कोभिड प्रकोपसँगै पूर्वाधारमा पछिल्ला समय आशलाग्दा काम भए

|

काठमाडौं :  सर्वोच्च अदालतले  कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै देशले नयाँ प्रधानमन्त्री पायो।

कोरोना संक्रमणले देश थलिरहेको बेला स्वास्थ्य मन्त्रालयलाई काम तथा जिम्मेवारी झनै बढी थपियो। 

तर कोरोनासँग जुध्ने फन्टलाइनरको रुपमा रहेको यो मन्त्रालयले प्रधानमन्त्री ओलीको कार्यकालमा राज्यमन्त्रीसहित मात्रै पाँच वटा नेतृत्व पायो। तर कसैको कार्यकालमा पनि मन्त्रालयले जस पाउन सकेन। 

उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयेश त्रिपाठी कोरोना संक्रमणले महामारीकै रुप लिएको बेला स्वास्थ्यमन्त्री भए। पछि केही समय शेरबहादुर तामाङ पनि स्वास्थ्यमन्त्री भए। एमाले नेत्री पद्मा अर्यालले समेत स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने माैका पाएकी थिइन्। 

यीमध्ये सबैभन्दा चर्चामा रहेका भानुभक्त ढकाल कोरोनाको पहिलो लहर सुरु भएका बेला स्वास्थ्य सामग्रीमा अनियमितताको भुमरीमा परे। उनकै पालमा ओम्नी प्रकरण भएपछि सरकार विवादमा तानिएको थियो। 

पहिलो र दोस्रो कोरोना लहरको बीचमा सरकारले एचडियु, आइसियु र भेन्टिलेटर किन्न छुट्याएको बजेटबाट अस्पतालहरूले समयमै खरिद गर्न सकेनन्। जसले गर्दा कोरोनाको दोस्रो लहर कष्टकर बन्यो। 

दोस्रो लहर आउनुअघि नै सरकार भारतको भर बढी पर्दा खोप अभियान प्रभावकारी हुन सकेन। भारतमा रहेको सेरम इन्स्टिच्युटले रकम लगेर पनि १० लाख डोज खोप दिएन, जसले गर्दा सरकार आलोचित बन्यो 

विश्व बजारमा खोपको व्यापारीकरणका कारण पनि नेपालमा खोप सहजै आउन सकेन। पटकपटक मन्त्री परिवर्तन र महामारी बढ्दै यो। तर यसबीचमा केही राम्रा काम पनि भए। फलस्वरूप पछिल्लो समय भने नेपालले चीन, अमेरिका र जापानबाट फरक फरक कम्पनीका खोप ल्याउन सफल भयो। तर यो अघिल्ला पटक भएका भन्दा पनि पछिल्लो समय उच्चस्तरीय कूटनीतिक पहलबाट सम्भव भएको थियो। 

संक्रमणको पहिलो लहरमा स्वास्थ्यकर्मीले लगाउने पिपिई मास्कसमेत जुटाउन नसकेर आलोचित बनेको स्वास्थ्य मन्त्रालयल अहिले दोस्रो लहर सकिँदा पनि स्वास्थ्य सामग्रीदेखि पर्याप्त खोप ल्याउन सकिरहेको छैन। तर हाल दाताहरूले खोप पठाउन थालेपछि मन्त्रालयको साख केही उचो भएको छ। 

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभागमा स्वास्थ्य पर्याप्त मात्रामा स्वास्थ्य सामग्री रहेको सरकारले जनाएको छ। खोप पर्याप्त भएकाले आवश्यक परेका बेला देशका जुनसुकै स्वास्थ्य संस्थाले खोप लैजान सक्ने विभागका कर्मचारीहरू बताउँछन्।

अब आउने स्वास्थ्यमन्त्रीलाई कति सहज?

यस्तो अवस्थामा अव स्वास्थ्यको जिम्मेवारी समाल्न आउने जुनसुकै मन्त्रीलाई पनि काम गर्न सहज हुने देखिन्छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उचित व्यवस्थापन गर्न सके यसअघिको जस्तो अभाव र आलोचना अब आउनेले खेप्न पर्ने छैन।

​‘अब स्वास्थ्य सामग्री केही अभाव छैन, खोप पनि विस्तारै आउन थालेको छ। तर अब आउने मन्त्रीले गर्नुपर्ने मुख्य काम भनेकै खोप आयातमा नियमितता गराउनु र धेरैभन्दा धेरै जनतालाइ खोप लाउनै हो।'

धेरैथरीका धेरै आए खोप 

नेपालमा हाल ५५ लाख नागरिकलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप आएको मन्त्रालय बताउँछ। सरकारले पछिल्लो समय चीनबाट ४० लाख डोज भेरोसेल खोप खरिद गर्न सम्झौता गरिसकेको छ। जसमा ८ लाख डोज आइसकेको छ भने बाँकी क्रमशः आउने प्रक्रियामा छ। यस्तै हिजो मात्रै अमेरिकाबाट १५ लाखभन्दा बढी जोन्सन जोन्सन कम्पनीको खोप आइसकेको छ। 

यस्तै जापानले स्ट्राजेनेका कम्पनीको खोप दिने बताइसकेको छ।

यसरी लगातार खोप आउन थालेपछि सरकारले यसअघि गरेको घोषणाअनुसार ३ महिनामा ३३ प्रतिशत नागरिकलाई खोप लगाउन सक्ने देखिन्छ। यसको जस अब स्वास्थ्य मन्त्रालयमा आउने मन्त्रीलाई सीधै जाने देखिन्छ। 

यति मात्रै हैन पछिल्लो समय सरकारले कोरोनाविरुद्ध लड्न भन्दै स्वास्थ्य क्षेत्रको बजेट कुल बजेको ७ प्रतिशतभन्दा माथि पुर्‍याएको छ। यसले पनि अब आउने मन्त्रीले बजेट अभावकै कारण काम गर्न नपाउने भन्ने देखिँदैन।

यस्तै गत मंसिरमा ओली सरकारले हरेक स्थानीय तहमा अस्पताल निर्माण कार्य सुरु गरेको थियो। यी बन्ने अस्पतालहरूको निर्माण समयै सकिए पनि यसको सीधा जस अब स्वास्थ्यको नेतृत्व सम्हाल्नेलाई पुग्छ। 

वीर अस्पतालको जनशक्ति र संरचनागत व्यवस्था सम्पन्न भएको छ। तत्काल ८३१ कर्मचारी थप्ने जस नयाँ मन्त्रीले पाउनेछन्। सिडिसी, प्रत्यायन प्राधिकरण, प्रतिष्ठान छाता ऐन र अस्पताल विकास समिति छाता ऐनको मस्यौदा अन्तिम चरणमा छ। त्यो संसदबाट पास गराए अब बन्ने मन्त्रीले नै जस पाउनेछन्।

यस्तै नेपालको सबैभन्दा ठूलो अस्पताल वीर अस्पतालको नयाँ भवनबाट पनि सेवा सुरु गरिएको छ। अब दैनिक ७५ वटा सर्जरी, मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने वीर अस्पतालको योजना छ। 

वीर अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट र एउटा लिक्विड अक्सिजन प्लान्ट जडान भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.