देउवाको समर्थन साउदलाई

|

डडेल्धुरा : नेपाली कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४औं महाधिवेशनको रौनक बढेको छ। केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिरहँदा जिल्ला सभापतिका दाबेदारहरू पनि दौडधुप गरिरहेका छन्‌।

कांग्रेसमा अब वडा तहका अधिवेशनहरू नजिक आइसकेको छ। १२ साउनदेखि वडा तहको अधिवेशन शुरू हुनेछ। त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पार्टी सभापतिको लागि होडबाजी चलेको छ। सभापति बन्न र आफू पक्षका नेतालाई सभापति बनाउनका लागि यहाँका नेता कार्यकर्ता बूढानीलकण्ठ पुग्न थालेका छन्।

देउवा भर्सेस मल्ल : कुन पक्षले मार्ला बाजी ?

सभापति देउवाको गृहजिल्ला भएकोले पनि डडेल्धुरामा बेग्लै रौनक छाएको छ। डडेल्धुरामा देउवा र अर्को वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लबीच प्रतिष्पर्धा हुने गरेको छ। देउवा र मल्लले महाधिवेशनको समयमा आफ्नो शक्ति प्रदर्शन गर्दै आएका छन्।

तर, पछिल्लो समयमा भने मल्ल हाबी हुँदै आएका छन्। मल्लले देउवालाई रोक्दै दुई कार्यकाल जिल्ला सभापतिको नेतृत्व सम्हाली सकेका छन्। अब भने उनलाई जिल्ला सभापति बन्नका लागि पार्टी विधानले रोकेको छ।

मल्ल सभापतिको लाइनबाट आउट भएसँगै डडेल्धुरामा अब नयाँ नेतृत्व आउनेछ। देउवा समूहबाट परशुराम नगरपालिका नगर प्रमुखसमेत रहेका भीमबहादुर साउद, पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल आकांक्षी रहेका छन्।

यस्तै, मल्ल पक्षबाट वर्तमान उपसभापति करुणाकर भट्ट आकांक्षी रहेका छन्। देउवा पक्षमा आकांक्षी बढी रहेकोले विवाद बढ्दै जाने र मल्ल पक्षले सभापतिको बाजी आफ्नो पक्षमा पार्ने आंकलन पनि गरिँदैछ।

पछिल्लो समय गृह जिल्लामा मल्लको हाबी देउवालाई टाउको दुखाइको विषय बन्ने गरेको छ। १३औं महाधिवेशनमा देउवाले रघुवर भट्टलाई अघि सारेपनि उनले मल्ललाई रोक्न सकेनन्। मल्ल देउवाविरुद्ध मोर्चाबन्दीमा संस्थापन इत्तर पक्षसँग उभिँदै आएका छन्।

साउदलाई देउवाको समर्थन

देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा परशुरामका नगरप्रमुख साउदको पक्षमा उभिएका छन्। साउदलाई देउवाले साथ दिँदा पत्नी आरजु राणा उनीप्रति सकारात्मक रहेकी छन्।

डडेल्धुराको पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएकी आरजु पनि साउदकै पक्षमा उभिएको पाइएको छ। बूढानीलकण्ठमा सोमबार भएको छलफलमा देउवा दम्पती र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका नगर प्रमुखसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको हो।

समयमै जिल्ला सभापतिको टुंगो नलाग्दा विगतमा पराजित हुनुपरेको भन्दै जिल्ला नेताहरूले देउवालाई समयमै निर्णय लिन आग्रह गरेका थिए। सोही क्रममा देउवाले सभापतिको उम्मेदवारका रूपमा साउदलाई अगाडि सारेका छन्।

बूढानीलकण्ठ छलफलमा सहभागी भट्ट र बोहोराले समेत साउदलाई सभापति बनाउने देउवाको प्रस्तावमा समर्थन जनाएका छन्। तर, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका सभापतिका आकांक्षी मल्ल भने काठमाडौं गएका थिएनन्। देउवाले उनलाई पनि मिलाउने नेताहरूलाई बचन दिएको स्रोत बताउँछ।

को हुन् साउद ?

भीमबहादुर साउद परशुराम नगरपालिकाका नगरप्रमुख हुन्। २०४९ सालमा जोगबुढाको गाउँ विकास समिति अध्यक्ष, ०५४ मा जिल्ला विकास समिति सदस्य हुँदै अहिले  परशुराम नगरपालिकाको नगरप्रमुख भएर काम गर्दै आएका छन्।

उनी ०४८ देखि हालसम्म महाधिवेशन प्रतिनिधि भएर पार्टीमा सक्रिय छन्। साउद ठेकेदार पृष्ठभूमिका व्यक्ति पनि हुन्। त्यसले उनी राम्रो आर्थिक हैसियत भएका नेताका रूपमा चिनिन्छन्। जिल्लामा आर्थिक र राजनीति रूपमा साउदको राम्रै पकड छ।

देउवा यसपटक जिल्लामा सभापति कर्ण मल्लको पकड भत्काउने सोचमा छन्। सोही कारण उनले राम्रो पकड भएका साउदलाई नै सभापतिको उम्मेदवार बनाउन चालेका हुन्। देउवा आगामी चुनाव जित्नका लागि भएपनि साउद सभापति बनाउन चाहन्छन्।

डडेल्धुराको आधाजति जनसंख्या रहेको भित्री मधेस क्षेत्रमा साउदको पकड राम्रो छ। त्यसैले देउवाले उनलाई अघि सारेका हुन्।

यसअघिको चुनावमा सभापति मल्लले देउवालाई असहयोग गरेको आरोप लाग्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.