|

'रूपचन' अर्थात रूपचन्द्र विष्टको जनजिब्रोमा भिजेको नाम। म उनलाई बाल्यकालदेखि श्रद्धापूर्वक रूपचनदाइ नै भन्थेँ। कारण, उनी मेरो दाइको साथी थिए।

आइएस्सी पास गरेपछि एक वर्ष खाली बस्नुपऱ्यो मैले, त्यत्तिकै लन्ठेर। साथीहरू उम्केर यताउति पढ्न जान भ्याइसकेका थिए। म लठुवा चाहिँ घरमै बसेर बजारिया (कमर्सीयल) उपन्यास पढेर दिन बिताउँदै थिएँ।

त्यसले गर्दा म 'डिप्रेशन’मा त गइनँ, तर बेस्सरी 'फ्रस्टेशन’मा चाहिँ थिएँ।

कामबाट फर्किने बित्तिकै एक दिन दाजुले सोध्नुभो, 'जीवन, तँ पालुङ्ग जान्छस्?'

'किन र दाजु,' मैले सोधेँ।

'उसको स्कूलमा म्याथ पढाइदिनुपऱ्यो भनेर पिट्टान दि'राख्या छ रूपचनले।'

'अनि म त मौका पाउनासाथ टाप कसिहाल्छु नि उता,' मेरो आशय विदेशतिर पढ्न जाने कुरामा थियो। 

कोठामा यस्सो आँखा घुमाएँ, एउटा सामान्य खाट छ, फर्निचर भन्नु विशेष केही नाई। एकदम सामान्य। भन्ने हो भने एउटा जोगीको कुटीजस्तो ! कुखुरा पालेका थिए। गन्ध आइरहेको थियो, नाक छेड्ला झैँ गरी। पुस्तकको चाहिँ ठूलै चांग थियो कोठामा, कुनै पुस्तकालय कोठामा पसेजस्तै। त्यति बेला त भाउजू पनि थिइन्। उनी नौ हो कि १० मा पढ्थिन्। बिर्सेँ मैले।

'त्यो सबै मैले उसलाई भनिसक्या छु, उसले पनि बुझ्या छ यो कुरो,' दाजुले भन्नुभो, 'तेरो कन्फर्मेशन आउने बित्तिकै खबर पठाउँला नि त, चिन्ता किन लिन्छस्?'

आत्तिनुपर्ने कुरै थिएन। कति टाढा थियो र पालुङ्ग? उऽऽ त्यही चन्द्रागिरी डाँडोको पल्लोपट्टी त हो नि! तर फोन थिएन अहिलेको जस्तो, त्यसैले जुम्ला गएजत्तिकै टाढा लाग्थ्यो।

मलाई खुसी नै लाग्यो। एक किसिमले र 'जान्छु' भनेर मुन्टो हल्लाएँ। आफ्नो रुचि अनुसारको एउटा काम त पाइयो !

यो २०२६ माघ महिनाको कुरो हो। पालुङ्ग जानुअघि रूपचनलाई भेट्न गएँ, कालीमाटीस्थित उनको निवासमा।

मैले लिएर जानुपर्ने कुराहरूको एउटा लिस्ट नै थमाइदिए मेरो हातमा उनले । साथै त्यहाँ गएर मैले कहाँ बस्ने, के खाने सबै बेलिबिस्तार सुनाइदिएँ।  मैले एउटा सामान्य परिवारमा बस्नुपर्ने थियो, त्यो घरको भान्सामा जे पाक्छ-त्यही खानुपर्ने थियो, नाकनुक नगरी।

उनले मलाई अर्थ्याउँदै भने, 'शहरजस्तो गाउँ हुँदैन हेर् बाबु। गाउँको रहनसहन बारे कति कुराहरू तँ आफै बुझ्छस् त्यहाँ गएपछि। त्यहाँ भात होइन, ढिँडो खानुपर्छ। तँ शहरे केटो भनेर भात देलान्, सावधान! म ढिँडो खान आएको, मलाई ढिँडो नै देओ भन्नू!'

