|

म्याग्दी : थापा र मल्लकालीन विरासत बोकेको म्याग्दीको बेनी नगरपालिका– २, ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वयुक्त खड्भवानी कोत परिसरका सम्पदाहरूसम्म विकासका पूर्वाधार विस्तार गर्न थालिएको छ।

समुद्री सतहदेखि १ हजार ६४८ मिटर उचाइमा रहेको करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माणका काम थालेपछि सम्पदाहरू विकाससँग जोडिन थालेका हुन्।

१५ औं शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्धेश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाअध्यक्ष हीराबहादुर थापाले बताए। अध्यक्ष थापाका अनुसार यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन्।

अध्यक्ष थापाका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ। बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गत वर्ष २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो।

यस वर्ष नगरपालिकाको पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख रुपैयाँ विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए।

विक्रम सम्वत्‌ १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन्।

पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताए।

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आफू प्रतिबद्ध रहेको वडाअध्यक्ष थापाको भनाइ छ। उनले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए।

पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामिण बस्ती देखिन्छ।

गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीको सक्रियता देखाउनसके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्‍चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरू रहेका स्थानीय भीमबहादुर पौडेलले बताए।

‘ज्यामरुककोट एउटा ऐतिहासिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भएपनि विकासको सहज पहुँच नहुँदा पछि परेको थियो,’ पर्यटन क्षेत्रका जानकार शिव बानियाँले भने, ‘बेनीदेखि भकुण्डेसम्म मोटरबाटोको सुविधा र भकुण्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ।’

बानियाँका अनुसार अब २/४ वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्नसक्ने हो भने सयौं विदेशी पर्यटकहरू यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदय अवलोकन गर्न आउनसक्छन्‌।

​त्यस्तै, वडा कार्यालयको पछाडिपट्टी रहेको ऐतिहासिक राजकुवा संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्ग भवानी कोत परिसरमा लगेर स्विमिङ पुल .(पौडी पोखरी) बनाउने र त्यसको नजिकै स्तरीय रेष्टुरेन्ट सञ्‍चालन गर्न सकिने सम्भावना रहेको भएपनि त्यतातर्फ कसैको ध्यान जान नसकेको जिल्लाको सरोकारवालाहरूले बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.