हेभी मोटरबाइक कुदाउने सपना थाँती राखेर पर्वतारोहण

|

इलाम :  १३ मे १९९२ पोलिस पर्वतारोही वान्डा रुटकिविक एउटा महत्वपूर्ण सफलताको नजिक थिइन्। विश्वका ८ हजार मिटरमाथिका १४ मध्ये ७ अग्ला हिमाल आरोहण गरेकी वान्डा ८ औं सफलताको लागि कञ्चनजंघाको शिखर चुम्ने लक्ष्यमा साथ यात्रामा थिइन्।

करिब ७ महिना अघि मात्र दक्षिणी मोहडाबाट विश्वको १० औं अग्लो अन्नपूर्ण उक्लिँदै सफलता हात पारेकी उनी कञ्चनजंघाको शिरमा पाइला राख्नसमेत उत्साहित थिइन्। कञ्चनजंघाको उनको ‘ड्रिम प्रोजेक्ट’समेत थियो। मेक्सिकन पर्वतारोही कार्लोस कार्सोलियासँग कञ्चनजंघा चुम्न वान्डा अघि बढेकी थिइन्।

बिहानको साढे ३ बजे ७ हजार ८ सय ५० मिटरको उचाइमा रहेको क्याम्पबाट उनले यात्रा सुरु गरेकी थिइन्। करिब १२ घन्टाको आरोहणपछि कार्लोसले त्यो वर्ष कञ्चनजंघाको शिखर चुम्ने एक मात्र आरोही बन्ने सौभाग्य पाइन्। तर वान्डा फर्केर आइनन्। कञ्चनजंघाको काखमा सधैंका लागि उनले विश्राम लिइन्।

अन्तराष्ट्रिय संचारमाध्यम टिभिपी स्र्पोटमा प्रकाशित समाचारअनुसार कार्लोसले अन्तिम पटक देख्दा वान्डा ८ हजार २ सय मिटरमाथि प्वाल छेउमा विश्राम गरिरहेकी थिइन्। उनीसँग पानी थिएन। तर आराम गरेर भोलिपल्ट कञ्चनजंघाको उचाइ चुम्ने दृढ संकल्प थियो। वान्डाको अठोटपछि कार्लोस फर्किएका थिए।

कञ्चनजंघा आरोहणको क्रममा उनले अन्तिम स्वास लिइन्। वान्डाको शव आजसम्म भेटिएको छैन। हिमालसँग वान्डाको अगाध प्रेम थियो। त्यसकारण आफ्नै प्रेमीको काखमा सदाका लागि विलिन् भइन्। हिमाल आरोहणमा २५ वर्ष बिताएकी वान्डाले केही मुख्य सफलतापछि आफ्नो योजनालाई सन् १९९० मा ‘काराभान अफ ड्रिम्स’ को रुपमा व्याख्या गरिन्।

उनले एक वर्षको अवधिमा ६ वटा हिमालको सफल आरोहण गर्ने घोषणा पनि गरेकी थिइन्। ‘कुनै पनि महिलाले अहिलेसम्म गरेका थिएनन्। म पहिलो हुन चाहन्छु’, वान्डाले भनेकी थिइन्। वान्डाको लक्ष्य धवलागिरि (८१६७), मनास्लु (८१६३), मकालु(८४८५), ल्होत्से (८५१६), ब्रोड पिक (८०५१) र कञ्चनजंघा(८५८६) थिए। उनको महत्वपूर्ण लक्ष्य भने कञ्चनजंघा नै थियो।

कञ्चनजंघाको यात्रामा बिलाएकी वान्डा साहसिक महिला थिइन्। आरोहणको बारेमा वान्डा भन्थिन्, ‘मैले शारीरिक स्फूर्तता, ताजा हावा, सौहार्दता र उत्साहलाई प्रेम गरें।’

उनी विश्वको शिर सगरमाथाको सफलतापूर्वक आरोहण गर्ने जापानी जुनको तावाई र तिब्बती फान्तोङपछिको तेश्रो महिला हुन्। यदि ४९ वर्षीया उनको कञ्चनजंघा यात्रा सफल हुँदो हो त विश्वको तीन शीर्ष अग्ला हिमाल आरोहण गर्ने एक्ली महिला हुने थिइन्। १६ अक्टोबर १९७८ मा सगरमाथाको सफल आरोहणको १० वर्षपछि आरोहणको दृष्टिकोणले संसारकै सबैभन्दा कठिन मानिने माउन्ट केटु (अष्टिन गड्विन) चढ्ने पहिला महिला बनिन्।