दुधमा आँखा नगाड्नु, त्यो केटाकेटी र बुढाबुढीको भाग हो। दहीमा लोभ नगर्नु, त्यसबाट घिउ निकालेर त्यसलाई बेचेर उनेर्ले आफ्नो नुन-तेल-मसला-मट्तेलको जोहो गर्छन्। हो, मही चाहिँ जत्ति तन्काए'नि हुन्छ, त्यो बाइप्रडक्ट हो।

फाइदा पनि महीले नै गर्छ, दुध-दहीले भन्दा बेसी। रक्सी खाँदैनस् तँ, मलाई थाहा छ। रक्सी खानु हुँदैन, कहिल्यै नखाएस्। जाँड चैँ तन्काए हुन्छ, एक-दुई बटुका। राम्रै गर्छ। मकैको भ्याबर थाहा छ? त्यो गज्जबको पोसिलो हुन्छ। खूब हिँड्नू, शिखरकोट-दामन-सिमभन्ज्याङ्गको उकालो ओह्रालो खूब गर्नु। ज्यान बलियो हुन्छ। यो एउटा मौका हो तेरो लागि।'

उनले कति सजिलो पाराले मलाई एउटा जीवनोपयोगी सूत्र बताइदिए : 'ठाम अनुसारको माम हुन्छ र माम अनुसारको काम हुन्छ' अथवा यसलाई जुन कम्बिनेशनमा भने पनि हुन्छ !

ठाउँ अनुसारको भोजन नै सबभन्दा बढी प्रकृति सुहाउँदो भोजन हो वास्तवमा। त्यसपछि म जहाँ-जहाँ गएँ, त्यहाँ जे पाइन्छ-त्यही खाएँ, र निसंकोच खाएँ।

त्यसको केही महिनापछि म रूस गएँ। यो सूत्रले मलाई त्यहाँ निकै सजिलो भयो। देख्थेँ, कति जना साथिहरू खानेकुरामा नाकनुक गर्थे। म चाहिँ जे पनि खान्थेँ, मज्जाले।

ठाउँ अनुसार मैले त्यहाँ रक्सी पनि खाएँ, उनले नखानू भनेको कुरो। तर, गर्न नहुने काम के गरेँ भने, फर्केर आएपछि पनि रक्सी खान चाहिँ छाडिनँ, पछि जीवनको उत्तरार्धसम्मै।

फागुन सात गतेकै दिन म पालुङ्ग पुगेँ। रूपचन् भोलिपल्ट मात्र आइपुगे। उनी आएपछि स्कूलको शैक्षिक सत्र शुरू भयो। मलाई गणित पढाउने जिम्मा दिइयो-माथिदेखि तलसम्मै, सबै कक्षामा।

सञ्चालक समितिका मान्छेहरूसित रूपचन् भन्दै थिए रे, ‘एसएलसीमा बोर्ड ल्याएको केटो हो, सबै विषय राम्ररी पढाउन सक्छ। तर, यहाँ दुई-चार महिनामात्रै बस्ने हुनाले मैले उसलाई म्याथ मात्रै पढा र जतिसकेको त्यसैमा जोड दे भनेको छु। अझ विशेष गरी माथिल्लो कक्षालाई।’

यो कुरा मेरो कानमा परेपछि मैले जिम्मेवारीको सम्वेदनशीलतालाई गहिरोसित महसुस गरेँ र त्यसै अनुसार मैदानमा उत्रिएँ।

चार महिनापछि मैले स्कूल छोड्दा, नौ र १० कक्षाका विद्यार्थीहरूको गणितको कोर्स पूरा गर्दिसकेको थिएँ । स्तर पनि राम्रै थियो भनेर एसएलसीको नतिजाले बताएको थियो। एक किसिमले 'कोचिङ्ग प्रोग्राम’ जस्तो थियो त्यो।

