|

डडेल्धुरा : कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचौं पटक प्रधानमन्त्री बनेका छन्। सुदूरपश्चिमको डडेल्धुरास्थिति गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका देउवा पाँचौं पटक देशको बागडोर सम्हाल्न सफल भएका हुन्।

देउवाको गृहजिल्ला सुदूरपश्चिम प्रदेशको मध्यपहाडी जिल्ला डडेल्धुरा हो। डडेल्धुराको पनि गन्यापधुरा गाउपालिका–१ रुवाखोला क्षेत्रको मटेला गाउँको एक घरमा देउवाको जन्म २००३ जेठ ३१ गते भएको थियो। तत्कालीन अवस्थामा असिग्राम गाविस थियो।

देउवाको गृहजिल्लालाई अहिले ‘हिलकुइन’ का रूपमा चिनिँदै गएको छ। सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला डडेल्धुराबाट नै भएर जानु पर्दछ। डडेल्धुरालाई देउवाको जिल्लासँगै कुनै समय आइएनजिओ, एनजिओको जिल्ला भनेर पनि चिनिन्थ्यो। तर, अवस्था फेरिएको छ।

त्यो बखत पाँचसय बढी गैरसरकारी संस्था रहेको डडेल्धुरामा अहिले यहाँ काम गर्ने गैरसरकारी संस्था आधा दर्जन मात्रै छन्।

मध्यपहाडी क्षेत्र अग्ला पहाड, भीर नभएको, दुन बेसीसँगै ७६ प्रतिशत जति भूभाग जंगलले घेरेको हुँदा जो कोहीलाई पनि डडेल्धुरा रमणीय लाग्छ। २०४८ सालमा गृहमन्त्री र २०५२ सालमा प्रधानमन्त्री भएका देउवाको जिल्लालाई त्यस बखत निकै विकास भएको जिल्लाका रूपमा हेरिन्थ्यो।

देउवाको जन्मथलो मटेला गाउँ, घरको भग्नावशेष मात्र बाँकी

देउवाको जन्मथलो जिल्ला सदरमुकाम बागबजारदेखि २० किलोमिटरको दूरीमा दक्षिण पूर्वतर्फ पर्छ। सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भीमदत्त राजमार्ग खण्डको शाहुखर्क–भातकाँडाभन्दा पूर्वतर्फ उत्तरतिर बग्ने रुवाखोला हो। यही रुवाखोलाको पनि पूर्वतर्फ मटेला गाँउ छ। मटेला गाउँमा नै देउवाको जन्म भएको थियो।

देउवाको जन्मघर अहिले भत्किएको अवस्थामा छ। २०५८ साल वैशाखदेखि यस्तै अवस्थामा छ। २०५८ वैशाख ४ गते देउवाका दाजुभाइलाई तत्कालीन विद्रोही माओवादीले घरबाट निकालेका थिए। ८ गते घरमा आगजनी गरेका थिए। त्यसयता सामान्य मर्मत नगर्दा घरको भग्नावशेष मात्र बाँकी छ।

उक्त भत्किएको घर पुनः निर्माणका लागि यस पटक पहल गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए। ‘ऐतिहासिक उक्त घर मर्मत तथा पुनः निर्माणका लागि अब उहाँलाई आग्रह गर्छु। यसपटक उक्त घर निर्माण हुन्छ’, उनले भने।

रुवाखोलासम्म भातकाँडा र शाहुखर्कबाट सडक खनिएको छ। भातकाँडादेखि रुवाखोलासम्म करिब १० किलोमिटर छ। यो सडक पुरानो सडक हो। अहिलेसम्म कालोपत्रेसमेत हुन सकेको छैन। दुई वर्ष पहिले शाहुखर्कदेखि पनि सडक खनिएको छ।

रुवाखोलामा एउटा स्वास्थ्य चौकी छ। वडा नम्बर १ भरी यो स्वास्थ्य चौकीसँगै तीनवटा स्वास्थ्य इकाइ र दुई वटा बर्थिङ सेन्टर छन्। जहाँ सामान्य उपचार मात्रै सम्भव छ। देउवाको जन्मथलो रहेको गन्यापधुरा– १ मा दुई वटा माध्यमिक, एउटा निम्नमाध्यमिक र दुई वटा प्राथमिक विद्यालय रहेका छन्। एउटा विद्यालयमा प्राविधिक धार तर्फको पढाइ सुरु भएको छ।

जिल्लाको विकासक्रम

डडेल्धुरा जिल्लाभरीमा नै सुविधा सम्पन्न स्वास्थ्य संस्था र शैक्षिक संस्था छैनन्। संघीयतापछि संघीय सरकार मातहतमा रहने गरी ‘डडेल्धुरा अस्पताल’ स्थापना भएको छ। यसअघि उप क्षेत्रीय अस्पताल थियो। तर, अस्पतालले जति दिनुपर्ने हो ती सेवा दिन सकेको छैन। कारण हो, दक्षजनशक्ति अभाव। र दरबन्दीअनुसार विशेषज्ञ डाक्टर नहुनु।

