तर उनीहरू भन्छन् : उमेर पुगेपछि फेरि एक हुन्छाैं

|

धनगढी : प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका कैलालीका प्रकाश विश्वकर्मा र मालती रावलको जोडी अलग भएका छन्।

भजनी नगरपालिका–४ झलझलियाका प्रकाश र मालतीको उमेर नमिलेको भन्दै उनीहरूलाई अलग्याइएको हो। विवाह गर्न २० वर्ष उमेर हुनुपर्ने कानुनी व्यवस्था छ।

तर, मालती १८ वर्षीया र प्रकाश १९ वर्ष मात्र भएका कारण उनीहरू तत्कालका लागि अलग्गिएका हुन्। प्रहरीले दुवैलाई आआफ्नो परिवारको जिम्मा लगाएको छ। योसँगै तत्काललाई को यात्रामा ब्रेक लागेको छ।

उनीहरूले अन्तरजातीय विवाह गरेकोले ज्यान मार्ने धम्की आएको दाबी गर्दै असार २५ मा एक भिडियो सामाजिक संजालमा पोष्ट गरेका थिए। उक्त भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो।

भिडियोमा प्रकाशले अन्तरजातीय विवाह गरेपछि परिवारले स्वीकार नगरेको हुनाले जंगलमा बास बसेको बताएका थिए। मालतीले पनि धम्की दिएको बताउँदै जंगलको बास भएको उक्त भिडियोमा बताएकी थिइन्।

भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूबारे अनुसन्धान गरेको थियो। अनुसन्धान गर्दा उनीहरू असार ४ मा घरबाट हिँडेको र असार २३ मा साँझ कोहलपुरबाट घर फर्कँदा  कर्णाली पुल नजिकै जंगलमा भिडियो बनाएको खुलेको छ।

असार २३ मा प्रकाशको घरमा बसेकी किशोरीलाई आफन्तले लगेपछि प्रकाशले भिडियो पोष्ट गरेका थिए। रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जिवन बचाउन अपिल गरेका थिए। तर, अहिले त्यस्तो अवस्था नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए। 

एसपी अधिकारीले भने,‘तत्काललाई उनीहरू अलग भएका छन्। तर, त्यस्तो बाहिर भनिएजस्तो कसैमाथि कुटपिट भएको छैन। दुवै सुरक्षित छन् ।’मालतीका आफन्तले उनलाई यातना दिएको दाबी गरे पनि त्यस्तो नभएको एसपी अधिकारीले बताए।

प्रकाश भन्छन्न्– उमेर पुगेपछि पुनः एक हुन्छौं

घरबाट भागेर अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलको जोडीलाई अलग्याए पनि प्रकाशले भने उमेर पुगेपछि पुनः एक हुने बताएका छन्।

उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, ‘टीकापुर पार्कमा घुम्न गएका बेला एक वर्षअघि हाम्रो भेट भएको थियो, सोही बेलादेखि हामीबीच प्रेम सम्बन्ध थियो। दुवैको सहमतिमा हामीले बुटवल गएर विवाह गर्‍याैं। तर अहिले उमेर नपुगेको भनेर कागजपत्रसमेत नगरी उसलाई मबाट अलग गराइएको छ। हामी उमेर पुगेपछि फेरि एक हुन्छौं।’

आफूहरूलाई झुक्याएर कैलाली बोलाएर मालतीको परिवारले अलग गराएको प्रकाशको भनाइ छ। असार ४ गते घरबाट भागेर बुटवलको एक मन्दिरमा उनीहरूले अन्तरजातीय विवाह गरेका थिए।

केटी पक्ष भन्छ : जातीयताका कारण छुट्याएको होइन 

यता मालतीको परिवारले प्रकाशलाई कुनै कुटपिट तथा धम्की नदिएको दाबी गरेको छ। उनीहरूकै भविष्यका लागि एकअर्कालाई अलग गरेको परिवारको भनाइ छ।

उनका ठूल्बुवा गणेश रावलले जातीयताका कारण नभएर केटाकेटीको उमेर पनि नपुगेकाले उनीहरूकै भविष्य उज्जवल होस् भनेर अलग गर्न बाध्य भएको बताए।

रावलले छोरीलाई प्रकाशबाट छुट्याएर अन्य गतिविधि गर्ने उद्देश्य आफ्नो परिवारको नरहेको बताए। जातीयता प्रमुख कारण नभएको उनको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.