|

काठमाडौं : गत जेठ दोस्रो साता डोटी घर भएकी ३७ वर्षीया कमला (नाम परिवर्तन)लाई श्रीमानले घरको ढोका बन्द गरी शरीरमा आगो लगाए। त्यस घटनामा घाइते भएकी उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ। 

उनी सात वर्षअघि विवाह बन्धनमा बाँधिएकी थिइन्। आर्थिक अवस्था सामान्य भएकी उनीहरुको घरपरिवार राम्रैसँग चलेको थियो। दुई सन्तानसहित चारजनाको मिलेको परिवार थियो। तर‚ सामान्य घर झगडाले नै आगो लगाउनेसम्मको घटना भएको राष्ट्रिय महिला आयोगको अनुसन्धानबाट खुलेको छ। 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी ३१ वर्षीया महिलाले आत्महत्या गरिन्। उनका आठ वर्षीया र चार वर्षीया दुई छोरी छन्। लामो समयदेखि छोरा नपाएको भन्दै परिवारले उनलाई मानसिक यातना दिँदै आएका थिए। आत्महत्या गरेको दिन उनी साँझ ६ बजेसम्म श्रीमानसँगै बसेको अनुसन्धानबाट खुलेको छ। 

माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा उजुरी दिन गए। तर‚ प्रहरीले उजुरी लिन मानेन। प्रहरीले आत्महत्या भएको भन्दै जाहेरी लिन आनाकानी गर्‍यो। त्यसपछि पीडितका माइती पक्षले ११४५ मा फोन गरेर महिला आयोगमा उजुरी गरे। अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन गरेको पाइएको आयोगले बताएको छ। आयोगको पहलमा पीडकलाई आत्महत्या दुरुत्साहन मुद्दा लगाइएको आयोगले जनाएको छ। 

महोत्तरी घर भएकी २९ वर्षीया अनुशा (नाम परिवर्तन) गत जेठमा जबरजस्ती करणीमा परिन्। शारीरिक अपाङ्ता भएकी अमृतामाथि भएको घटना उनका परिवारले तत्कालै महिला आयोगलाई खबर गरे। महिला आयोगको टोलीले घटनास्थलमा नै पुगेर अनुसन्धान गर्‍यो। त्यतिबेलासम्म प्रहरीले उजुरी लिन मानेको थिएन। त्यस घटनाको पीडक हालसम्म पत्ता लागेको छैन। पीडित अनुशा हाल मानसिक समस्यामा छिन्। पीडकलाई जतिसक्दो छिटो पक्राउ गरी कारबाही गर्न माग गर्दै महिला आयोगले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठायो। तर‚ पीडकलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन नसकेको महिला आयोगले बताएको छ।

निषेधाज्ञामा बढ्यो घटना

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि  सरकारले दोस्रोपटक लगाएको निषेधाज्ञामा महिला हिंसाका घटना बढेको छ। वैशाख १५ देखि असार मसान्तसम्म ३४८ वटा उजुरी दर्ता भएको राष्ट्रिय महिला आयोगको तथ्यांकले जनाएको छ। जसमा सबैभन्दा बढी बागमती प्रदेशको २४३ वटा उजुरी छन्। 

प्रदेश १ मा १४, प्रदेश २ मा २४, गण्डकीमा १६, लुम्बिनीमा २१, कर्णाली ६, सुदूरपश्चिम १२, प्रदेश नखुलेका १२ वटा उजुरी दर्ता भएको महिला आयोगकी अध्यक्ष्य कमलाकुमारी अर्यालले जानकारी दिइन्। अध्यक्ष्य अर्यालले भनिन्, ‘अन्य प्रदेशमा घटना भएको छैन भन्ने होइन, शिक्षित भएर उजुरी गरेको हुनसक्छ।’

गैरसरकारी संस्थाको तथ्यांक बेग्लै

दोस्रो चरणको निषेधाज्ञामा ६८० वटा महिला हिंसाका घटना भएको महिला पुनर्स्थापना केन्द्र (ओरेक)को तथ्यांकमा छ। जसमध्ये ३४१ वटा घरेलु हिंसाका घटना हुन्। १६८ वटा शारीरिक हिंसा (४९ प्रतिशत), ५८ वटा गालीगलौज वा मानसिक हिंसाका घटना (१७ प्रतिशत), ३७ वटा चारित्रिक आरोपका घटना (११ प्रतिशत) रहेका छन्। यस तथ्यांकले ५० प्रतिशत हिंसा घरभित्रै हुने देखाएको छ।

घटनामध्ये ६३ वटा (९ प्रतिशत) सामाजिक हिंसा, १४६ वटा (२१ प्रतिशत) बलात्कार, सात वटा (१ प्रतिशत) बलात्कारको प्रयास, १९ वटा (३ प्रतिशत) यौन दुर्व्यवहार, ५० वटा (७ प्रतिशत) हत्या, ११ वटा (२ प्रतिशत) हत्या प्रयासका घटना छन्। 

यसरी नै आठ वटा (१ प्रतिशत) मानव बेचविखन, सात वटा (१ प्रतिशत) आत्महत्याका घटना, २ वटा (०.३.प्रतिशत) मानव बेचविखनको प्रयासका घटना भएको ओरेको तथ्यांकमा छ। यसैगरी २६ वटा (४ प्रतिशत) अन्य प्रकारका हिंसा जसमध्ये तीनवटा आत्महत्याको प्रयास, पाँचवटा (एसिड आक्रमण, १७ वटा अलपत्र पारिएका र १ वटा विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेका छन्।

महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँ, छोरीछोरी जन्माएको निहुँ, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोलगायतको दोष लगाएर हिंसा गर्ने घटना देखिएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपाने बताउँछन्। 

प्रहरीमा १५ हजार ७५६ उजुरी

गत वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञादेखि हालसम्म नेपाल प्रहरीमा १५ हजार ७५६ वटा महिला हिंसाका उजुरी दर्ता भएका छन्। जबरजस्ती करणी, बालविवाह‚ बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, घरेलु हिंसा‚ जातीय छुवाछुतलगायतका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए। उनका अनुसार ११ हजार ७३८ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्।

जबरजस्ती करणी दुई हजार १४४, जबरजस्ती करणी उद्योग ६८७, बहुविवाह ७३४, यौन दुराचार २३२, अपहरण ३४, अवैध गर्भपतन ३४, जातीय छुवाछुत ३०, बोक्सी आरोपका ३४ वटा उजुरी दर्ता भएका छन्।  

प्रवक्ता कुँवरका अनुसार प्रदेश १ मा १ हजार ४१२, प्रदेश २ मा ४ हजार ९२, बागमती प्रदेशमा एक हजार ६११, गण्डकी प्रदेशमा एक हजार २९२, लुम्बिनी प्रदेशमा दुई हजार ४७, कर्णाली प्रदेशमा ९२० र सुदूरपश्चिम प्रदेशमा एक हजार ६७ उजुरी दर्ता भएका छन्। त्यस्तै‚ काठमाडौं उपत्यकामा २ हजार ९१३ वटा घटना दर्ता भएका प्रवक्ता कुँवरले जानकारी दिए। शारीरिक, मानसिक, आर्थिक, यौनजन्य १४ उजुरी दर्ता भएका छन्। अन्य समयभन्दा निषेधाज्ञामा हिंसाका घटना बढेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.