मारिसकेपछि टुक्रा-टुक्रा गरेर विभिन्‍न स्थानमा गाडेको आशंका

|

जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शवको मूल भाग पनि भेटिएको छ। आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको ट्यांकीबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पार्न सफल भएको छ। अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दूरीमा रहेको खेतमा असार १३ गते अगाडि उत्खनन गर्दा सुजिताको शरिरका केही अवशेष फेला परेको थियो।

​सोही दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो। उनी दुवैजना प्रहरी हिरासतमै रहेको र उनीहरूसहित ६ जनाको संलग्नता देखिएको बताइएको छ।

प्रदेश प्रहरी, संघीय प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज राय र गुञ्जा रायको संयुक्त मिहिनेतको प्रतिफलमा यो ठूलो सफलता हात पारेको छ।

यो घटनाको सूक्ष्म अनुसन्धानका लागि अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज रायले निरन्तर दबाब दिँदै आएका थिए।

प्रदेश प्रहरीका डिएसपी ज्ञानकुमार महतो, संघीय प्रहरीका डिएसपी छेदीलाल कामती, टेक्निकल सपोर्टमा असई विशंभरनाथको संयुक्त प्रयासमा सुजिताको शव खोजी गर्न सफल भएको हो।

सुजिताको शवको खोजतलास लगभग एक महिनादेखि भइरहँदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन् गरेर गहीरो खाडल खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भेट्टाएको थिएन।

सुजिताको घरपरिवारले घरमै हत्या गरेर शवको टुक्रा टुक्रा बनाई दुई तीन ठाउँमा शव गाडेको अवस्था देखिएको प्रहरीले जनाएको छ। सुजिताको हत्याबारे उनकै ५ वर्षीय छोराले खुलाएपछि माइतीपक्ष र सामाजिक अभियन्ता सरोज रायको दबाबमा प्रहरीले खोज तलास सुरु गरेका थिए।

सुजिताको श्रीमान मुकेश ठाकुर र देवर रुपेश ठाकुर पक्राउ गरिए पनि सुजिताको ससुरा पतिराम ठाकुर, सासू  र देवरानी रोमा ठाकुर भने अहिले पनि फरार रहेका छन्। उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ।

                                                                           मृतकका बाबु-आमा शोकाकुल अवस्थामा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.