पूर्वाधार र जनशक्ति तयारी अवस्थामा, भाडादर पनि तय

|

जनकपुरधाम : देशकै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाक आइतबार गति परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न गरिएको छ।

आइतवार दिउँसो जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य गरेको हो।

भारतीय कोकर्ण कम्पनीका प्रतिनिधl तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्तरुपमा निरीक्षणपश्चात् जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजासमेत गरिएको थियो।

स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै रेल्वेका महाप्रबन्धक भट्टराईले भारतीय डब्लु डिएम थ्रीडी नामको इन्जिन तथा दुई वटा मालबाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए। 

स्पिड चेकको क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाक सम्बन्धी ज्ञात नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पिडमा फर्केको बताए। 

रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आज गरिएको परीक्षण सफल भएको बताए। उनले रेल ट्रयाकमा कहीँ कतै कुनै समस्या नदेखिएको जनाए।

लिकहरूको समय समयमा मर्मत तथा पुलहरूको पनि सबै काम भइसकेकाले समस्या नरहेको बताए। ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा कुनै प्रकारको क्षति नभएको जिप्रका धनुषाले जनाएको छ।

परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरूमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो।

पूर्वाधार र जनशक्ति तयारी अवस्थामा

यता सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति तोके पनि रेल्वे संचालनमा आउन सकेको छैन। यस सम्बन्धमा महाप्रबन्धक भट्टराईले रेल नचल्नुमा राजनीतिक खिचातानीको कारण समस्या भएको बताए। उनले तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पूर्ण तयारीहरु गरिएपनि सरकार परिवर्तन भएको हुँदा रोकिएको बताए।

महाप्रबन्धक भट्टराईले भने, ‘वैशाख देखि नै तालिमको काम सुरु गरिए पनि कोरोना भाइरसको कारण केही दिन रोकिएको र असार मसान्तसम्म रेल्वे संचालन गरिने लक्ष्यका साथ सम्पूर्ण तयारी गरे पनि सरकार परिवर्तन भएका कारण रेल्वे संचालन हुन सकेन।’ उनले अब रेल नियमित संचालनको लागि सरकार पूर्ण रुपमा गठन भएपछि मन्त्रीस्तरीय छलफलपश्चात् मात्र हुने बताए।

उनले २ सय नेपाली जनशक्तिलाई तालिम दिई तयारी अवस्थामा राखिएको र भारतिय जनशक्तिसमेत तयारी अवस्थामा रहेकोले रेल सञ्चालनका लागि जनशक्तिको कुनै समस्या नरहेको जानकारीसमेत दिए।

भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पूर्वाधार निर्माण भइसकेको छ। सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेको दुई वटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो।

अगाडि र पछाडि गुड्न सक्ने ती रेलहरू अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ।

दुई सेट रेल आएको ठिक १० महिना भइसक्यो। जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए। तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो छैन।

रेल्वेको भाडा दर तय

महाप्रबन्धक भट्टराईले रेल्वेको भाडादरसमेत तय बताए । रेलवेको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । अर्थात् एक स्टेसनबाट अर्को स्टेसनसम्म जान कम्तीमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ ।

त्यसैगरी, जनकपुरदेखि जय नगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा ३ सयसम्म तोकिएको उनले बताए। उनले तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुने तयारी गरिएको बताए । ‘सुरुमा एउटै रेल चलाउने हाम्रो मनसाय छ, यात्रुको संख्या बढेपछि थप अर्को रेल चलाउँछाैँ,’ महाप्रबन्धक भट्टराईले भने ।

८ वटा स्टेशन

रेलमार्गको नेपाली भूभागमा तत्काल ८ वटा रेल स्टेसन रहनेछन्। रेलको लिक बढ्ने बित्तिकै रेल्वे स्टेसन थपिनेछन् । एउटा रेल्वे स्टेसनमा औसतमा १० जना कर्मचारी आवश्यक पर्छ । 

त्यस्तै, रेल्वे ट्रयाक, रेल्वे सिग्नललगायत क्षेत्रमा पनि कर्मचारी आवश्यक पर्छ। कम्पनी सञ्चालन र अन्य कर्मचारी पनि आवश्यक पर्नेछ। रेल सञ्चालन संवेदनशील भएकाले पनि पर्याप्त जनशक्ति अत्यावश्यक रहेको कम्पनीको भनाइ छ।

तत्काल ३४ किलोमिटरमा मात्र सञ्चालन

सरकारले पहिलो चरणमा भारतको जय नगरदेखि नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, तयारी अभावका कारण तत्काल ३४ किलोमिटर मात्र रेल सञ्चालन गरिने तयारी छ। 

जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ। थप १७ किलोमिटर रेलमार्ग तयार गरी सञ्चालन गर्ने लक्ष्य भए पनि कोरोनाका कारण काम प्रभावित भएको छ । 

लक्ष्य पूरा नहुँदा कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले जनाए। बिजलपुरादेखि–बर्दिवास १८ किलोमिटरको दूरीमा छ। त्यस क्षेत्रमा भने अझ जग्गा प्राप्ति भइनसकेकाले लिक निर्माणमै ढिलाइ भइरहेको छ।

रेलका विशेषता

कुर्था–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्ने क्षमता रहेकोछ । यसको गति रेलको लिक डिजाइन अनुसार १ सय किलोमिटर प्रतिघण्टा रहेको छ । तर, रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघण्टा गतिमा मात्र रेल कुदाइने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले जानकारी दिए। रेलमा चारवटा ‘कोच’ रहनेछन् ।

डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गड्छ। अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ।  यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युतमार्फत चल्ने रेललाई 'डेम रेल' भनेर चिनिन्छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.