उनले बिनाअक्सिजन माउन्ट केटुको यात्रा गरेकी थिइन्। केटु आरोहणका क्रममा उनले आफ्ना दुई साथी लिलियन र मौसिर ब्यारार्डलाई गुमाउन पुगिन्। तर आफ्ना गन्तव्यका अडिग भइ सफलता हात पार्न सफल भइन्। उनको पहिलो प्रमुख अभियान आन्द्रेज जावडाको साथ पमीर पर्वतमा थियो, जुन उनलाई पुरुष पर्वतारोहीसँगको कठिन सम्बन्धका कारण अप्रिय लाग्यो। त्यसकारण विशाल हिमालमा उनी प्राय एक्लै यात्रा गर्न मन पराउँथिन्।

मोटरसाइकल छाडेर पर्वतारोहण

पर्वतारोहणभन्दा अघि वान्डाको रुचि हेभी मोटरबाइक गुडाउनुमा थियो। तर, १९६१ को त्यो संयोगवशको भेटले उनको रुचि मोडिदियो। गर्मी महिनाको एक दिन हाइवेमा दौडिरहेकी उनको मोटरसाइकलमा तेल सकियो।

तेलका लागि धेरैलाई सहयोग मागिन्। कसैले पनि सहयोग गरेनन्। एउटा मोटरसाइकल उनी भए ठाउँमा आएर रोकियो। जो रोकियो उसँग वान्डामो गहिरो मित्रता भयो। त्यो मानिस पर्वतारोहरणमा रुचि राख्थे। त्यही मित्रताले वान्डालाई समेत हिमाल आरोहणमा तान्यो।

दुवै मिलेर फाल्कन पर्वत चढे। त्यसपछि पहाड र हिमालसँग वान्डाको त्यो माया बस्यो, जसका लागि उनले आफ्नो ज्यान समेत दिइन्। इलेक्ट्रिकल इन्जिनियरिङमा ग्रेजुएट वान्डाले २५ वर्षे आरोहण अवधिमा आफ्ना ३० जना साथीहरु गुमाइन्।

सन् १९९५ मा इटालिनय पर्वतारोही फोस्टो डे स्टेफनी, मार्को गालेजी र सिल्भियो मोन्डिनेलीले उनको शव पहाडको दक्षिण पश्चिममा फेला पारेका छन् भन्ने सोचाइ थियो।

यद्यपि कपडाको रंग र शरीरसँगै बुल्गेरियाले बनाएको ट्याब्लेटको कारण इटालियन पर्वतारोहीले फेला पारेको शरीर योर्डान्का डिमिट्रोभाको हो भन्ने सम्भावना देखिएको छ। जो अक्टोबर १९९४ मा हिमस्खलनबाट मारिन पुगेकी थिइन्। कञ्चनजंघाको शिरमा वान्डा पुगेकी थिइन् कि थिइनन् भन्ने अहिलेसम्म पुष्टि भएको छैन।

यदि उनी पुगेकी हुन् भने विश्वको तीन वटा अग्ला हिमालको शिर चुम्ने पहिलो महिला वान्डा नै हुन्।  १६ अक्टोबर २०१९ मा वान्डाले सगरमाथा आरोहण सम्पन्न गरेको। ४१ वर्ष पूरा भएको अवसरमा उनको सम्झनामा गुगलले डुडल नै बनाएको थियो। जहाँ हिउँले भरिएको हिमाल डोरीको सहायताले एक महिला चढेको तस्बिर देखाइएको थियो।

वान्डाले आफ्नो जीवनकालमा ८ हजार मिटर माथिका सगरमाथा (८८४८), माउन्ट केटु (८६१४), चोयु (८१८८), नागा पर्वत (८१२५), अन्नपुर्ण (८०९१), ग्यासब्रम–१ (८०८०), ग्यासब्रम–२ (८०३५) को सफलतापुर्वक आरोहण सम्पन्न गरेकी थिइन्। त्यसका अतिरिक्त विभिन्न देशका हिमालसमेत उनले सहजै चढेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.