तर कांग्रेस भन्छ : सरकार परिवर्तन गर्ने मनस्थितिमा छैनौं

|

हेटौंडा : केन्द्रमा भएको राजनीतिक उतारचढावले बागमती प्रदेश सरकार पनि धरापमा पर्ने देखिएको छ। 

सत्तापक्षकै असहयोगको कारण सरकारबाट बाहिरिएको एमाले विभाजन हुने स्थितिले बागमती प्रदेश सरकार पनि धरापमा परेको हो।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा केपी ओली पक्ष मात्रै सरकारमा छन् भने एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष सत्ताबाहिर छन्। केन्द्रमा जे भएपनि प्रदेशमा मिलेर देखाउने बताउँदै आएको एमालेभित्र असन्तुष्टिको चाङ चुलिँदै जाँदा प्रदेश सरकार नै धरापमा परेको छ। 

केन्द्रमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमाले फुटको संघारमा पुगेको छ। केन्द्रमा गठबन्धनको सरकार बनेपछि प्रदेशमा पनि नयाँ सरकार बनाउन प्रतिपक्षी दलहरूले कसरत गर्न थालेका छन् भने सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने माग सत्तापक्षको छ।

बागमती प्रदेशमा रहेको १०९ प्रदेशसभा सदस्यमा ५६ जना सांसदसहित एमाले सरकारमा छ। त्यस्तैगरी माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

प्रदेश सरकारविरुद्व सबै विपक्षी दल एकजुट भए पनि बहुमतमा रहको एमाले नेतृत्वको प्रदेश सरकारलाई सत्ताबाटै असहयोग देखिन्छ। 

हाल प्रदेशसभामा नेकपा एमालेको ५६ सांसदमध्ये ओलीपक्षको ३५ र खनाल–नेपाल पक्षका २१ जना छन्। केन्द्रको सिको गरेर खनाल–नेपाल पक्षले ओली पक्षको साथ छोडे प्रदेशमा पनि एमाले नेतृत्वको सरकार गुम्ने जोखिम छ। त्यसैले प्रदेशमा एमालेको सरकार जोगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई प्रतिपक्षभन्दा पनि सत्तापक्षकै डर छ।

बागमती प्रदेशको नेकपा एमालेको माधव पक्षको नेतृ अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्री पौडेलबीचको सम्बन्ध सुरुदेखि नै त्यति राम्रो छैन। मुख्यमन्त्री बन्न दुवैले इच्छा देखाएपछि दलभित्र मुख्यमन्त्रीका लागि मतदान नै भएको थियो।

त्यस बेलामा प्रदेशमा एमालेका ५८ सांसदमध्ये २४ जनाले अष्टलक्ष्मीलाई मत दिएका थिए भने ३४ जनाले पौडेललाई मत दिएका थिए। 

त्यसपछि गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा नेकपा एमाले खनाल–नेपाल पक्षका २२ सांसदले हस्ताक्षरसमेत गरेका थिए।

मुख्यमन्त्री पौडेलले एकलौटी ढंगले गुटगत रुपमा काम गरेको आरोप लगाउँदै आएका खनाल–नेपाल पक्षले विभिन्न सर्तमा सरकारलाई सदनमा सहयोग भने गर्दै आएका छन्।

तर अहिले केन्द्रमा नै एमाले फुटको संघारमा पुगेको अवस्थामा भने खनाल नेपाल पक्षले प्रदेश सरकारलाई सहयोग गर्ने सम्भावना पनि कम बनेको छ। जसले गर्दा मुख्यमन्त्री पौडेललाई प्रतिपक्षी दलभन्दा पनि सत्तापक्षबाटै असहयोगको डर छ। 

सरकारको नेतृत्व हामीलाई दिनुपर्छ : माधव पक्ष

नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश सरकारको नेतृत्व आफूहरूले गर्न पाउनुपर्ने माग राखेको छ। ओली पक्षले सरकार पुनर्गठन गरेर माधव पक्षलाई पनि सरकारमा समेट्ने बताइरहेको बेलामा उनीहरूले भने सरकारको नेतृत्व नै परिवर्तन गर्नुपर्ने माग गरेका हुन्।

नीति तथा कार्यक्रम र बजेट पास गर्न संसदमा सरकारलाई सहयोग गरेको खनाल–नेपाल पक्षले सरकारको नेतृत्व आफूहरूलाई नदिए एमालेको सरकार जोगाउन सहयोग नगर्ने बताएका छन्। 

माधव पक्षका सांसद राजेन्द्र पाण्डेले प्रदेश सरकारको नेतृत्व आफूहरूले गर्न पाए एमाले नेतृत्वको सरकार सहजै चल्न सक्ने बताएका छन्। सरकारको नेतृत्व आफूहरूले गर्न नपाए असहज परिस्थिति आउने उनले बताए।

थाहाखबरसँग उनले भने,  ‘हामीले पहिलेदेखि नै सरकारको नेतृत्व परिवर्तन गर्न माग गरिरहेका थियौं। बजेट पास गर्दा पनि नेतृत्व परिवर्तन फेर्नुपर्छ भन्ने कुरा राखेका थियौं, हेरौं कसरी आउँछन्।’

पाण्डेले प्रदेश सरकारले असन्तुलित ढंगले ल्याएको बजेट फेल हुने अवस्था आउन नदिन संसदमा सरकारलाई सघाएको जिकिर गरे। ‘बजेटमा अझै पनि असन्तुष्टिहरू छन्,असमानताहरू छन्। त्यसको समाधान गर्नुपर्छ हामीले भनेका थियौं। बजेट फेल नै गरेर जाँदा समाधान नहुने भएर हामीले बजेट पास गर्न सहयोग गरेका हौं,’ उनले थपे।

