सरकारले जग्गा मुआब्जा विवादसमेत सल्ट्याउन सकेन
सरकारले जग्गा मुआब्जा विवादसमेत सल्ट्याउन सकेन
काठमाडौं : कोटेश्वरस्थित तीनकुनेमा रहेको खाली जग्गा बेलाबखत चर्चामा आउँछ। त्यहाँ कहिले ‘आधुनिक बगैंचा’ बनाउने, कहिले ‘तीनकुने शान्ति मण्डल’ त कहिले बुद्ध पार्क निर्माण बनाउने योजना अघि सार्ने गरिएको छ।
सोही खाली ठाउँलाई विदेशी पाहुना हुन् या सर्वसाधारण - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै हवाइ मार्गबाट आवतजावत गर्ने सबैले आकाशबाट समेत देख्छन्।
तीनकुने चोकमा उपयोगी पूर्वाधार बनाउने सरकारको योजना भने योजनामै सीमित भएको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ को बजेटमै त्यस ठाउँमा आधुनिक पार्क बनाउने योजना समेटेको थियो। यस्तो योजना ल्याएको सात वर्ष बितिसकेको छ। तर, योजना कागजमै सीमित छ।
महानगरपालिकाले ‘कोटेश्वर तीनकुने पार्क निर्माण’ शीर्षकमा एक करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको थियो। पछि महानगरपालिकाले त्यस ठाउँमा बुद्ध पार्क बनाउने योजना ल्यायो। सोही अनुरूप त्यसको प्रारम्भिक ढाँचाबारे छलफल गर्याे।
एक अर्ब २३ करोड ४६ लाख ७५ हजार ८९४ रुपैयाँ ८ पैसा लागतमा पार्क बनाउने प्रारम्भिक प्रस्ताव पनि गरिएको थियो। आर्किटेक्टस् डिजाइन एशोसियट्सले महानगरमा प्रस्तुत गरेको डिजाइनमा पार्कको मध्य भागमा १६ मिटर अग्लो बुद्ध मूर्ति राख्ने प्रस्ताव गरेको छ। पार्क र बाहिरी भागको बीचमा पानीको फोहराले सिमाना बनाउने ढाँचामा उल्लेख छ।
फोहरा बनाइसकेपछि पार्कभित्र बस्ने मानिसलाई बाहिरी सवारी साधनको हल्लाले असर नगर्ने, भित्र बस्ने मानिसले केवल पानीको कलकल आवाज मात्र सुन्ने भएकोले पार्क प्राकृतिक हुने दाबी गरिएको छ। पार्कभित्रको पार्क शंख चक्र पार्क, भूमिगत पार्किङ र २०० जना व्यक्तिले एकैपटक योग गर्न सक्ने योग कक्ष प्रस्तुत डिजाइनमा समावेश गरिएको छ।
त्यहाँ घुमिसकेपछि आगन्तुकको मन शहरी कोलाहल र तनावबाट मुक्त हुनेछ। तर, यी डिजाइन पाँच वर्षदेखि डिजाइनमै सीमित भएको छ। अहिले त्यहाँको खाली जग्गामा झार बढेर जंगलजस्तै भइसकेको छ। सर्वसाधारणले सो स्थानलाई शौच र सवारी पार्किङ स्थलका रूपमा प्रयोग गरेका छन्।
२०७५ सालको भदौमा भएको बिमस्टेक सम्मेलनमा विदेशी पाहुनाले कुरुप दृश्य नदेखुन् भनी चौरको चारै भागमा मौलिक पहिचानको चित्रले घेरिएको थियो।
जसमा हिमाल, पहाडी भू–भागलाई चिनाउने चित्र, उपत्यकाका सम्पदा झल्किने त कुनै लालीगुराँस, गौतम बुद्ध, जंगली जनावर र ताल-तलैयाको फोटो राखिएको थियो। सोही बेला अलपत्र खाली जग्गा पाहुनालाई नदेखाउन र लाज छोप्न सरकारले यसो गरेकाे भन्दै आलोचना पनि भयो।
सरकारले बजेट छुट्याएमात्र पार्क बन्ने
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले मात्रै पार्क बनाउन नसक्ने बताए। भने, ‘त्यस जग्गामा आधुनिक बुद्धपार्क बनाउने योजना पहिले नै ल्याइएको हो, तर जग्गा विवादका कारण अहिलेसम्म बुद्ध पार्क बन्न सकेको छैन।’
उनका अनुसार ५० रोपनी भन्दा बढी त्यहाँ खाली जग्गा छ। महानगरपालिकाले अझै २२ रोपनी जग्गाको मुआब्जा दिनसकेको छैन। ‘अरूले मुआब्जा बुझिसके, २२ रोपनी जग्गा धनीले अहिलेको चलनचल्तीको मूल्य माग गरेर मुआब्जा लिएका छैनन्, महानगरपालिकाले अहिलेको मुल्यमा दिन सक्दैन, सरकारले नै यसका लागि व्यवस्था गरे मात्रै समस्या समाधान हुन्छ,’ प्रवक्ता डंगोलले भने।
सरकारसँग मुआब्जा नबुझेसम्म केही काम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘मुआब्जा सरकारले दिनुपर्ने हो,’ उनले भने, ‘हामीले मुआब्जा लागि अर्थ मन्त्रालय लगायत सरकारी निकायलाई अनुरोध गरिरहेको छौँ, सरकारले जग्गाधनीको चित्तबुझ्दो पैसा दिए पार्क बनाउन सकिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।