वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह

|

काभ्रे : जिल्लाको बनेपा नगरपालिकास्थित पुल बजार डुबानमा परेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि पुण्यमाता खोलामा आएको बाढीले अरनिको राजमार्गअन्तर्गत पर्ने बनेपाको पुलबजार डुबानमा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पुण्यमाता खोलामा आएको बाढीले खोला छेउका बस्ती डुवानमा पर्नुका साथै राजमार्गमा आवतजावत गर्ने सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेका छन्। बाढीका कारण बनेपा, पनौती लगायतका सडकहरू समेत अवरुद्ध भएका छन्। बस्ती तथा राजमार्गमा जमेको पानी जेसिबी प्रयोग गरेर निकास दिने काम सुरू गरिएको प्रहरीको भनाई छ।

राजमार्गमा ठुला केही सवारी साधान चल्ने भए पनि प्रहरीले साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। वर्षात् सुरु भएसँगै हरेक वर्ष बनेपाको पुल बजार र त्यस क्षेत्रका राजमार्ग पानी जम्मा भएर अवरूद्ध हुने गरेको छ। राजमार्गमा जमेको पानीमा एक टिपर फसेका छन्। टिपरलाई निकाल्न जेसिबी ल्याएका छन्।

नगरपालिकाले खोलाको करिडोर निर्माण गरी त्यसको व्यवस्थापनमा समयमा नै ध्यान नदिँदा यस्तो समस्या भएको स्थानीयहरूले बताएका छन्। तर यो समस्या भने नयाँ नभई धेरै वर्ष पुरानो हो। प्रत्येक वर्ष नगरपालिकाले बजेट छुट्याउने भएपनि गुणस्तरीय काम हुन नसक्दा पुलबजारका स्थानीय र राजमार्गमा चल्ने सवारीले सस्ती खेप्न बाध्य छन्। त्यस्तै, पानीको उचित निकास अझै निकाल्न सकेको छैन। पुलाबजार डुबान हुँदा स्थानीयबासीले बर्सेनी लाखौंको क्षति व्यहार्नु परेका छन्।

पुर्व मन्त्री गोकुल बास्कोटाले पुण्यमाता करिडोरको उद्घाटन गरेपनि योजनाले पुलबजारलाई डुवान हुनबाट जोगाउन भने सकेको छैन। वर्षेनी हुने डुबानले पुल बजार देखि साविकको ईलाका प्रहरी कार्यालयको भवन रहेको ठाउँसम्मको सडक समेत क्षत विक्षत हुने गरेको छ। पुण्यमाता र चण्डेश्वरी खोला अतिक्रमणका कारण पनि बाढीले पुलबजार र आसपासका क्षेत्र डुवानमा परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.