एक दिन शनिबार दिउँसो, भेट हुने हो कि होइन भन्ने दुविधा मनमा लिएर, म उनीकहाँ गएँ। भेट भयो। बिदाको दिनमा प्रायः उनी घरमा हुँदैनन् भन्थे।

कोठामा यसो आँखा घुमाएँ। एउटा सामान्य खाट छ, फर्निचर भन्नु विशेष केही नाई। एकदम सामान्य। भन्ने हो भने एउटा जोगीको कुटीजस्तो ! कुखुरा पालेका थिए। गन्ध आइरहेको थियो, नाक छेड्ला झैँ गरी। पुस्तकको चाहिँ ठूलै चाङ थियो कोठामा, कुनै पुस्तकालय कोठामा पसेजस्तै।

​त्यतिबेला त भाउजू पनि थिइन्। उनी नौ हो कि १० मा पढ्थिन्। बिर्सेँ मैले।

मैले एउटा मोटो पुस्तक उठाएर ओल्टाइ-पल्टाइ गरेँ र पाना पल्टाउन थालेँ। रूपचनले मलाई गहिरिएर हेरिरहेका थिए। उनको हेराई असामान्य रूपले अलि गहिरो खालको हुने गर्थ्यो। कुनै सिद्ध महात्माको हेराई जस्तो, जसले व्यक्तिको बाहिरी आवरण मात्र होइन, त्योभन्दा धेरै भित्रको दृश्य देख्नसक्ने क्षमता राख्छ।

त्यसै कारणले होला, कतिपय मान्छेहरू उनको हेराइदेखि तर्सिन्थे र उनको अगाडि देखै पर्दैनथे। उनको हेराई निस्पट्ट अन्धकार कोठामा शक्तिशाली टर्च बालेर हेरेजस्तै हुन्थ्यो। अँध्यारोमा रम्नेहरू उज्यालोदेखि डराउने नै भए !

उनले सोधे मलाई, 'किताब कत्तिको पढ्छस्, जीवन?'

'पाए पढ्छु?' मैले भनेँ। 'पुस्तक पढ्छु भन्दैमा भयो र? पु्स्तक किन्ने पैसा खोई?'

'कुन कुन पढ्याछस्? कस्ता किताब मन पर्छन् तँलाई?'

साहित्यिक पुस्तकहरू र रूपरेखा जस्ता साहित्यिक पत्रिकाहरू पढन मनपर्छ भन्ने जवाफ दिएँ मैले। अनि उनले मलाई एउटा साह्रै गहकिलो शिक्षा दिए, जसलाई म अहिले पनि पालना गर्दैछु। र यही सूत्र अरूलाई पनि 'अर्ती’को रूपमा बताउने गरेको छु।

उनले भने, 'हेर् जीवन, साहित्यका नाममा यस्ता काम नलाग्ने मनोरञ्जक खालका उपन्यास-सुपन्यास पढेर हुँदैन। क्लासिकल किताबहरू पढ्नुपर्छ। क्लासिकल पुस्तकहरू गुलशन नन्दा (त्यति बेलाका लोकप्रिय लेखक; भनूँ न, अहिलेका चेतन भगतजस्ता) का उपन्यास जस्ता होइनन्। ती गहन हुन्छन्। पहिलोपटक पढ्दा कसैले बुझ्दैन। पटक-पटक पढ्नुपर्छ।

पढ्ने कसरी त? पुस्तकसँगै हातमा पेन्सिल ले, पेन होइन। नबुझेको जुनसुकै शब्द अथवा वाक्यको मुन्तिर चिन्ह लगाउँदै जा। अल्छी नमान्, झर्को नमान्। पेजको पुछारमा पुगेर हेर्दा अत्यास पनि लाग्ला : आम्मै, पूरै पेज लतरपतर फोहोर पो भएछ ! हुन दे। केही छैन। हुने यस्तै हो।

