विपक्षीबिनै बजेट पारित, सरकारको चर्को आलोचना

|

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठकमा संसदीय मर्यादाविपरीत सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।

सोमबार बसेको संसद् बैठकमा प्रस्तुत विषयबाहिर गएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको हो। आइतबार प्रदेश सरकारले प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलको अनुपस्थितिमा बजेटको अभिन्न अंग विनियोजन विधेयक पारित गरेपछि सोमबार बसेको बैठकमा प्रतिपक्षी दलले सरकारको कदमको चर्को आलोचना गरे भने सत्तापक्ष सरकारको बचावटमा उत्रिए।

सभामुख सानु कुमार श्रेष्ठले संसदमा प्रस्तुत प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ माथि छलफल गर्न समय दिए पनि सो विधेयकमाथि छलफल नै नभई पारित भयो।

सभामुखले छलफलको लागि दिएको समयमा सत्तापक्ष र प्रतिपक्ष एकअर्काको आरोप प्रत्यारोपमा उत्रिएका थिए भने सभामुखको भूमिकामाथि पनि प्रश्न उठेको छ। प्रतिपक्षि दलको अनुपस्थितिमा सभामुखले बैठक चलाएर सत्तापक्षको इशारामा चलेको भन्दै विरोध भएको हो।

विवेकशील साझाको सांसद रमेश पौड्यालले सरकारले हतारिएर रातारात बजेट पास गरेको भन्दै आक्रोश पोखे। उनले संसदमा पेस गरिएको खर्च कटौती विधेयकलाई आफूहरूको अनुपस्थितिमा सभामुखले निष्क्रिय पारेको भन्दै सभामुखको अधिकारमाथि नै प्रश्न गरे। पौड्यालले भने, ‘ यदि सरकारले सही बजेट ल्याएको थियो भने यसरी हतार किन गर्नुपर्‍थ्यो? सरकारमा उज्यालोमा बजेट पारित गर्ने हिम्मत नभएर अँध्यारोमा पारित गरियो। यसरी पास गरिएको बजेटको घोर विरोध गर्दछु।’

अर्को प्रदेशसभा सदस्य नरोत्तम वैद्यले सभामुख सत्तापक्षको लाचार छाया बनेको भन्दै सभामुखको मर्यादामाथि प्रश्न खडा भएको बताए। उनले सभामुख निष्पक्ष बन्न नसक्दा प्रदेश सरकारले जबरजस्ती प्रतिपक्षीको अनुपस्थितिमा बजेट पास गरेको भन्दै सरकारको विरोध गरे।

वैद्यले बोलेलगत्तै नेकपा एमालेको मुख्य सचेतक दीपक निरौलाले रोष्टमबाट उठेर प्रतिपक्ष दलले सरकारमाथि उठाएको प्रश्न दिए। उनले बजेट एकैदिन पास गर्ने गरी सहमति भए पनि प्रतिपक्षले सत्तापक्षलाई जानकारी नगराई संसदबाट बाहिरएको भन्दै उनले सरकारकोतर्फबाट स्पष्टोक्ति दिए।

निरौलाले सरकारसँग सदन चल्न दिने सहमति गरेर प्रतिपक्ष सदन नसक्किकन संसदबाट बाहिरएको भन्दै सरकारको कामको विरोध नगर्न आग्रह गरे। उनले संसदमा विद्युत् आपूर्ति बन्द भए पनि केही समयमा आएको भन्दै प्रतिपक्षी आफ्नै ढंगले बैठकबाट बाहिरएको आरोप लगाए।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको सांसद रत्न ढकालले सरकारको जवाफ पार्टिको सचेतकले दिएको भन्दै आपत्ति जनाए। उनले सभामुखले प्रतिपक्षी दललाई बोलाउनु साटो सत्तापक्षको इशारामा सभामुखले बैठक चलाएको आरोप लगाए। ढकालले प्रदेश सरकारले सोमबार अदालतबाट फैसला आउने र पार्टी फुट्नसक्ने डरले रातारात बजेट पारित गरेको भन्दै आक्रोश पोखे।