डडेल्धुराको अस्पतालको भौतिक संरचना अहिले निर्माण हुने क्रममा छ। जिल्लामा प्राविधिक शिक्षालय छैन। तत्कालीन अवस्थामा डडेल्धुरा शिक्षा क्याम्पसलाई निकै महत्वका रूपमा लिइन्थ्यो। आजभन्दा १०–१२ वर्षअघि क्याम्पसमा विद्यार्थीको चाप निकै बढी हुन्थ्यो। तर, अहिले शिक्षा क्याम्पसको औचित्य समाप्त भएर गएको छ। विद्यार्थीको संख्या निकै घटेको छ।

२०५२ सालमा जिल्ला सदरमुकाममा स्थापना भएको अमरगढी नगरपालिकामा संघीयतापछि वडा नम्बर २ को बागबजारभन्दा तल घटाल जाने बाटोमा चार सय मिटर कालोपत्रे भएको छ। यसअघि डडेल्धुरा–बगरकोट सडक खण्डको १० किलोमिटर सडक कालोपत्रे भएको छ भने थप १० किलोमिटर कालोपत्रे हुने चरणमा छ।

जिल्लाको सबैभन्दा पुरानो डोटीको बुडर–जोगबुडा सडक कालोपत्रे गरिँदै छ। पुरानो सडकमध्येको अर्को उग्रतारा–मेलौली सडक खण्डमा १० किलो मिटर कालोपत्रे भएको छ। १० किलो मिटर हुने चरणमा छ। पुरानै मध्येको अर्को पोखरा–बेलापुर सडक कालोपत्र हुने चरणमा छ। यी दुई सडक खण्डमा गतवर्ष मात्रै कालोपत्रेका लागि टेण्डर भएको थियो।

डडेल्धुरामा व्यवस्थित बसपार्क समेत छैन। बेला बेला एयरपोर्ट बनाइने चर्चा चले पनि यसको कामले गति लिन सकेको छैन। यस्तै जिल्लामा खेलकुदका लागि रंगशाला, कभर्डहल पनि बनाइएको छैन। जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पाँच मिटर चौडा मात्र कालोपत्रे सडक हुनु र सवारीको चाप बढेसँगै विस्तार नहुनुले डडेल्धुरा भएर ओहोरदोहोर गर्ने सबैले जामको सास्ती र दुर्घटनाको जोखिम मोल्नु परेको छ।

जिल्लाको भित्रीमधेसको जोगबुडा नगरपालिका, आलिताल गाउँपालिकासंगै भागेश्वर र नवदुर्गा गाउँकापालिकाका दर्जनौ बस्तीमा अहिलेसम्म पनि बिजुली पुगेको छैन। गाउँबस्तीमा ग्रामीण कच्ची सडक पुगाइएका छन्। तर, ती सबै सडक बर्खायाममा सञ्चालनमा आउँदैनन्। खानेपानी र सिँचाइको समस्या पनि त्यतिकै छ।

विकासमा ध्यान नदिएको आरोप

यी यावत समस्या भइरहँदा शेरबहादुरले जिल्लाको विकासमा ध्यान नदिएको यहाँका स्थानीयहरुले लगाउँदै आएका छन्।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भ्यू टावर, फिल्मसिटीलगायत मनोरञ्जनका भौतिक संरचनादेखि अन्य क्षेत्रमा अर्बौ रकम गृहजिल्ला झापाका लागि छुट्याएका थिए।

देउवाले शक्ति र नेतृत्वमा दीर्घकालीन रूपमा समुन्नत बनाउने गरी डडेल्धुरालगायत सुदूरपश्चिम क्षेत्रमा ठूला योजना आयोजनाहरु निर्माण हुन नसकेको गुनासो यहाँका बुद्धिजीवीहरूको छ।

कांग्रेसले भने सुदूरपश्चिमलाई राजधानी काठमाडौंसँग जोडेको भन्दै सुदूरपश्चिममा विकासको सुरुवात देउवाबाट भएको ठान्दै आएको छ। त्यस बखत देउवाको प्रयासमा कर्णालीलगायत त्यस यताका सबै मोटरेबल पुल सडक देउवाको तागतले निर्माण भएको कांग्रेस नेताहरूले दाबी गर्दै आइरहेका छन्।

देउवाबाट यहाँका नागरिकको अपेक्षा

पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाप्रति केही विकास र रोजगारीको आश डडेल्धुरालगायत सुदूरपश्चिमवासीमा पलाएको छ। ओली सरकारले देखाएको सपना र तत्कालीन अवस्थामा विपक्षी दलका रूपमा कांग्रेसले उठान गर्दै आएका मागहरू कांग्रेस आफैं सरकारमा पुगेकाले गर्ने तर्फ सबैको चासो बढेको छ।

सुदूरपश्चिममा विगत लामो समयदेखि चर्चामा रहेको पश्चिम सेतील, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायतका ठूलो विकास निर्णमका काम अघि बढ्ने अपेक्षा यहाँका नागरिकले लिएका छन्। डडेल्धुरामा मेडिकल कलेज, एयरपोर्ट, डडेल्धुराको अस्पतालको स्तरोन्नति हुने अपेक्षा गरिएको छ।

०४८ देखिका संसदीय निर्वाचनमा अपराजित रहँदै आएका छन्। २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भए। ०६४ र ०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर ४ र कैलाली ६ बाटसमेत विजयी भए।

डडेल्धुरामा देउवाले ०७४ मा छैटौं पटक चुनाव जितेका थिए। उनले ०४८ सालयताका सबै चुनाव जितेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.