सबभन्दा टाउको दुखाई त कुन बेला हुन्छ भने आफूले फुट्टी नबुझेपछि अगाडि पटक्कै पढ्न मन लाग्दैन। तर म एउटा ठूलै काम गर्दैछु है भन्ने सोचेर पढ्दै जानुपर्छ, चिन्ह लगाउँदै जानुपर्छ।

२-३ महिना लगाएर यसरी लाइन-बाइ-लाइन पढिसकेपछि त्यो पुस्तकलाई अरू २-४ महिना बिर्सिदे। त्यसपछि दोस्रो पटक पढ्न शुरू गर्दा हातमा पेन्सिलसँगै इरेजर पनि लिनुपर्छ। पहिलो पटक नबुझेका केही कुराहरू अब बुझ्न थाल्छस्। जे-जे बुझ्छस् मेट्दै जा।

यसरी ३-४ पटक पढेपछि बल्ल त्यो विषय के हो भन्ने 'थाहा’ पाउँछस्। सोध्लास्, यत्रो ग्याप किन चाहियो? चाहिन्छ। 'क्लासिकल वर्क’हरू पढ्ने मात्र होइन, पढेर त्यसलाई मनन गर्नुपर्छ, त्यसमाथि चिन्तन गर्नुपर्छ र विचार-मन्थन गर्नुपर्छ दही मथेर घिउ निकालेजस्तो। त्यसले के हुन्छ भने थाहा नपाउँदो तरिकाले तेरो चेतना बढ्छ।'

अहिले आएर सोच्छु, कति ठूलो व्यावहारिक शिक्षा दिएका रहेछन् उनले मलाई। साँच्चै मैले यसलाई आफ्नो जीवनमा लागू गर्न सकेको भए म अर्कै मान्छे हुन्थेँ।

यति भनेर उनले मेरो हातमा त्यही पुस्तक, जसको पाना म पल्टाउँदै थिएँ, थमाइदिए र भने, "लौ, यसैबाट शुरू गर्!" त्यो चार्ल्स डार्विनको प्रसिद्ध पुस्तक 'दी ओरिजिन अफ स्पिसीज’ थियो।

मैले पढ्न त पढेँ, उनले भनेकै जसरी पढेँ, तर कति बुझेँ, कति बुझिनँ, त्यसको निर्क्यौल मैले आजसम्म गर्न सकेको छैन। तर यति चाहिँ मैले बुझेँ, त्यो के भने 'सिरियस' किताबलाई सिरियस तरिकाले नै पढ्नुपर्छ।

यो नै मैले उनीबाट पाएको ठूलो शिक्षा हो। चेतना त्यत्तिकै बढ्दैन। त्यसको लागि तपस्या गर्नुपर्छ। चेतना बढाउने खालका गम्भीर विषयका पुस्तकहरू पढ्नु भनेको तपस्या गरेजस्तै हो, एक किसिमले।

एक दिन उनको कार्यकक्षमा, अर्थात् प्रधानाध्यापकको कार्यकक्षमा, उनले मलाई बोलाउन पठाए। म गएँ। उनी केही लेखापढी गर्दै थिए। म चाहिँ प्रश्नवाचक दृष्टिले उनलाई हेरिरहेको थिएँ।

फाइल बन्द गरेर फुल्टिनको बिर्को लगाउँदै उनले मलाई एक्कासी सोधे, 'पाँच वर्ष बस्ने हो यहाँ? तलब डबल गरिदिन्छु, तर कागज गर्नुपर्छ तैँले।'

म आफ्नो उद्देश्यमा खम्बाजत्तिकै दृढ थिएँ। त्यसैले, नअलमलिई जवाफ दिएँ, 'हुन्न दाइ, पढाइ बिगारेर म यहाँ बस्दिनँ, पैसा जति दिए पनि। यहाँ आउँदै मैले दाजुलाई भनेको थेँ यो कुरा।'

