|

जनकपुरधाम : जनकपुरधाम निवासी तथा नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेकी रिङ्‌कु गायत्री मिश्रले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्।

प्रदेश २ को चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड सदस्यसमेत रहेकी जनकपुरधामकी पुष्पा यादवले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाएकी छिन्‌।

यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाहरूको रोजाइमा परेको छ।

पछिल्ला वर्षमा किशोरीहरूमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ।

विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपी; यस महिनाका सबै दिनलाई उत्तिकै महत्वका साथ लिइन्छ।

रिङ्‌कु गायत्री मिश्र आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउँछिन्। ‘साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ,’ उनले भनिन्।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिनाभर आफूले हरियो चुरा लगाउने पुष्पा यादवको भनाइ छ। 

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरिले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन क्रमश: हराउँदै गएको, तर, हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्या चाहिँ वर्षैपिच्छे बढ्दै गएको बताइन्।

‘परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्,’ उनले भनिन्, ‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।’ उनका अनुसार कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने पनि गर्दछन्।

साउनमा श्रृङ्‌गारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारीहरू बताउँछन्।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका श्रृङ्‌गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको व्यापारीहरूको भनाइ छ।

महेन्द्रनगरस्थित मीना शृंगार पसलकी प्रोप्राइटर मीना देवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताइन्।

यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाहरूले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।

जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुरा, मेहन्दी र राता कुर्था सुरुवालमा सजिएर हिँड्ने र सोमबार व्रत समेत बस्न थालेको बताइन्‌।

उनका श्रीमान्‌ वैदेशिक रोजगारको सिलसिलामा साउदीमा छन्। श्रीमान्‌को दीर्घायु कामना गर्दै साउने सोमबारमा व्रत बस्ने योजना बनाएकी छिन् उनले। उनले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहन्दी लगाइदिएकी छन्।

साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरी समेतले हरियो चुरा लगाएको देखिन्छ ।

हरियो चुरा पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो  छ। हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने महिलाहरू बताउँछन्। महिलाहरू आफ्नो श्रीमानमा सुस्वास्थ्य कायम हुने विश्वास गर्दै सोमबारका दिन व्रत बस्ने गर्छन्‌।

​यो एउटा आस्था पनि हो। साउन महिना सबै हिन्दू नारीको चाड बन्न पुगेको छ। कतिपयले यसलाई अनावश्यक तडकभडकको रूपमा पनि मनाउन थालेका छन्। तर, नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ।

हिन्दू धर्म-संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजो आज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ।

‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो। मेहन्दी लगाउने चलन पनि थिएन। महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे। हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ,’ बर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भनिन्।

साउनमा हरियो चुरा/मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ। तर, पछिल्लो समय धार्मिक आस्थाको आधारमा मात्र नभई देखासिकीका रूपमा पनि चुरा/मेहन्दी लगाइएको कतिपयको बुझाइ छ।

यस्तो छ पौराणिक मान्यता

पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गर्छन्।

यसकारण लगाइन्छ हरियो

साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ। हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा वृद्धिको प्रतीक रहेको पनि विश्वास गरिन्छ।

हरियो उपचारको रंग पनि हो, जो मुटुसँग जोडिएको हुन्छ। उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ। विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि ‘बेडरुम’को दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

शास्त्री नवीन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो। साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो। यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रूपमा लिइन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढने धार्मिक विश्वास छ।

संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ।

हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ। बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.