सेन्टर भन्छ : तीव्र गतिमा काम गरिरहेका छाैं, समस्या छैन

|

काठमाडौ : आइतबार दिउँसो १२ बजे कतार भिसा सेन्टर (क्युभिसी) को कार्यालय चक्रपथ पुग्दा २५ वर्षीय रेश्मा तामाङ लाइन बसिरहेकी थिइन्। रोजगारीको खोजीमा कतार जाने तयारीमा रहेकी रेश्मा आइतबार पाँचौ पटक स्वास्थ्य परीक्षण अर्थात् मेडिकल गर्न चक्रपथ आएकी हुन्। 

रौतहट घर भएकी रेश्मालाई क्युभिसीले वैदेशिक रोजगारीमा कतार जान ३ महिनादेखि अल्मल्याउँदै आएको छ। पहिलो पटक गत वैशाखमा हातमा पासपोर्ट बोकेर स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएकी तामाङ अहिले पनि स्वास्थ्य परीक्षणको पालो कुर्दै लाइनमा छिन्।  

तीन महिनाको अवधिमा ५ पटक स्वास्थ्य परीक्षण गरेकी उनी विदेश जान पाएकी छैनन्। सेन्टरको सिस्टममा  समस्या देखिएकाले तपाईंको रिपोर्ट आएन भन्दै पाँच पटकसम्म बोलाइरहेको रेश्मा बताउँछिन्। भन्छिन्, ‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन,सेन्टरको  सिस्टमको समस्याका कारण मेरो समय र पैसाको नास भयो।’

रेश्मा २ दिनसम्म सुन्धाराको एक होटलमा बसिन्। उनलाई काठमाडौ धेरै महँगो लाग्यो। काठमाडौंमा आफन्त नभएपछि उनी रौतहट फर्किइन्। घर गएको केही समयपछि क्युभिसीले उनलाई फेरि बोलायो। 

आफ्नो स्वास्थ्यमा समस्या नभएको र सेन्टरकै सिस्टममा समस्या आएको उनको दाबी छ। सेन्टरले आफूलाई पटक पटक दुःख दिएको समेत उनले गुनासो गरिन्।

'यसरी ओहोरदोहोर गर्दा गर्दै ५ पटकमा कम्तीमा पनि ५० हजार सकियो,' उनले भनिन्। पारिवारको आर्थिक अवस्था कमजोर भएकी उनी विदेश जाने सपना लिएर काठमाडौं आए पनि निराश छिन्। भन्छिन्, ‘सरकारले रोजगारी दिन सक्दैन,श्रम बेचेर खान्छु भन्दा पनि पाइनँ।’ 

सोही लाइनमा  विराटनगर घर भएका विवेक शाह पनि हातमा राहदानी बोकेर बसिरहेका थिए। उनी पनि तेस्रो पटक स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका थिए। रगतमा इन्फेक्सन देखाएर फर्काइएको उनले बताए।  

त्यस्तै धादिङ घर भई हाल कपन बस्दै आएका अशोक घिमिरे पनि चौथो पटक स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका हुन्। रिपोर्टमा के समस्या छ भनी सोध्दा पनि उत्तर नपाएको घिमिरे गुनासो गर्छन्। 

उल्लिखित पात्रहरू प्रतिनिधि मात्र मात्र हुन्। सो लाइनमा हालमा राहदानी बोकेर बसेका अधिकांशले सोही समस्या भोगिरहेका छन्। वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण काठमाडौंमा मात्र हुँदा समस्या भएको उनीहरूको गुनासो छ। 

कतारमा कामदार पठाउन नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तर तर २०७५ सालदेखि सरकारले क्युभिसीबाट हुनुपर्ने बनाएको छ। 

तर नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष्य कमल तामाङ क्युभिसीले ५० हजार युवाको कतार जाने सपना चकनाचुर बनाएको आरोप लगाउँछन्। 

उनले भने, 'जबकि क्युभिसी स्थापना गर्दा पुनः परीक्षण  पनि सात दिनभित्र गरिसक्ने समेत बताइएको थियो। हाल दोस्रो पटक परीक्षण गर्न २० दिन कुर्नुपर्ने अवस्था छ। ‘क्युभिसी हाल राज्यभन्दा माथि छ।’

८० हजार मानिस क्युभिसीकै कारण कतार जानबाट वञ्चित भएको पनि उनले आरोप लगाए। दूर दराजबाट विदेश जाने सपना बोकेर आएका युवा २० दिनसम्म क्युभिसीको लाइनमा बस्दा उल्टै ऋणमा डुबेका पनि तामाङले बताए। भने, ‘२० दिन कुर्दा पनि कामदारको क्युभिसीको आफ्नो समस्याले फेरि मेडिकल रिपोर्ट फेल गराउँछ।’

तर क्युभिसी भने आफूहरूले काम तीव्र गतिमा भइरहेको दाबी गर्दै आएको छ।   

सिस्टममा समस्या भएर काम नरोकिएको यसका म्यानेजर प्रताप कुमार गुरुङ दाबी गर्छन्। भन्छन्, ‘स्वास्थ्य परीक्षण गर्दा गम्भीर देखिए रोकिन्छ,’ उनले थपे, 'कुनै रोग नै लागे पनि केही समय औषधि खाँदा निको हुने अवस्था हुन्छ, त्यस्ताको पुनः परीक्षण गर्न लगाएका छौं। अन्यथा रोकिएको छैन।’  

सेन्टरले समय र पैसाको बर्बाद गरेको भन्ने आरोप मात्र भएको गुरुङ बताउँछन्। कतार गएर गर्ने सम्पूर्ण स्वास्थ्य परीक्षण छिटो, छरिता र नेपालमा नै गर्ने भन्दै २०७५ मा क्युभिसीबाटै स्वास्थ्य परीक्षण सुरु‍ गरिएको  थियो।

यहाँ कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङको काम गर्ने भनिएको थियो। यसअघि ती सबै काम कतारमै हुने गर्थ्यो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.