|

धनगढी : कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलीप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसँग २१ असार बिहान ११ बजे जामुन खान गए।

तर, जामुन खान गएका उनीहरू दुईमध्ये किशोरी घर फर्किइन्। विवेक आएनन्। किशोरी मात्रै घर फर्किएपछि विवकेका बुवाले खोजी गर्न थाले। तलासका लागि उनले इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। प्रहरीले खोजी कार्य तीव्र पार्‍यो। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले व्यापक खोजी थाल्यो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले खोजीका लागि कुकुर प्रयोग गर्‍यो।‌ विशेषज्ञ टोली पनि परिचालन गरियो। अनुसन्धानकै क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले पनि घटनास्थलमै पुगेर अनुसन्धान थाले।

प्रहरी अनुसन्धानकै क्रममा बालक जमरा कुलोमा परेको सम्भावना बलियो देखिएपछि चिसापानीस्थित जमरा कुलोको आउने पानीको ढोका बन्द गरियो। 

२३ असार साँझ साढे ५ बजे बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाढा टीकापुर नगरपालिका–४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला पर्‍यो।

शव फेला परेपछि घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने देखियो। जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गर्नुपर्ने भन्दै फेरी सूक्ष्म अनुसन्धान थाल्यो।

अनुसन्धानका क्रममा बालककी दिदीले प्रारम्भमा दिएको जानकारी विभिन्न तथ्यले गलत देखिएपछि प्रहरीको शंका ती दिदी भनिएकी किशोरीमाथि गयो।

घर फर्केकी किशोरीले बालक बेपत्ता भएपछि रूखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्दी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्। ती किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन्। 

तर, प्रहरी अनुसन्धानले भने उनले विवेकलाई घरभन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाएको दाबी गरेको छ। उनले कुलोको किनारमा पुगेपछि विवेकको खुट्टाबाट चाँदीको बाला निकालेर कुलोमा धकेलेको प्रहरी अनुसन्धानले बताएको छ।  

विवेकलाई कुलोमा धकेलेपछि उनी घर फर्किएकी थिइन्। घर आएर  बजारमा चाँदीको बाला बेच्ने प्रयास गरेको कुरा अनुसन्धानका क्रममा देखिएको कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चाँदीको बाला बेचेर दुवै जनाले काठमाडौं जाने सल्लाह गरेका थिए।

किशोरीले पारिवारिक रिसिइबीका कारण विवेकको योजनाबद्ध ढंगले हत्या गरेको प्रहरीले दाबी गरेको छ। एसपी अधिकारीले थप दुई जना शंकाको घेरामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘हत्यामा अन्य कुनै पक्ष पनि संलग्न छ कि भनेर अनुसन्धान भइरहेको छ’, एसपी अधिकारीले भने, ‘हामी अनुसन्धानको क्रममै छौं।’

विवेकको योजनाबद्ध ढंगले हत्या गरिएको प्रहरीको भनाइ छ। हत्या आरोपमा प्रहरीले दिदीलाई नियन्त्रणमा लिएको छ। उनीसँगै अर्की एक १४ वर्षकी किशोरी (उनकी साथी) लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उनकी साथीको हत्यामा प्रत्यक्ष संलग्नता नरहेको प्रहरीको निष्कर्ष छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.