|

पाल्पा : तिनाउ गाउँपालिका–५ गिट्टीखानीका पाँच वर्षीय आरभ परियारको शव सात घण्टापछि फेला परेको छ। अविरल वर्षासँगै आएको पहिरोले बिहीबार बिहान चार बजे आरभलाई बगाएको थियो।

स्काभेटरको सहायतामा बालकको शव दिउँसो करिब २ बजे फेला परेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

घरभन्दा करिब डेढ सय मिटर तल कल्याणी आधारभूत विद्यालय नजिकै आरभको शव फेला परेको थियो। बिहान एक्कासी पहिरो आएपछि आरभ, बाबु रमेश र आमा पूजा परियारसँगै भागेका थिए। उनी आमाको हात समाउँदै ज्यान बचाउन भागिरहेका थिए।

अन्ततः पहिरोले भेट्टाइ छाड्यो। ‘आमाको हात समाउँदै भागेका रहेछन्। भाग्दै गर्दा बीच बाटोमा नै माथिबाट झरेको ढुंगा र गिट्टीसहितको पहिरोले भेटाएछ’ प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै ‘पचभैयाले भने’, ‘बुबाआमा बाँच्न सफल भए। आरभलाई पहिरोले बेपत्ता बनायो।’

गएराति आरभ बुबाआमासँगै सुतेका थिए। बिहान एक्कासी पहिरो आएपछि आरभ ज्यान बचाउन आमाको हात समाएर रुँदै भागेका थिए। उनीहरू तीनै जना विद्यालयतर्फ जाने बाटो हुँदै कुदिरहेका थिए। बीच बाटोमा पहिरो झर्‍यो। त्यही पहिरोले बालकलाई विद्यालयको दायाँतर्फ बगायो। बुवा आमालाई विद्यालयको बायाँतर्फ बगाएको अवस्थामा उद्धार गरिएको पचभैयाले बताए।

बुबाआमालाई घाइते अवस्थामा उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले फेला पार्न नसकेपछि स्काभेटरको सहायता लिनु परेको थियो। घाइते भएका आरभका बुवा रमेश र आमा पूजा परियारको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भएको छ।

रमेश सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। हिउँदे खोला किनारमा बस्दै आएको यो परिवारले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको थियो। अविरल वर्षासँगै आएको पहिरोले यहाँका ५ घर पुरिएका छन्। घर पूर्णरुपले क्षतिग्रस्त भएका छन्।

पहिरोमा पुरिएर सोही ठाउँका ४५ वर्षीय वीरबहादुर गुरूङको घटनास्थलमै मृत्यु भएको थियो। अन्य सातजना घाइते भएका छन्। घाइतेमध्ये ७५ वर्षीय सुन्दरी गुरूङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.