|

झापा : कचनकवल गाउँपालिका-६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल दंगालले पदबाट राजीनामा दिएका छन्। 

सार्वजनिक खरिद ऐन विपरीत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दै खुलाएको १५ दिने सिलबन्दी बोलपत्र (कोटेसन) मा सूचनादेखि दर्तासम्मको प्रक्रिया नीति नियम मिचेर गरेको अन्य फर्मलाई टेन्डर स्वीकृत गरेको विषयमा थाहाखबरमा समाचार प्रकाशित भएपछि पार्टीसहित चौतर्फी दबाबपछि दंगालले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

अध्यक्ष दंगालले आफ्नो स्वास्थ्य अवस्था देखाउँदै कचनकवलको शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रुपमा पत्राचार गर्दै राजीनामा दिएका शाखाका प्रमुख छवि बस्नेतले जानकारी दिए। 

‘अध्यक्ष ज्युले बुधबार शाखामा आएर पत्र बुझाउनुभएको छ, उहाँले अध्यक्षको जिम्मेवारी तत्काल समितिका सदस्य रुपा गौतमलाई दिनुभएको पत्रमा उल्लेख छ,’ शाखा प्रमुख बस्नेतले भने। 

शिक्षा शाखाले नै उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्ति गरेका थिए। दंगाल राप्रपा निकट कार्यकर्ता हुन्। विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष नचुनिएसम्म सदस्य गौतमले नै कार्यवाहक अध्यक्षको जिम्मेवार पूरा गर्ने जनाइएको छ। 

गाउँपालिकाले विद्यालय अध्यक्षको जिम्मेवारी दंगाललाई दिएदेखि नै विद्यालयको आन्तरिक गतिविधिहरू पटक पटक विवादित बन्दै आएको स्थानीयवासीको दाबी छ। 

संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई ६ लाख ५० हजारको कार्यक्रम परेको थियो। त्यसपछि विद्यालयले असार ३ गते इन्टरेक्टिभ प्यानल बोर्ड एक थान, स्मार्ट टिभी दुई थान, ल्यापटप एक थान, प्रोजेक्टर एक थान, कम्प्युटर सामग्री राख्ने दराज एक थान र कम्प्युटर टेबल एक थान खरिदका बोलपत्र आव्हान गरेका थिए। 

सो टेन्डर प्रक्रिया नीति नियम मिचेर दर्ता नभएको बोलपत्रदातालाई दिएको भन्दै अन्य बोलपत्रदाताहरूले विरोधमा उत्रिँदै शिक्षा शाखा र गाउँपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

त्यसको भोलिपल्ट शिक्षा शाखाका प्रमुख बस्नेत नेतृत्वमा गएको तीन सदस्यीय छानबिन समितिले विद्यालय पुगेर टेन्डर प्रक्रियासम्बन्धी सम्पूर्ण खातापाता जाँच गर्दा टेन्डर प्रक्रिया नै त्रुटि भएको ठहर गर्दै सम्पूर्ण प्रमाणित कागजात लिएर छानबिन थालेको थियो।

यता छानबिनको घेरामा परेका प्रधानाध्यापक रवि बुढाथोकीको विषयमा अहिलेसम्म ठोस निर्णय हुन नसकेको शाखा प्रमुख बस्नेतले बताए। उनलाई पदमा राख्ने वा नराख्ने विषयमा छानबिन समितिले गाउँपालिकालाई प्रतिवेदन बुझाएपछि मात्र टुङ्गो लाग्ने उनको भनाइ छ। 

प्रधानाध्यापक बुढाथोकीले मागे पत्रकारसँग माफी 

समाचारको विषय लिएर थाहाकर्मीलाई विद्यालयका प्रधानाध्यापक बुढाथोकीले लिखित स्पष्टीकरणसहित विद्यालयमा हाजिर हुन भनी पत्र काटेका थिए।प्रधानाध्यापक बुढाथोकीले सो स्पष्टीकरणको पत्र सामाजिक सञ्जालमा हालेका थिए। त्यसपछि सो घटनाको भर्त्सना गर्दै पत्रकार महासंघसहित पत्रकारका संघसंगठनहरूले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका थिए। 

नेपाल पत्रकार महासंघ झापा, प्रेस सङ्गठन झापा, प्रेस चौतारी, प्रेस क्लब भद्रपुर, खोज पत्रकारिता मञ्च चन्द्रगढी र सञ्चार क्लब गौरदाहले  छुट्टाछुट्टै विज्ञप्ति निकालेर प्रधानाध्यापक बुढाथोकीको सो कार्यशैलीप्रति विरोध जनाएका थिए। 

प्रधानाध्यापक बुढाथोकीको यस्तो कार्य अहमताको पराकाष्ठा भएको र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठहर गरेका छन्। प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा बहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पुर्‍याउने कार्य आफैँमा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो,’ भन्दै सबै संघसंगठनले निकालेको विज्ञप्तिमा यही आशय थियो।

पत्रकार महासङ्घसहित संघसंगठनहरूले विज्ञप्ति निकालेपछि विद्यालयका प्रधानाध्यापक बुढाथोकीले माफी मागेका छन्। 'लक्ष्मी माविले कुनै पनि कार्य एकल निर्णयबाट नभएर विद्यालय व्यवस्थापन समितिको निर्णयबमोजिम नै हुने गर्दछ, यसमा मेरो व्यक्तिगत आग्रह वा पूर्वाग्रह रहँदैन,' उनले भनेका छन्। 

'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कोटेसन उपर विभिन्न सञ्चारमाध्यमबाट टीकाटिप्पणी आएकोले सो विषयमा जानी/नजानी प्रअको नाताले मैले पत्रकार नाम लेखेर गरेको हस्ताक्षरले स्वतन्त्र प्रेस र पत्रकारिताको क्षेत्रमा अहोरात्र खट्ने पेसागत सङ्घ सङ्गठनमा असर परेको भए नियतवश नभई अन्जानमा भएकोले व्यक्तिगत तर्फबाट क्षमायाचना गर्दछु,' भनी  विद्यालयको लेटर प्याडमा उनले हस्ताक्षर गरेको अपिल पत्रमा उल्लेख छ।

साथै प्रधानाध्यापक बुढाथोकीले थाहाकर्मी मण्डललाई फोन गरेर समेत माग मागेका छन्। स्मरण रहोस् यसबारे थाहाखबरले निरन्तर फलोअप गरिरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.