|

चितवन : फोहोर व्यवस्थापनमा भरतपुर महानगरपालिका पूर्ण रुपमा असफल बनेको छ।

ल्याण्डफिल साइट बनाउने भरतपुर महानगरको योजना चार वर्षदेखि कागजमा सीमित बनेको छ। फोहोर फाल्न कतै पनि नपाएपछि अहिले चितवनकै मुटु नारायणगढ र भरतपुरका सडकमा फोहोर थुप्रिएको छ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनालाई बजारमा १४ दिनदेखि थुप्रिएको फोहोरले गिज्याइरहेको छ। फोहोरका कारण भरतपुर र नारायणगढ बजार क्षेत्र कुरुप बनेको छ। 

लामो समयदेखि थुप्रिएको फोहोरका कारण बजार जान सक्ने अवस्था नै नरहेको भरतपुर–२ क्षेत्रपुरमा बस्दै आएका टेकराज पोखरेलले बताए। ‘हप्तौँ भइसक्यो तर महानगरले फोहोर उठाएको छैन। बाटोमा हिँड्दा पनि हातले नाक थुनेर हिँड्नु परेको छ’, उनी भन्छन्, ‘फोहोर व्यवस्थापनमा महानगर फेल भइसकेको उदाहारण हो यो।’

महानगरले भरतपुर–३ अन्तर्गत पर्ने नारायणी नदीको बीचमा बनेको टापुमा फोहोर फाल्दै आएको थियो। बर्खा सुरु भएपछि त्यहाँसम्म फोहोर बोक्ने गाडीहरू पुग्नै सकेनन्।

त्यसपछि महानगरले भरतपुर–२४ मा लगेर फोहोर फाल्यो। त्यहाँ पनि विवाद भएपछि भरतपुर–२३ मा फाल्न थालियो। स्थानीयले त्यहाँ पनि विरोध गरेपछि महानगर अहिले नयाँ ठाउँको खोजीमा छ।

भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले फोहोर फाल्ने स्थानको अभाव भएपछि फोहोर नउठेको बताए। फोहोर फाल्ने स्थानको खोजी भइरहेको भन्दै उनले केही दिनमा नै त्यसको पहिचान गरिने बताए।

‘फोहोर फाल्ने स्थान अभावका कारणले फोहोर नउठेको हो’, उनले भने, ‘नारायणीमा बाढी बढेपछि टापुमा फाल्न सकिएन। त्यसपछि भरतपुर–२४ धुव्र ल्याण्डफिल साइटमा फालिएको थियो। स्थानीयले विवाद गरेपछि भरतपुर–२३ मा फालियो। त्यहाँका स्थानीयले पनि विरोध गरेपछि फोहोर उठ्न रोकिएको हो।’

नारायणगढको पुल चोकबाट दक्षिणतर्फ भरतपुर–३ मा पर्ने नगर वन छेउमा नगरले एक दशकभन्दा बढी समयदेखि फोहोर फाल्दै आएको थियो। वडा कार्यालयले अघिल्लो वर्षदेखि त्यहाँ फोहोर फाल्न रोक लगाएको हो। 

ल्याण्डफिल साइट निर्माण गर्न सरकारले भरतपुर महानगरलाई भरतपुर–२ आँपटारीस्थित जलदेवी सामुदायिक वनको १५ बिघा जग्गा उपलब्ध गराएको छ। त्यस ठाउँमा ल्याण्डफिल साइट बनाउने योजनालाई महानगरकी मेयर दाहालले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रममा समावेश गरे पनि त्यसले मूर्तरूप लिन भने सकेको छैन। 

फोटोहरू

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.