|

अर्घाखाँची : लुम्बिनी प्रदेशमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएको झण्डै ५ महिना बितिसकेको छ। तर, दोस्रो डोजको अझै टुंगो छैन। पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो खोप लगाईसक्नु पर्छ। तर पहिलो डोज लगाएको १६ हप्ता काटिसक्दा पनि खोप नआएपछि यहाँका नागरिक कोरोनाबाट बच्न नसकिने भन्दै चिन्तित भएका छन्।

लुम्बिनी प्रदेशमा भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका २ लाख ७८ हजार ४ सय ७६ जना दोस्रो खोपको पर्खाईमा छन्। गत २०७७ सालको फागुन महिनाको अन्तिम हप्तामा कोभिशिल्ड खोपको पहिलो डोज लगाएको झण्डै ५ महिना पूरा हुनै लाग्दा पनि दोस्रो खोप लगाउन नपाएपछि बढ्दै गएको कोरोना महामारीका बेला नागरिक त्रसित  भएका छन्।

नागरिकको चिन्ता

उनीहरुले कोभिशिल्डको दोस्रो डोज खोपको माग गर्दै नागरिकलाई कोरोनाबाट बचाउन नेपाल सरकारलाई आग्रहसमेत गरेका छन्। पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो खोप लगाईसक्नु पर्छ। तर पहिलो डोज लगाएको १६ हप्ता काटिसक्दा पनि खोप नआएपछि मनमा चिन्ता बढेको स्थानीय ७८ वर्षीय तिलकुमारी बेल्बासेको गुनासो छ।

समयमै दोस्रो डोज खोप लगाउन नपाएपछि आफू असुरक्षित हुन सक्ने उनले बताइन्। उनी मात्र होइन, एउटा मात्रै खोप लगाएर बसेका ७५ र ८६ वर्षका टामलाल भट्टराई र खिमानन्द पौडेलको पीडा पनि उस्तै छ। उमेरले ८६ वर्ष पार गरिसकेका स्थानीय खिमानन्द पौडेलले भने, ‘अझै केही वर्ष बाँच्ने आशा त छ। तर यस्तो कोरोनाको महामारीबाट ओखती नपाएपछि कसरी बाँचिएला?’

भर्खरै ७५ वर्षमा टेकेका टामलाल भट्टराई पनि निकै चिन्तित छन्। उनने भने, ‘अहिलेसम्म त खासै शरीरमा रोग छैन तर कोरोना लाग्यो भने बाँचिदैन भन्छन् तर यसको औषधि पनि पाइदैन रे, जनतन भारतबाट आएको एउटा खोप लगाएको थिँए।’

नआत्तिन आग्रह

समयमा कोभिशिल्ड खोप नआएर पहिलो डोज मात्र लगाएर आत्तिएर बसेका नागरिकलाई नआत्तिन चिकित्सकले सुझाव दिएका छन्। पहिलो खोप लगाएको ६ महिनासम्म पनि उसले बनाएको ईम्युनिटी रेस्पोन्स कायमै रहने भएकाले अर्को खोप  लगाउदा शरिरमा रोग सँग लड्ने प्रतिरोधात्मक क्षेमता थप भएर जाने लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशानालयका निर्देशक डाक्टर विनोद कुमार गिरीले बताए।

उनले भने, ‘नेपालमा अध्ययन भएको त छैन तर विश्वमा भएको अध्यनलाई हेर्दा भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिड शिल्ड’ खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म  र चाइना कम्पनीले उत्पादन गरेको भेरोसेल खोप ४ देखि ६ हप्ताभित्र लगाउनुपर्ने देखिन्छ तर नेपालमा त्यो संभव भएन।’ जुन देशले खोप उत्पादन गर्छ, त्यही देशका नागरिकले खोप नलगाई अरू देशमा नपठाउने भन्ने त्यहाँको अदालतको निर्णयका कारण हामी जस्ता किनेर खोप लगाउने राष्ट्रको अवस्था नाजुक रहेको बताए।

उनले भने, ‘किनेर पनि नपाउँदो रहेछ, यो सरकारले गरेन भन्दा पनि नभएर नल्याएको हो,व्यक्ति तथा समूहलाई दोष दिएर हुँदैन।’

लुम्बिनी प्रदेशमा भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोपको दुबै डोज पुरा गरेका नागरिकको संख्या ८४ हजार ३ सय ६३ जना रहेका छन्। त्यस्तै चाईनाले उत्पादन गरेको भेरोसेल खोपको दुवै डोज पुरा गरेका ५१ हजार ६६  जना रहेका छन्। प्रदेशमा कोभिशिल्ड र भेरोसेल खोपको दुवै डोज पूरा गरेका १ लाख ३५ हजार ४ सय २९ जना रहेका छन्।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशानालयको तथ्यांकअनुसार भेरोसेल खोपको पहिलो डोज मात्र खोप लगाएका ७३ हजार ८ सय ८४ जना ६२ देखी ६४ बर्ष उमेरका नागरिक भएपनि पछिल्लो समय चाईनाबाट आएको भेरोसेल खोप लुम्बिनी प्रदेशमा १ लाख ५२ हजार ४ सय डोज खोप आएपछि यही असार २२ गते बाट ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई दोस्रो खोप लगाउन सुरु भएसँगै भेरोसेल खोपको पहिलो डोज मात्र लगाएका नागरिकको संख्या प्रदेशमा शून्य जस्तै छ। तर, प्रदेशका १२ ओटा जिल्लाबाट सबै विवरण आउन बाँकी रहेको स्वास्थ्य निर्देशानालयले जनाएको छ।

नेपालमा भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोपको दुवै डोज पूरा गरेका नागरिकको संख्या ४ लाख ६० हजार ७ सय ३४ जना रहेका छन्।

चाइना कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको मात्रा दुबै डोज पूरा गरेका ५ लाख ५६ हजार ८ सय ६२ जना रहेका छन्। नेपालमा पहिलो डोज कोभिशिल्ड खोप लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना र भेरोसेल खोपको पहिलो डोज मात्र लगाएका ७ लाख ८३ हजार ३ सय २३ जना गरी २६ लाख ११ हजार ८ सय ७ जनाले पहिलो डोज मात्र लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.