|

पर्सा : यो वर्षको मनसुन शनिबार बिहानबाट पुनः सक्रिय भएपछि पर्साको विभिन्न ठाउँ र सदरमुकाम वीरगन्ज पनि जलमग्न भएको छ। लामो वर्षात् त के डेडघण्टाको अन्तरालमा नै सदरमुकाम वीरगन्ज पनि जलमग्न भएको हो।

सदरमुकाम वीरगन्ज जलमग्न हुँदा बजार क्षेत्रका पसलहरू खोल्न पनि सोच्न पर्ने अवस्था भएको व्यापारीहरूले बताए। धेरै पसलमा त पानी पसिसकेको छ उनीहरूले भने।  बजार क्षेत्रका सडकमा नै पानीको लेभल एक्कासी बढेर पसलमा पानी पसेपछि कसरी व्यवस्थापन गर्ने ? भन्ने चिन्ता बढेको आदर्शनगरका व्यापारी तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए। क्षणभरमा नै बजार क्षेत्रसमेत जलमग्न हुनुमा वीरगन्ज महानगरपालिकाको कमजोरी रहेको उनको तर्क छ।

महानगरपालिका क्षेत्रका सबै नालीहरू ठीकसँग सफाइ नहुँदा एकछिन आएको पानीमा पनि नगरवासीले सास्ती खेप्न परेको अध्यक्ष खेतानले बताए। नाली जाम गर्नेलाई महानगरपालिकाको समर्थन र नाली साफ नहुने प्रमुख कारण बजार क्षेत्र पनि डुवानमा पर्न थालेको उनको दाबी छ।

नगरवासी भन्छन् : स्मार्टसिटीको कुरा गफ मात्र

निर्वाचनका समयमा नगरप्रमुख विजयकुमार सरावगीले मेरो कसम भनी प्रचारमा ल्याएको नारा र स्मार्टसिटी शहर बनाउने कुरा नौटंकी मात्र भएको नगरवासीले आरोप लगाए।

महानगरपालिकाले एशियाली विकास बैंक (एडिबी) को सहयोगमा बजार क्षेत्रको सडक र नालीको उच्चस्तरीय निर्माण गरिरहेको छ। तथापि, शहरमा डुवान भने अझ हुन थालेको भनी सर्वसाधारण रुष्ट समेत भएका छन्।

तीन वर्ष अगाडि वीरगन्ज महानगरको नगरप्रमुख सरावगीले विजयी बनेको सय दिनमा नै देखिने काम गर्छु भनी त्यही एडिबीको सहयोगमा पहिलेदेखि नै निर्माण भइरहेको बिकासको कामलाई आफैले गरेको भनी ठाउँ–ठाउँमा देखाउँदै हिँडेको देखेका नगरवासी अहिले क्षणभरको वर्षामा नगर डुवान हुन थालेपछि नगरप्रमुख र महानगरको काम गराइप्रति आक्रोशित हुन थालेका छन्।

खोलामा ओभरफ्लो भई नगर डुवान

वीरगन्ज महानगरपालिकाले भने नालीको पानी जाने खोलाको सतहमा आएको बाडीले बजार क्षेत्रको पानी उल्टै ओभर फ्लो भएर आउँदा छोटो समय बजार क्षेत्र डुवानमा पर्ने गरेको दाबी गरेको छ। पानी पर्न छोडेपछि स्वतः पानीको लेभल कम हुँदै जाने नगरप्रमुख सरावगीले पनि रेडिमेट जवाफ दिने गरेका छन्।

शनिबारको पानीले यता बजार क्षेत्रको आदर्शनगर, राधेमाई, पानीटेंकी, रानीघाट, नगवा, जिल्ला प्रशासन कार्यालय क्षेत्र, छपकैया मात्र नभई जिल्लाको तिलावे, भेडाहा, नौरंगिया र ठोरीको ढेडु खोला लगायत नदिमा पानीको सतह उच्च हुन थालेपछि विभिन्न ठाउँ जलमग्न भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए। तराईमा जमिन नै बगाए लाने क्रम केही कम भए पनि डुवान हुँदा सर्वसाधारण समस्यामा पर्ने गरेको उनको भनाइ छ। डुवान हुन थालेको छ।

अहिले नै ठूलो विपत् भने आएको छैन। योभन्दा पानी थपिए अरु सोच्नुपर्ने उनले बताए। विपत् नै चाँहि अहिले नआएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.