|

काठमाडौं : तरकारी फलफूलको मात्रै होइन अचेल अन्नमा पनि वर्णशंकर (हाइब्रिडड) जातले खेतबारी भरिभराउ छन्। परम्परादेखि खेती गर्दै आएका जातको सट्टामा उन्नत वर्णशंकर जातको बिउ प्रयोगले उत्पादन बढ्ने हुँदा किसान पनि यसतर्फ आकर्षित छन्।

तर, रैथाने जातको बिउ लगाएर खेती गर्नु जति सजिलो छ, उन्नत जातको बिउ लगाउँदा हुँदैन। रैथाने जातको तुलनामा उन्नत जातमा रोग‚ किराको प्रकोप धेरै हुने, मौसमी प्रतिकूलतासँग जुध्न नसक्नेदेखि सिंचाई ,मल र स्याहारसुसार समेत धेरै चाहिन्छ।

यी सबै चुनौती हुँदा पनि उत्पादन बढाउनै पर्ने हुनाले उन्नत जातको बाली लगाउनु अहिलेको बाध्यता हो। यही बाध्यताले होला कतिपय तरकारी‚ फलफूल र अन्नका रैथाने जातहरू हराउँदै गएका छन्। हराउँदै गएका जातमा पहाडमा हुने बाली झन् धेरै छन्। पहिलेको तुलनामा धानपछिको मकै र कोदोकै खेती घट्न थालेको छ।उवा, जौ‚ फापर, जुनेलो, चिनो, कागुनो, घैया, लट्टे, बेथे, मास, मस्याङ्ग, सिमी, बोडीलगायतका बालीका रैथाने जातहरू त लोपोन्मुख नै भइसकेका छन्। यी रैथाने अन्न‚ दालले मानिसको भोक मेटाउने, पेट भर्ने मात्रै होइन औषधिको पनि काम गर्छन् भन्ने कुरा कमैलाई थाहा छ।

सरकारले र सर्वसाधारणले समेत उन्नत जातको अन्नको बृद्धि विकास, प्रचारप्रसारमा जति महत्व दिएको छ‚ रैथाने जातलाई दिएको छैन। नेपालका पाका मानिसले यी रैथाने जातको औषधीय गुण र यिनीहरुले खाद्य सुरक्षा गर्छन् भन्ने जानिकन भविष्यमा आफ्ना सन्ततिलाई आवश्यकता पर्ला भनेर बिउ जोगाउन कै लागि थोरै भए पनि यस्ता सर्वगुण सम्पन्न बालीको खेती गरिरहेका छन्।

पछिल्लो समय वर्णशंकर बिउको खेतीबाट उत्पादित कृषि उपजले स्वास्थ्यमा दीर्घकालीन फाइदा गर्दैन भन्ने जानेर मानिसहरु रैथाने जातलाई परम्परागत विधि अपनाएर उत्पादित अर्गानिक कृषि उपजतर्फ आकर्षित भएपछि बिस्तारै लोप हुँदै गएको रैथाने बालीहरू फैलिन थालेको बताउँछन्। नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गतको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाका कार्यक्रम संयोजक कृषि वैज्ञानिक डा. सुभाष सुवेदीका अनुसार पहाडमा हुने धेरै बालीहरुको अध्ययन अनुसन्धान गरिने भए पनि दोलखाको काब्रेमा रहेको सो अनुसन्धान कार्यक्रमले विशेष रुपमा कोदो ,फापर र जौको अध्ययन‚ अनुसन्धान, नयाँ जातको सिफारिससँगै बिउको उत्पादन समेत गरिरहेको छ। 

सीमित जनशक्ति र स्रोतसाधनको बाबजुत पनि अनुसन्धान कार्यक्रमले कयौं बालीका जातको सुरक्षा गर्दै कोदो र फापरका नयाँ जात किसानका लागि सिफारिस समेत गरेको छ। सुवेदीका अनुसार अनुसन्धान कार्यक्रमले किसानलाई कोदोको बिउ त मागअनुसार पुर्‍याउनै सकेको छैन। मानिसको रुचि बढ्दो र बदलिँदो छ भएकाले नयाँ खोज र अनुसन्धान पनि जारी रहेको सुवेदीको भनाइ छ।  मौसम र माटोअनुसारको खेतीले मात्रै दीर्घकालीन फाइदा हुने र  यस्ता खेतीलाई बढाउनु पर्ने उनको जोड छ।

सरकारले कृषिमा नीतिगत सुधार गर्नुपर्ने र किसान हितका कार्यक्रमहरु थप्न उनको जोड छ। पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखाको काब्रेमा छ। कार्यक्रमले पहाडी बालीको अध्यन अनुसन्धान गरेर ती बालीको उपयुक्त जातहरुको सिफारिससँगै किसानको सम्पर्कमा रहेर सकेसम्म किसानलाई परेको समस्या र जिज्ञासा उपर सल्लाह सुझाव समेत दिने गर्दछ। 

कार्यक्रमा संयोजक डा. सुवेदीका अनुसार आवश्यक सल्लाह र जानकारीका लागि किसानले पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखाको मोबाइल फोन ९८५११२९७८५ मा सम्पर्क समेत गर्न सक्नुहुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.