'हो, मलाई थाहा थियो, तँ मान्दैनस्। यता केही दिनदेखि यिनीहरू (सञ्चालक समितिका सदस्यहरू) मलाई कचकच गरिरहेका थिए। अब, तिमीहरूले नै मनाउन सक्छौ भने मनाएर राख त्यसलाई भन्दिन्छु।'

उनले मलाई भाइसरह माया गर्थे। मेरो 'करियर'मा किन बाधा पुऱ्याउँथे र उनले !

हेर्नेहरूले रूपचन्द्रलाई बाहिर हाडेओखर जस्तो कडा देखे पनि भित्र गुदीमा उनी साह्रै नरम थिए, नौनीजस्तै। एक दिनको कुरो हो, उनको कोठामा उनले मलाई एउटा फोटो देखाउँदै भने, 'यो फोटो केको हो? भन्न सक्छस्?' यसो हेरेँ, कालो भुइँमा केही सेता रेखाहरू खिँचिएका छन्, एउटा बिन्दुलाई केन्द्र बनाएर। भनूँ , ब्ल्याकबोर्डमा एउटा बिन्दुलाई केन्द्र बनाएर सेतो चकले केही 'कन्सेन्ट्रिक सर्कल'हरू खिँचिएका छन् त्यहाँ।

मैले भनेँ, 'अहँ, मैले बुझ्न सकिनँ दाइ, के को हो।'

'उ त्याँ माथि टावर छ नि, दामनमा। हिजो राती मैले त्यहाँ गएर खिचेको फोटो हो यो।'

अब, मेरो दिमागमा झिलिक्क बत्ती बल्यो, 'ए, राति ताराहरूको फोटो खिच्नुभो दाइले,' मैले जिज्ञासा राख्दै भनेँ। तर कसरी? मैले मनमनै आफैलाई सोधेँ।

'हो, क्यामेरा लिएर गा'थेँ, राती, सुत्नुअघि, त्यसलाई आकासतिर फर्का'र खुल्लै छाडिदिएँ र आफू सुतेँ। भोलिपल्ट बिहान हेर्दा यस्तो फोटो देखियो।' उनी वैज्ञानिक प्रयोगहरू पनि गरिरहन्थे र नतिजा हामीजस्तालाई पनि बताउँथे।

'पोलोराइज्ड क्यामेरा थाहा छ? हो, त्यही क्यामेरामा पोलराइज्ड फिल्म हालेर खिचेको फोटो हो यो। ताराहरूले चक्कर लगा'का होइनन् यहाँ, हाम्रो पृथ्वी घुमेको हो,' उनले अर्थ्याए। 

छक्क पर्थेँ म, उनलाई थाहा नभएको र नजानेको मानौँ कुनै विषय नै थिएन। मलाई त्यस्तै लाग्थ्यो। पछि गएर मान्छेले उनलाई केके भन्न थाले केके। जो बाहिर बोक्रा मैं लट्पटिएको छ, त्यसमै रमाएर बसेको छ, त्यसैलाई संसार ठानेर बसेको छ, उसलाई भित्र गुदीमा के छ भन्ने के थाहा?

जे होस्, मेरो लागि यो नौलो कुरो थियो। यसै सन्दर्भमा क्यामेराले कसरी काम गर्छ, क्यामेरामा फोकस, स्पिड र एपेर्चरका काम के-के हुन्, अनि राम्रो फोटो निकाल्नका लागि स्पिड, एपेर्चर, र फोकसलाई कसरी एडजस्ट गर्ने भनेर क्यामेराको मोटामोटी थ्योरी नै सिकाए उनले मलाई। उनले सिकाएको कुरो मलाई पछि काम लाग्यो। अहिलेको जस्तो गूगल र युट्युबबाट सिक्ने जमाना थिएन त्यो।