आफूहरूले प्रदेश सरकार पुनर्गठन मात्र नभएर सरकारको नेतृत्व नै परिवर्तन गर्न चाहेको पाण्डेले बताए। प्रदेश सरकारको नेतृत्व आफूहरूलाई दिनुको विकल्प अरु नभएको उनको भनाइ छ।

‘सरकार पुनर्गठन गरेर मात्रै हुँदै हुँदैन। हामीले एक दुई जना मन्त्री खोजेको होइन। नेतृत्व नै परिवर्तन गर्नुपर्छ, हामीलाई दिनुपर्छ। नदिनुको अर्को विकल्प उहाँहरूसँग छैन,’ पाण्डेले भने।

उनले सरकारको नेतृत्व गर्न आफूहरूलाई नदिए केन्द्रको समस्या प्रदेशमा पनि देखिने बताए। पाण्डेले केन्द्रबाटै पार्टी विभाजन भएको खण्डमा प्रदेश सरकारलाई सहयोग गर्न नसक्ने र पार्टी विभाजन नभए पनि आफूहरूको नेतृत्व लिएर नगए प्रदेशमै पार्टी विभाजन हुने जिकिर गरे।

उनले समझदारीमा मिलेर जाने कुरा नभएर वर्तमान सरकार चल्न नसक्ने दाबी गरे। पाण्डेले सरकारको नेतृत्व परिवर्तन गर्ने कुरामा ओली पक्ष पनि सकारात्मक रहेको बताए। 

वर्तमान प्रदेश सरकारलाई छिट्टै बिदा गर्छौ : प्रमुख प्रतिपक्ष

बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकारलाई जतिसक्दो छिटो बिदा गर्ने बताएका छन्।

थाहाखबरसँग कुरा गर्दै जम्कट्टेलले अहिलेको प्रदेश सरकारलाई बिदा गर्न तयारी गरिरहेको भन्दै छिटोभन्दा छिटो प्रदेश सरकारलाई विस्थापित गर्ने बताए। 

उनले संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकारलाई सत्ताबाट बाहिर निकाल्ने टिप्पणी गरे। जम्कट्टेलले भने, ‘संसदमा भएका विभिन्न राजनीतिक दलसँग हामीले छलफल गरिरहेका छौं। यही दिन भनेर त भन्न सक्दिन तर हामी तयारी गरिरहेका छौं। छिटोभन्दा छिटो अविश्वासको प्रस्ताव आउँछ।’

सरकार परिवर्तन गर्ने मनस्थितिमा छैनौं : नेपाली कांग्रेस

बागमती प्रदेशको दोस्रो ठूलो प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले कांग्रेस तत्काल प्रदेश सरकार परिवर्तन गर्नुपर्ने मनस्थितिमा नरहेको बताएका छन्।

सरकार परिवर्तन गर्नुपर्ने अवस्था आएको खण्डमा अघि बढ्ने बानियाँले बताए। 

तत्काल भने कांग्रेस त्यो मनस्थितिमा नरहेको बताए। केन्द्रको राजनीतिमा निर्माण भएको परिस्थित भविष्यमा प्रदेशमा आउन सक्दैन भन्न नसकिने तर अहिले नै यस्तो हुन्छ भन्ने परिस्थिति पनि नबनेको उनको भनाइ छ।

तत्काल नै प्रदेश सरकारलाई अविश्वास गरेर जाने भन्ने पक्षमा नरहेको बानियाँले स्पष्ट पारे। 'अहिले नपाली कांग्रेस संसदीय दलको मनस्थितिमा अविश्वास प्रस्ताव ल्याउने कुरा छैन,’ उनले भने।

बानियाँले संसदबाट बजेट पास गर्ने बेलामा प्रदेश सरकारले गरेको काम दुर्भाग्यपूर्ण रहेको बताए। उनले सरकारको काम, कुरा र व्यवहार फरक–फरक देखिएको भन्दै सरकारको समृद्धिको नारा कुरामा मात्रै भएको काममा नभएको टिप्पणी गरे। प्रदेश सरकार परिवर्तन गर्न आवश्यक भए पनि तत्काल परिवर्तन गर्ने पक्षमा नभएपनि परिस्थितिअनुसार अघि बढ्ने बताए।

छिट्टै प्रदेश सरकार पुनर्गठन हुन्छ : मुख्य सचेतक

नेकपा एमालेको बागबती प्रदेश मुख्य सचेत दीपक निरौलाले भने छिट्टै बागमती प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्। उनले सबैलाई मिलाएर लैजाने विषयमा छलफल भइरहेको बताए।

यद्यपि मुख्यमन्त्री नै परिवर्तन भने तत्काल हुन नसक्ने निरौलाको भनाइ छ। भने, ‘सरकारको नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने कुरा नआएको होइन। तर तत्काल मुख्यमन्त्री परिवर्तन हुने सम्भावना छैन। तर यो विषयमा पार्टीमा छलफल भने हुन सक्छ।’

निरौलाले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट धेरै आशंकाको बाबजुद पनि पास गरेको भन्दै बागमती प्रदेश एमालेले केन्द्रमा पृथक् ढंगमा उभिएर देखाउने दाबी गरे।

अझै पनि बजेटलाई लिएर पार्टीभित्र असहमति र असन्तुष्टि रहेको भन्दै पार्टी विभाजन गरेर र टकराव गरेर नभई एकअर्काको सम्मान गरेर समस्या समाधान गरिने बताए।

माधव नेपालले आइतबारबाट औपचारिक रुपमा पार्टी विभाजन गरेको भन्दै अर्को पार्टी खोले पनि एमाले विभाजन नहुनेसमेत उनले दाबी गरे। निरौलाले केन्द्रमा भएको राजनीतिक उतारचढावले प्रदेशमा असर नगर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.