सिद्धार्थ राजमार्गसमेत अवरूद्ध

|

पाल्पा : पाल्पामा अविरल वर्षासँगै आएको पहिरोले बिहीबार ५ घर पुरिएका छन्। 

बिहान ४ बजे माथिबाट आएको पहिरोले तिनाउ गाउँपालिका–५ गिट्टीखानीका सबै घर पुरिएका हुन्। पहिरोले घरसँगै पुरिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता भएका छन्। ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

उनको घटनास्थलमै मृत्यु भएको छ। सोही ठाउँका ४ वर्षीय आरभ परियार बेपत्ता भएका छन्। आरभका बुवा २६ वर्षीय रमेश र आमा २४ वर्षीया पूजा परियार, सोही ठाउँकी ७५ वर्षीया सुन्दरी गुरूङ, ५० वर्षीय बलबहादुर पुन, १५ वर्षीय दिपेश पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना घाइते भएका छन्।

घाइतेमध्ये सुन्दरीको अवस्था गम्भीर रहेको त्वातीले बताए। उनीहरूमध्ये ५ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। २ जनाको सामान्य अवस्था छ। 

२ घर पूर्णरुपमा पहिरोले पुरिएका छन्। घरको अवस्था नै पत्ता लाग्ने अवस्था छैन। अन्य घरसमेत काम नलाग्ने गरी क्षति भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

उनका अनुसार यहाँ रहेको कल्याणी आधारभूत विद्यालयमासमेत पहिरोले क्षति पुर्‍याएको छ। ‘माथिबाट ढुंगा र गिटीसहितको ठुलो पहिरो झरेको छ’ उनले भने ‘यहाँ रहेका ५ वटामध्य २ घर पहिरोले पूर्णरुपमा पुरिएको छ। बाँकी तीन घरसमेत कामै नलाग्ने गरी पूर्ण क्षति भएका छन्।’ अब यहाँ घर निर्माण गरेर बस्ने अवस्था नरहेको उनले बताए। 

सकुशल रहेका परिवारका सदस्य अहिले स्थानीय विद्यालयको प्राङ्गणमा आश्रय लिइरहेका छन्। नेपाल प्रहरी र स्थानीय जनताको सहयोगमा उद्धार कार्य भइरहेको छ। बेपत्ताको उद्धार गर्न स्काभेटर आउँदै गरेको पचभैयाले बताए।

पहिरोले विस्थापित भएका परिवारलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे गाउँपालिकामा छलफल भइरहेको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए।

उनका अनुसार हाल पहिरोले बगाएको ठाउँमा बस्न मिल्ने अवस्था छैन। अन्यत्र ठाउँको व्यवस्थापन गरेर बसाई नै सार्ने गरी छलफल भइरहेका उनले बताए।

क्षतिको अवस्था यस्तो छ

स्थानीय वीरबहादुर रानाको एकतले कच्ची घर, रमेश परियारको खरको छाना भएको एक तले कच्ची घर, नरबहादुर रानाको एक तले पक्की घर, हरि दर्लामीको २ तले कच्ची घर र बलबहादुर पुनको एकतले कच्ची घर पहिरोले पुरिएका हुन्। सबै घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। सिद्धार्थ राजमार्गको छेउमा यो बस्ती थियो। हिउँदे खोलाको किनारमा बस्दै आएका थिए।

सिद्धार्थ राजमार्गको आधा दर्जन ठाउँम पहिरो, सुचारू हुनेमा अन्योल

पाल्पास्थित सिद्धार्थ राजमार्ग बुधबार रातिदेखि अवरुद्ध भएको छ। 

अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। तिनाउ गाउँपालिकाको सिद्धबाबा, लामिदमार, झुम्सा र पानी मिल भन्ने ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

उनका अनुसार एम्बुलेन्स पहिरोको बीचमा अड्किएको अवस्थामा छ। एम्बुलेन्समा सवार चालकसहित अन्य मानिस भागेर ज्यान बचाउन सफल भएका थिए। लु१झ ५२९ नम्बरको एम्बुलेन्स पहिरोको बीचमा अड्किएको छ। निकाल्ने प्रयास भइरहेको उनले बताए।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत नै बगनासकाली गाउँपालिकाको शेरा र रम्भा गाउँपालिकाको सीता पहाडमा समेत पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग पूर्णरूपमा बन्द छ। अहिले पनि वर्षा भइरहेको छ। पहिरो खस्ने क्रम रोकिएको छैन। राजमार्ग खुलाउन कठिन भइरहेको छ। राजमार्ग कतिबेला खुल्छ भन्नेमा अन्योल रहेको त्वातीले बताए। यद्यपि अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

फोटो : तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगर र स्थानीय कृष्ण पाण्डेको सहयोगमा प्राप्त 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.