स्कूल र कलेजमा पढाइसम्बन्धि कुराहरू पढेँ मैले, तर 'जीवन' पढन पाएको थिइनँ। तर रूपचनदाइसँग चार महिनाको त्यो सङ्गतले मलाई केही मात्रामा भए पनि जीवन सिक्ने मौका मिल्यो।

एक दिन हामी स्कूलको प्राङ्गणमा घाम तापेर गफ गर्दै थियौँ। उनले भने, 'आज हावामा धुलो निकै कम रहेछ।" मैले सोधेँ, 'कसरी दाइ?' पऽऽरको डाँडा देखाउँदै उनले भने, 'छ्याङ्ग छ . . . हेर्, उ त्यो डाँडा कति नजिकै देखिएको छ आज !'

हो त, कति नजिकै देखिएको साँच्चै !

त्यसपछि उनले एउटा घटना सुनाए मलाई, उनी हिमाल आरोहणमा जाँदाको घटना। हिमाल चढ्न पनि भ्याएका रहेछन्, बाबै ! म छक्क परेँ !

कुरो पूर्वतिरको कुनै हिमालको हो, जसको नाम मैले बिर्सेँ अहिले। उनीहरू त्यसको बेसक्याम्पमा थिए। उनलाई नजिकैको एउटा चुचुरोले साह्रै आकर्षित गऱ्यो। उनले सहयात्री शेर्पा दाइलाई सोधे, 'दाइ! मलाई भन त, दिनभरिमा हामी त्यो चुचुरोमा पुग्न सक्छौँ?' शेर्पा दाइले उनलाई एकछिन ट्वाल्ल हेरेर भनेछन्, 'त्यसको फेदीमा पुग्न हामीलाई यहाँबाट तीन दिन लाग्छ।'

'यति नजिकै छ त !' उनले भनेछन्।

'छैन नजिकै। नजिक देखिएको हो। हिमालमा यस्तै हुन्छ,' शेर्पाले भनेछन्, 'थाहा छ त्यो कुन हिमाल हो? त्यो मकालु हो।'

एकपटक हामी पालुङ्गको शिखरकोट बजारबाट चिया खाएर माथि दामन-सीमभञ्ज्याङ तिर लाग्यौँ। हामी गफ गर्दै गर्दै हिँड्दै थियौँ। उनी हिँडिरहेका थिए उनको आफ्नै स्वाभाविक गतिमा, तर म चाहिँ उनको पछि स्याँ-स्याँ गर्दै दौडिरहेको थिएँ। कत्रो 'स्टेमिना’उनको !

छक्क पर्थेँ म, उनलाई थाहा नभएको र नजानेको मानौँ कुनै विषय नै थिएन। मलाई त्यस्तै लाग्थ्यो। पछि गएर मान्छेले उनलाई केके भन्न थाले केके। जो बाहिर बोक्रा मै लटपटिएको छ, त्यसमै रमाएर बसेको छ, त्यसैलाई संसार ठानेर बसेको छ, उसलाई भित्र गुदीमा के छ भन्ने के थाहा?

जसको आँखाले रूपचन्द्र विष्टलाई राजनीतिमा 'फिट हुन नसक्ने', अझ कतै पनि फिट हुन नसक्ने एउटा 'एसेन्ट्रिक’ व्यक्ति देख्थ्यो। उसलाई के थाहा रूपचन्द्र एउटा औसत विद्वानभन्दा माथि थिए, ज्ञानी थिए र सामान्यभन्दा परको एउटा 'जिनियस' थिए।

केही मान्छेहरू युगभन्दा अगाडि बाँचेका हुन्छन्। उनी तिनीहरू मध्येकै एक हुन। मलाई लाग्छ, उनलाई चिन्न र बुझ्न हामीलाई अझै समय लाग्नेछ।

(नोटबुकको पानाबाट)

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.