उनले भने ‘भोलि अदालतको निर्णय आउँछ पार्टि फुट्छ भनेर बोलाको भए हामी आएर पास गर्दिन्थ्यौँ नि। यत्रो जालझेल गर्नुपयर्थ्यो र? ’ ढकालले प्रदेश सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेटको विनियोजन विधेयक पारित गरेको हिजोको दिन इतिहासको कालो दिन भएको टिप्पणी गरे। उनले सरकारले प्रदेशसभाको खिल्ली उडाएको भन्दै सरकारले ल्याएको बजेट स्विकार्य नभएको बताए।

सभामुखको मर्यादामाथि प्रश्‍न

यस्तै, प्रदेशसभा सदस्य विशाल खड्काले सभामुखले आफ्नो मर्यादा नराखेको भन्दै आपत्ति जनाए। उनले प्रदेश सरकारले जनता र लोकतन्त्रलाई हराएर बहुमतको दम्भमा रातारात बजेट पास गरेको भन्दै सरकारको चर्को आलोचना गरे।

खड्काले सरकारले विधिलाई मिचेर बजेट पास गरेको र सभामुख पार्टी विशेष बनेको आरोप लगाए। अर्की प्रदेशसभा सदस्य राधा घलेदे प्रतिपक्षी दलले संसद बहिष्कार गरेको नगरेको तर सरकारले झक्याएर बजेट पारित गरेको भन्दै विारेध गरिन्।

उनले सभामुखको भूमिका कमजोर हुँदा सरकारले एकलौटी ढंगले बजेट पास गरेको टिप्पणी गरिन्। 

संसदमै एमालेको गुगान

प्रतिपक्षी दलले सरकारको कदमको विरोध गरेपछि एमालेको सांसदले संसदमै पार्टीको गुणगान गाएका छन्। एमालेको सांसद नारायणबहादुर सिलवालले प्रतिपक्षले जति आलोचना गरे पनि कम्युनिष्ट पार्टीको झण्डा सधैँ फहराइरहने भन्दै पार्टीको प्रशंसा गरे।

उनले प्रतिपक्ष कमजोर बनेर सत्तापक्षलाई जानकारी नगराई संसदबाट बाहिरिएको भन्दै नेकपा एमालेको बयान गरे। सिलवालले नेकपा एमाले समाजवाद तर्फ हिडिरेहको भन्दै पार्टीको कुरा गर्न थालेपछि प्रतिपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। तर, सिलवालले आफू बोलेको बेलामा कसैले अवरोध गर्न नमिल्ने भन्दै लगातार बोलिरहे। त्यसपछि सभामुखले विषयवस्तुमा मात्रै केन्द्रित रहेर बोल्न आग्रह गरेका थिए।

के भएको थियो आइतबार?

प्रमुख प्रतिपक्षी दल र अन्य विपक्षी दलको अनुपस्थितीको मौका छोपेर प्रदेश सरकारले विनियोजन विधेयक पारित गरेको भन्दै प्रतिपक्षी दलहरू आक्रोशित बनेका छन्।  आइतबार बिहानदेखि बसेको संसद् बैठकमा पटक पटक प्राविधिक समस्या आएपछि प्रतिपक्षी दलहरूले संसद बैठक स्थगित गर्न आग्रह गरेका थिए। तर सभामुखले प्रतिपक्षी दलको आग्रहलाई अस्विकार गर्दै बैठक चलाएका थिए।

बैठकमा विनियोजन विधेयकमाथीको छलफलमा उठेको प्रश्नको जवाफ प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले दिने क्रममा विद्युत आपूर्ति बन्द भएको थियो। राति करिव ८ बजे विद्युत् आपूर्ति बन्द भएर संसद भवन अन्धकार भएपछि बैठक सोमबार बस्न आग्रह गर्दै प्रतिपक्षी दलहरू संसदबाट बाहिरिएका थिए।

तर करिब १० मिनेटपछि विद्युत आपूर्ति सुचारु भएपछि प्रदेशका सरकारले प्रमुख प्रतिपक्षी र अन्य विपक्षीको अनुपस्थितिमा नै विनियोजन विधेयक पारित गरेको थियो। संसदमा सत्तापक्षका सांसद र विपक्षमा नेमकिपाको २ जना सांसद मात्रै उपस्थित थिए।

अर्थमन्त्री कैलाश ढुंगेलले पेस गरेको विनियोजन विधेयकको पक्षमा सत्तापक्षको सांसद एकजुट हुँदा विधेयक बहुमतले पारित भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.