छिन्चु-जाजरकोट सडक खण्डभित्रका सबै पुलको निर्माण कार्य पूरा

|

जाजरकोट : जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया सुरु भएको छ।

सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम बढाएसँगै आयोजना निर्माणका लागि थप प्रगतिका पाइला बढेका हुन्। 

छिन्चु-जाजरकोट सडक खण्डभित्रका सबै पुलको निर्माण कार्य पूरा भई जाजरकोट सदरमुकामसम्म पिचको काम पूरा भए पनि डोल्पा खण्डभित्र सबै ठाउँमा पुल निर्माण नहुँदा समस्या हुँदै आएको थियो।

सडक डिभिजन कार्यालय चौरजहारीले अघिल्लो वर्षदेखि जाजरकोट सदरमुकाम नजिकै पासागाडलाई जिरो प्वाइन्ट मानेर पिचको काम सुरु गरेको थियो। पासागाड-रिम्नासम्म १७ किलोमिटर पिच गर्ने पहिलो चरणको काम जारी रहँदा दोस्रो चरणका लागि रिम्ना, चिसापानी हुँदै तल्लुसम्म बोलपत्र आह्वान गरेपछि जाजरकोट खण्डको करिब ८० प्रतिशत सडकको स्तरोन्नतिको प्रक्रिया बढेको हो। 

​जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत जाजरकोटको अन्तिम भाग त्रिवेणी भए पनि नलगाड नगरपालिकाको तल्लुबाट रुकुम पश्चिम भएर सडक डोल्पा जाने गर्दछ। 

जाजरकोट खण्डको सबै भागमा स्तरोन्नतिको काम एकै पटक सुरु भएसँगै पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको चुनावी नारा कार्यान्वयनमा गएको सर्वसाधारण बताउँछन्। 

सोही सडकसँग जोडिएको मुख्य भाग नलगाड नगरपालिकाको तल्लु र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा पुलको ठेक्का खोलिएको छ। अब जाजरकोट खण्डको पूरै कामले गति लिएको छ। यो पुल र सडक निर्माण कार्य तीव्रता पाएसँगै आयोजना निर्माणका लागि समेत थप जटिलता कम भएको छ। 

उता जाजरकोट, डोल्पा र रुकुम पश्चिमको सिमाना रहेको त्रिवेणीस्थित भेरी नदीमा १०० मिटर लामो पुल आयोजनाले अघिल्लो वर्ष नै बोलपत्र खोलेर काम जारी रहेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

जाजरकोट खण्डको सर्वाधिक समस्यामूलक रहेको झुर्मेखोला र नलगाड नदीको पुलसमेत निर्माण कार्य पूरा भएर यातायातका साधन सञ्चालनमा आइसकेका छन्।

सडक डिभिजन चौरजहारीले ती पुल निर्माण गरेको डिभिजन प्रमुख ध्रवकुमार झाले जानकारी दिए। जाजरकोट-डोल्पा सडक खण्डका सबै पुलको निर्माण कार्य जारी रहँदा जाजरकोट खण्डका ७० प्रतिशत पुलको भने निर्माण कार्य सकिइसकेको छ। निर्माणसम्पन्न हुन ससाना पुल मात्र बाँकी रहेका डिभिजन प्रमुख झाले बताए। 

जाजरकोट-डोल्पा सडक खण्डभित्र रहेका पुल निर्माण कार्य सुरु भएसँगै सर्वाधिक अप्ठ्यारो मानिएको र तुइनमार्फत यातायातका साधन वारपार गरिरहेको ठाउँ तल्लुस्थित भेरी नदीमा अब समस्य छिट्टै हल हुने डिभिजन प्रमुख झाले बताए। हाल जाजरकोट-डोल्पा सडक निर्माणका लागि सरकारले ५१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ।

नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट), जगदुल्ला जलविद्युत् आयोजना (१०६ मेगावाट) र ताँसुगाड जलविद्युत् आयोजनाका (४ मेगावाट) साथै भेरी ए, बी र सीजस्ता आयोजनासमेत यही भेरी करिडोरभित्र पर्दछन्।

त्यस्तै नलगाड नगरपालिका-७ दानीपिपलमा निर्माण कार्य जारी रहेको ४०० केभी प्रसारण लाइनका सब-स्टेशन र ३३ केभी (चौखा) प्रसारण लाइनको सब-स्टेसन निर्माण स्थलहरू नलगाड नगरपालिकाभित्र नै पर्दछन्।

यी सबै आयोजना जाजरकोट- डोल्पा सडक खण्डकै बीचमा पर्ने भएकाले सडकको स्तरोन्नति तथा पुल निर्माणसँग विद्युत् आयोजनाहरूको निर्माण कार्यले समेत गति लिने भएको हो। 

कहाँ पुग्यो जगदुल्ला निर्माणको कार्य ?

स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला १०६ मेगावाटको जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ। आयोजनालाई आवश्यक २६० रोपनी जग्गा अधिग्रहण भइसकेको र त्यसको लागि मुआब्जासमेत वितरण भइसकेको आयोजन प्रमुख सापकोटाले जानकारी दिए। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ। 

आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको प्रमुख सापकोटाले बताए। अर्धजलाशययुक्त आयोजनाको अहिले वातावरणीय अध्ययन कार्य जारी रहेको छ।

एनइ इन्जिनिरिङले सो काम सम्पन्न गरेर पुस मसान्तसम्म आयोजनाको प्रतिवेदन बुझाउने सम्झौता गरेको छ। त्रिवेणीस्थित भेरी नदीमा १०० मिटर लामो पुलको कामसमेत आयोजना आफैंले निर्माण गरिरहेको छ।

आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई वटा भवन निर्माण कार्य चलिरहेको छ।

वातावरणीय अध्ययन कार्य अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रियासमेत यो आर्थिक वर्षमा बढाई आउँदो आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्न लागिएको छ।

त्यसका लागि अहिले विद्युत् खरिद-बिक्री तथा सम्झौताका कामका लागि आवश्यक सहकार्य भइरहेको छ। त्यस्तै वृत्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको बताइएको छ। यो वर्ष विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए) र व्यवस्थापन सक्ने लक्ष्य लिइएको छ।  

अहिले आयोजनास्थलसम्म जान र आउन इल, निल दहमा आयोजना आफैंले पुल निर्माण गर्ने भएको छ। जाजरकोट-डोल्पा सडक खण्डको त्रिवेणीबाट इलसम्म ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम भइरहेको छ।

त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका-१ र २ मा पर्ने गाइगाउँ ४५ किलोमिटर सडकखण्ड ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको प्रमुख सापकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.