|

काठमाडौं : लगातार घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले उकालो लागेको छ। लगातार ४ दिन घटेको बजार बिहीबार २३.९७ अंकले बढेर नेप्से परिसूचक २८२५.११ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनी सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले बढेर ५२९.६६ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि पौने ५ अर्बभन्दा बढीको भएको छ। बिहीबार नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने दुई वटामा रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ३.०९ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह २.१२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.९३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.९४ प्रतिशत, लगानी समूहमा १.१५ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३६ प्रतिशत, लघुवित्त समूहमा १.३३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशतले बढेको छ। अन्य र व्यापार समूह दुवै ०.५५ प्रतिशतले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

बिहीबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर चार अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँमा किनबेच भएका छन्। नेपाल बैंकको सर्वाधिक २१ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको बिहीबार एनआईसी एसिया बैंकको १६ करोड ७९ लाख रुपैयाँ, निफ्राको १३ करोड ९९ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ८६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ११ करोड २ लाख रुपैयाँ, सिटिजन बैंकको १० करोड ५ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको ९ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशत बढीले बृद्धि भएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयर मुल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। सेयर बजारका जानकारहरुले बजार उकालो लाग्ने क्रम सुरु भएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.