|

जुम्ला : बिरामीको उपचार गर्न स्थापना भएका दुर्गमका स्वास्थ्य संस्था बिरामी जस्तै छन्‌।

भौतिक पूर्वाधार अभाव हुँदा स्वास्थ्य चौकीको अवस्था बिरामीकै जस्तो बनेको हो। जुम्लाको हिमा गाउँपालिका-६, महाबैपातरखोलामा रहेको स्वास्थ्य चौकीमा खाने पानी छैन। बिजुली व्यवस्था छैन। इन्टरनेट चल्दैन।

'जसकारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ, एउटा स्वास्थ्य चौकीमा हुनुपर्ने कुनैपनि पूर्वाधार छैन,' स्वास्थ्य चौकी इन्चार्ज टेकबहादुर बुढाले भने, ‘दुर्गमका स्वास्थ्य चौकीमा पूर्वाधार अभावले आफैँ बिरामीजस्ता छन्, स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ।'

स्वास्थ्य चौकीले दिनुपर्ने सेवा सबै दिने गरिएको, तर पूर्वाधार अभाव हुँदा प्रभावकारी स्वास्थ्य सेवा दिन कठिनाइ भइरहेको उनले बताए। 'महाबैपातरखोला स्वास्थ्य चौकीले ओपिडी सेवा, गर्भ जाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेको छ। स्वास्थ्य चौकीले दिने सबै सेवा दिन कुनै कञ्जुस्याइँ हुँदैन,' बुढाले थपे। 

पूर्वाधार अभावका कारण सोचे अनुसारको सेवा उपलब्ध गराउन नसकिएको जनाउँदै स्वास्थ्य चौकीको सामाजिक लेखापरीक्षण कार्यक्रममा उनले जनतालाई स्वास्थ्य अधिकारको अनुभुति दिन हर प्रयास जारी राखेको बताए। 

सुत्केरी गराउने बेला मोबाइलको टर्च बाल्नुपर्छ  

बत्ती नहुँदा सुत्केरी गराउने बेला मोबाइलको टर्च बालेर सेवा दिनुपर्ने अवस्था रहेको सिनियर अनमी जयलक्ष्मी रावतले बताइन्।

उनले भनिन्, 'अहिलेसम्म स्वास्थ्य संस्थाबाट २५ देखि ३० जनाले सुत्केरी सेवा लिएका छन्‌। बर्थिङ सेन्टरमा बत्ती हुँदा समस्या भएको छ। रातिको समयमा सुत्केरी गराउनुपर्ने महिला आए कठिन हुने गरेको छ।' 

बर्थिङ सेन्टरमा न खानेपानी छ, न त तातोपानी तताउने सामग्री नै! ‘जटिल प्रकृतिका सुत्केरी आएको खण्डमा घरबाटै पानी तताएर ल्याउनुपर्ने अवस्था छ। यो दुर्भाग्यपूर्ण छ,’ रावतले भनिन्‌।

भौगोलिक विकटताका कारण स्वास्थ्य चौकी गर्भ जाँच गराउन आउनेको संख्यामा कमी आउने गरेको स्वास्थ्य स्वयंसेविका सम्झना शाहीले बताइन्‌। उनले भनिन्, ‘सुत्केरीलाई स्वास्थ्य संस्थासम्म लैजान स्ट्रेचर पनि छैन।’

कोरोनाका बेला स्थानीयलाई घरमै गएर स्वास्थ सुरक्षाका मापदण्डहरू पालना गर्न सुझाव दिइएको उनी बताउँछिन्। 'गर्भवती र सुत्केरीका लागि रातदिन खटिँदै आएका छौँ,' उनले भनिन्, ‘भौगोलिक रूपमा विकट भएपनि सेवा दिने हिसाबमा निकट हुने गरेका छौँ।’

हिमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन रावत स्वास्थ्य संस्थामा औषधिको कुनै पनि अभाव हुन नदिएको बताउँछन्‌। बेलाबखत औषधिको उपलब्धताबारे अनुगमन गरिरहेको उनको भनाइ छ। 'अब स्वास्थ्य चौकीमा आमा घर स्थापना गर्न आग्रह गरिरहेका छौँ,' उनले भने, ‘स्वास्थ्य संस्थाको सेवाप्रवाह सहज बनाउन र औषधि अभाव हुन नदिन सदैव क्रियाशील नै छौँ। ’

स्वास्थ्य संस्थामा बिजुलीको अभावले समस्या हुने गरेको गुनासोको सम्बोधन गर्दै उनले तत्काल एउटा सोलार व्यवस्थापन गर्न सकिने बताए। 'पहिले टर्च उपलब्ध गराएका थियौँ,' उनले भने, ‘अहिले सोलार दिन तयार छौँ। स्वास्थ्य शाखाको सम्पर्कमा आउनुहोला।’

हिमा गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर रावतले स्वास्थ्य संस्थामा समुदायको असहयोग भएको दाबी गर्छन्‌। भन्छन्‌, ‘जति सेवा प्रवाहबारे चासो राख्छन्, उति स्थानीय नागरिक संवेदनशील हुँदैनन्।’

'स्वास्थ्य चौकीमा बिजुली र खानेपानी व्यवस्थापन गरिएको छ,' वडाध्यक्ष रावतले भने, ‘खानेपानी खान र बत्ती नबाल्दै बिग्रने गरेको देखिएको छ।' उनले स्वास्थ्यकर्मी, स्थानीय नागरिक र वडाबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए।

हिमा गाउँपालिका १ मा रहेको स्वास्थ्य चौकी बड्कीको अवस्था पनि दयनीय नै छ। खानेपानी, बत्ती र पर्खालको अवस्था नाजुक देखिएको इन्चार्ज शुक्रराज शाहीले बताए। 'अन्य सेवाप्रवाह स्तरीय छ, तर पूर्वाधार अभावका कारण सोचेजति सेवा उपलब्ध गराउन सकिएको छैन,' उनले भने।

स्वास्थ्य संस्थाले राम्रो सेवा दिने गरेको शिक्षक खाम्मा शाही बताउँछन्। स्वास्थ्य चौकीमा अपुग दरबन्दी भौतिक पूर्वाधारमा राजनीतिक दल, स्थानीय र स्थानीय सरकारको भूमिका अपरिहार्य रहेको उनी बताउँछन्।

गाउँ कार्यपालिका सदस्य रतिमान कामीले स्वास्थ्य संस्थामा खानेपानी, बत्ती र पर्खालका विषयमा समन्वय भइरहेको बताए। नेपाली कांग्रेसका प्रतिनिधि पूर्णबहादुर शाहीले स्वास्थ्य संस्थामा देखिएको समस्या तत्काल सम्बोधन हुनुपर्ने धारणा राखे। यी समस्या समाधान स्थानीय सरकारले गर्नुपर्नेमा उनले जोड दिए। 

'स्वास्थ्य संस्थामा एम्बुलेन्स अनिवार्य हुनुपर्छ, त्यो पनि स्थानीय सरकारले गर्न सकेको छैन,' उनले भने, ‘विकासका नाममा भ्रष्टाचारउन्मुख हुने सरकार स्वास्थ्य संस्थाको लागि विमुख बनेको छ।’

हिमा-१ का वडाध्यक्ष मुनिराम रावतले स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सन्तोषजनक प्रगति भइरहेको बताए। बर्थिङसेन्टर लागू भएसँगै मातृमृत्युदर घटेको उनले बताए।

उनले आफ्नो कार्यकालभित्रै खानेपानी, बत्ती र पर्खाल घेरबार पूरा गरेर छाड्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.