|

काठमाडौं : सत्तारुढ नेकपा एमालेभित्र छताछुल्ल भएको विवाद समाधानतर्फ गएपछि विपक्षी गठबन्धन धर्मराउने संकेत देखिएको छ। प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि प्रयासरत विपक्षी गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ।

प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धन बनेको थियो। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पाटी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको थियो। 

ओली सरकार बहिर्गमनको लागि विपक्षी गठबन्धनमा निर्णायक भूमिकामा रहेका एमाले नेता नेपाल समूह पार्टीभित्रको अन्तरविरोधलाई समाधान गरेर पार्टी एकता जोगाउनमा केन्द्रित भएपछि विपक्षी गठबन्धनलाई समस्या देखिएको हो। 

एमाले विवाद समाधानको मोडमा पुगिरहेको बेलामा ओली नेतृत्वको सरकार हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेतृ रामकुमारी झाँक्री लोकतन्त्र र संविधानको रक्षाका लागि कुनै जालझेलमा पर्न नहुने बताउँछिन्। 

नेतृ झाँक्रीले फेसबुकमा लेखेकी छन्, ‘लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न।’

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर गल्ती गरेको स्वीकार नगर्ने अडान राखिरहेको बेलामा उनले संसद् पुनःस्थापना अनिवार्य सर्त भएको दाबी गरेकी छन्। 

पहिलो पटक संसद् पुनःस्थापना गरेको सर्वोच्च अदालतले दोस्रो पटकको पनि असार २८ गते फैसला ल्याउने तयारी गरेको छ। सबै पक्षको बहस सकिएपछि २८ गते फैसला सुनाउने तयारी गरेको छ। तर, विपक्षी गठबन्धनमा सामेल भएका आफ्नो पार्टीको नेतालाई तान्ने प्रयास गरिरहेको बेलामा अदालतको निर्णयलाई दुवै पक्षले केन्द्रमा राखेर हेरिरहेका छन्। 

ओलीको प्रतिगमनविरुद्ध आगामी निर्वाचनसम्म सहकार्य गर्नेसम्मको रणनीति बनाएको विपक्षी गठबन्धनलाई एमाले एकताले धक्का लाग्ने आकलन गर्न थालिएको छ। प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमविरुद्ध साथ दिनेहरू लागिराख्ने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बताउँछन्। भन्छन्, ‘माधवजी हरू पार्टीमा मिल्नुहोला। त्यो उहाँहरूको आन्तरिक कुरा हो। तर, हाम्रो गठबन्धन रोकिन्न।’

आगामी निर्वाचनसम्म सहकार्य गरेर जाने भन्नेबारे कुरा चलेको भए पनि कुनै लिखित सम्झौता नभएको उनको भनाइ छ। अदालतबाट ओलीको कदमलाई सच्चाएर फैसला ल्याउने उनको अपेक्षा छ। 

‘उहाँको प्रतिगामी कदम नसच्चिएसम्म हाम्रो आन्दोलन रोकिने पक्षमा छौँ। ओलीको कदमविरुद्ध जानेहरूलाई हामीले जहिले पनि गठबन्धनमा स्वागत गर्छ सक्छौँ’ नेता पौडेलले भने। 

ओलीको कदमविरुद्ध बनेको गठबन्धन भएकाले एमाले एकताले कुनै फरक नपर्ने कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत दाबी गर्छन्। ‘हामीले ओलीको कदमलाई सच्याउनुपर्छ भनेर एउटा गठबन्धन बनाएर अघि बढेका हौँ। तर, अदालतबाट ओलीको कदम सच्चिएर आउँछ भन्नेमा ढुक्क छौँ’, उनले भने। 

ओलीको कदमविरुद्ध बनेको विपक्षी गठबन्धन अहिले सुरुवात मात्रै भएको जनता समाजवादी पार्टी जसपाको नेता राजेन्द्र श्रेष्ठ पनि बताउँछन्। उनी भन्छन्, ‘माधव समूह एमालेमै एकताबद्ध भयो भने त्यो उहाँहरूको आन्तरिक कुरा हो। तर, हामीले ओलीको कदमविरुद्ध बनाएको गठबन्धन रोकिँदैन।’

प्रधानमन्त्रीले अदालतको फैसला आउने बेला भएपछि नेता नेपाल समूहलाई अल्मल्याउन खोजेको आरोप लगाए। 

‘विपक्षी गठबन्धन संविधान लोकतन्त्रको रक्षाका लागि गठन भएको हो। उहाँले अहिलेको व्यवस्थामै संकट ल्याउने कदम चाल्ने प्रयास गर्नुभएको छ। हामी उहाँको कदमलाई परास्त गर्न यो गठबन्धनले निरन्तर दिन आवश्यक छ। र दिन्छौँ पनि’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.