपाएको योजना कार्यालयले बताएको छ। वन डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले योजना कार्यालयले लगत संकलन गरेपछि कटान आदेश दिने बताएको छ।

‘योजना कार्यालयलाई लगत संकलन गर्न पत्र पठाएका छौँ,’ उनले भने, ‘योजना कार्यालयले लगत संकलन गरेपछि कटान आदेश दिन्छौँ।’ 

कैलालीमा भने रूख कटानको ७० प्रतिशत काम सम्पन्न भइसकेको योजना कार्यालयले जनाएको छ। वर्षौंदेखि अलपत्र रहेको धनगढी–दिपायल द्रुत मार्गको २३ किलोमिटर सडक कालोपत्रेको काम भने सुरू भएको छ।

कैलालीमा साढे १३ किलोमिटर सडक कालोपत्रेका लागि जेठ १९ गते ठेक्का सम्झौता भएपछि काम सुरु भएको छ भने डोटीमा साढे ९ किलोमिटर सडक कालोपत्रेका लागि जेठ २० गते सम्झौता भए पनि संयुक्त सर्वेको काम भइरहेको योजना कार्यालयका इन्जिनियर रैखोलाले बताए।

त्यस्तै दिपायल–राजपुर सडकखण्डमा पहिरो सफा गर्न र अस्थायी नाला निर्माण गर्न १ करोडका दरले ५ वटा सम्झौता भएका छन्। डिपिआर गरिएका बेला कैलालीको खुटियादेखि दिपायलसम्मको ८४ किलोमिटर दूरीको सो द्रुतमार्ग अहिले जिरो प्वाइन्ट धनगढी बनाइएपछि १ सय ५ किलोमिटर पुगेको छ।

द्रुतमार्गको काम कहिले स्वामित्व हस्तान्तरणले अवरुद्ध हुने गरेको छ त कहिले सुरुङमार्ग बनाउने भन्दै अलपत्र पार्ने गरिएको छ। सडक निर्माणको चर्चा सुरु भएको १३ वर्ष पुगिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.