|

धनकुटा : तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका समयमा बन्दुक बोकेर हिँडेका धनकुटा नगरपालिका–९ साँवारीका इच्छाबहादुर राया अहिले बाख्रापालनमा व्यस्त छन्। उनी देशको आमुल परिवर्तन गर्न भन्दै २०५८ सालमा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा सामेल भएका थिए। त्यसपछि करिब ८ वर्ष पूर्णकालीन कार्यकर्ता बने।

माओवादी जनयुद्धमा सहभागी हुनअघि पनि परम्परागत रुपमा बाख्रापालन गरेको बताउने राया यतिबेला प्रदेश सरकारले द्वन्द्वपीडितलाई दिएको पाँच लाख रुपैयाँ अनुदानबाट व्यवस्थित बाख्रापालनमा लागेका छन। प्रदेश १ सरकारले आधुनिक खोर बनाउन अनुदान दिएपछि रायाको बाख्रापालन फस्टाउँदै गएको छ। उनले बाख्रापालन व्यवसायमा हालसम्म ६ लाख रुपैयाँ लगानी गरिसकेको बताए। रायाको फर्ममा अहिले उन्नत जातका बोयर बाख्रा रहेका छन। 

सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षमा लागेका राया आफ्नो पार्टी शान्ति प्रक्रियामा समावेश भएपछि भौतारिएर बसेको बताउँछन्। तर, आफ्नै देशमा व्यवसाय गरेर गाउँमा बेरोजगार रहेका युवालाई व्यवसाय गर्न उत्प्रेरणा जगाउन बाख्रा फार्म स्थापना गरेर सञ्चालनमा ल्याएको राया बताउँछन्। रायाको फर्ममा अहिले एक सयभन्दा बढी बाख्रा छन्। बाख्रापालनबाट हालसम्म आम्दानी नभए पनि अब आम्दानी हुने तयारीमा रहेको उनले बताए।

सशस्त्र द्वन्द्वका बेला बन्दुक बोकर परिवर्तनको पक्षमा लडेका पूर्वजनमुक्ति सेना रायाले धेरै दुःख कष्ट व्यहोरे पनि अहिले ती दुःख, पीडा बिर्संदै गएको बताउँछन्। आफूहरुको अथक त्याग, मेहनतका कारण देशमा परिवर्तन आए पनि त्यसका सदुपयोग हुन नसकेको उनको दुखेसो छ। राजनीतिमा मात्र ध्यान दिँदा घरको आर्थिक अवस्था कमजोर हुने अवस्था आएपछि आफूले कृषि व्यवसाय गरेको उनले बताए।

‘सशस्त्र द्वन्द्व र जनआन्दोलनका माध्यमबाट देशमा ठूलो परिवर्तन आयो, त्यो जनताको लागि खुशीको कुरो हो,’ उनले भने, ‘तर, त्यो परिवर्तनले सामान्य जनताको जीवनस्तरमा परिवर्तन गर्न सकेन।’ 

सशस्त्र आन्दोलनका बेला देशमा गणतन्त्र आएपछि विकास हुने र सबै जनताको भावनाको कदर हुने सोचे पनि अहिलेको अवस्था हेर्दा गणतन्त्र नेताका लागि मात्र आएको राया बताउँछन्। परिवर्तनको अनुभूति जनताले गर्ने गरी राजनीतिक नेतृत्वले काम गरे जनआन्दोलन र जनयुद्धले सार्थकता पाउनेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.