भरिया फस्छन्, नाइके उम्किन्छन्, यो वर्ष मात्रै १५१ पक्राउ

|

हेटौंडा : मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन्।

सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।

झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ। जिल्लामा उत्पादन भएको लागुऔषध अन्यत्र बाहिरिने र बाहिर उत्पादन भएको लागुऔषध पनि मकवानपुर हुँदै ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।

मकवानपुरमा दिनप्रतिदिन लागुऔषधको कारोबार फष्टाउँदै गइरहदा यसको नियमन र नियन्त्रणको लागि सरोकारवाला निकायले खासै केही पहल गरेको भने पाइँदैन। प्रहरीले लागुऔषध उत्पादन फँडानी र कारोबारी गर्नेलाई पक्राउ गर्नेबाहेक यसको नियन्त्रण र न्यूनीकरणको लागि कुनै पनि कार्य हुन सकेको छैन।

यस्तै, गतिमा लागुऔषधको कारोबार बढ्दै जाने हो भने भविष्यमा मकवानपुर अन्‍तर्राष्ट्रिय कारोबार केन्द्र नबन्ला भन्न सकिँदैन।

एक वर्षमा ५१ लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध कोरोबार गर्ने १५१ जनालाई पक्राउ गरेको छ।

 विभिन्न प्रकारको लागुऔषध ओसारपसार गर्ने उनीहरूलाई पक्राउ गरेर ९९ वटा मुद्वा दायर गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनको अनुसार पक्राउ पर्नेमा एकसय ३९ जना पुरुष र ९ जना महिला गरी एकसय ४८ जना नेपाली रहेका छन् भने ३ जना भारतीय पुरुष पनि पक्राउ परेका छन्।

​यसअघि गत आव ०७६÷७७ मा पनि मकवानपुर प्रहरीले लागुऔषध कारोबारी गर्ने एकसय ८७ जनालाई पक्राउ गरेको थियो। प्रहरीले एकसय ६१ पुरुष र ७ महिला गरि एकसय ६८ नेपाली र १८ पुरुष र एक महिला गरी १९ जना भारतीय नागरिकलाई लागुऔषध कारोवारको आरोपमा पक्राउ गरेको थियो।

सामान्य लालचमै फस्छन्

मकवानपुरमा लागुऔषध कारोबारी गर्नेहरू दैनिकजसो प्रहरीले पक्राउ गरिरहेको भए पनि मुख्य नाइके भने हालसम्म पक्राउ पर्न सकेको छैन। प्रहरीले पक्राउ गर्नेहरू अधिकांश सामान्य लालचमा लागुऔषध एक ठाउँबाट अर्को ठाउँमा लैजाने भरियाको रुपमा मात्रै रहेका हुन्छन्।

अधिकांश मात्रामा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नागरिकहरू लागुपदार्थ ओसारपसारमा संलग्न हुने गरेको पाइन्छ। राक्सिराङ जिल्लाको विकट गाउँपालिका मात्रै नभएर त्यहाँ अधिकांश बासिन्दाहरू गरिबी र भोकमारीको चपेटामा छन्। जसले गर्दा उनीहरू सामान्य लालचामा फसेर लागुपदार्थ ओसारपसारमा संलग्न हुने गरेको मकवानपुरका प्रहरी प्रवक्ता रिमालको भनाई छ। उनले भने ‘गरिबीको कारणले यति थोरै काम गर्दा पनि पैसा आउँछ भन्ने उनीहरूलाई पर्छ र यो काम गर्न तयार हुन्छन्। कतिपय अवस्थामा त विभिन्न लालँच देखाएर बालबालिकालाई पनि प्रयोग गरिएको हुन्छ।

 रिमालले २-४ हजारकै लोभमा परेर लागुऔषध कारोबारीको फन्दामा फस्नेको संख्या धेरै रहेको बताए। उनले थोरै काम गरेर धेरै पैसा कमाउने लोभले पनि यस कोरोवारमा धेरैले संलग्नता देखाउने गरेको बताए।

१७ सय किलो गाँजा र १५ सय किलो चरेश बरामद

मकवानपुर प्रहरीले गत एक वर्षमा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। कारोबारको क्रममा रहेको विभिन्न स्थानमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्न प्रकारको लागुऔष बरामद गरेको छ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकअनुसार एकहजार सातसय ८३ किलो गाँजा र एकहजार पाँचसय ५८ किलो चरेश प्रहरीले बरामद गरेको छ। त्यस्तैगरि १४ ग्राम खैरो हेराइन , १४ किलो अफिम र सात हजार तीनसय ४७ ट्याब्लेट नाइट्रोभेट बरामद भएको प्रहरी प्रवक्ता रिमालले बताए। प्रहरीले तीनसय ९ ट्याब्लेट डाइजेपाम , दुईसय ९९ ट्याब्लेट फेनारगन र तीनसय ७ ट्याब्लेट नोर्फिनको साथै दुईसय ९६ बोतल कोरेक्स पनि बरामद गरेको छ।

यसअघि अघिल्लो आव ०७६-०७७ मा मकवानपुर प्रहरीले एकहजार ६ सय ४२ किलो गाँजा , नौसय १० किलो चरेश , एकहजार दुईसय ५० किलो अफिम र दुईहजार एकसय ५३ ट्याब्लेट अफिम बरामद गरेको थियो। त्यस्तैगरी, पाँचसय ८४ ट्याब्लेट डाइजेपाम, पाँचसय ७ ट्याब्लेट ब्यप्रोनोरफिन, पाँचसय ८३ ट्याब्लेट फेनारगन, ७० ट्याब्लेट नोर्फिन र चार सय ३८ बोतल कोरेक्स बरामद गरेको प्रहरी प्रवक्ता रिमालको भनाइ छ।

पाँचसय ४३ बिघा लागुऔषध फडानी

मकवानपुर प्रहरीले हरेक वर्ष जस्तै गएको वर्ष पनि लागुऔषध फँडानी कार्यलाई निरन्तरता दिएको छ। जिल्लाको विभिन्न विकट स्थानमा खेतीको रुपमा लगाइएको गाँजा तथा अफिमजस्ता लागुऔषध फडानी गरिइएको हो। प्रत्येक वर्ष प्रहरीले लागुऔषध फडानी अभियान नै चलाए पनि यसले लागुऔषध उत्पादन , यसको कारोवारी र प्रयोगमा भने कमी ल्याउन सकेको छैन।

प्रहरीले दिएको तथ्यांकअनुसार गएको वर्षमा मकवानपुर प्रहरीले ६ सय ६ प्रहरी खटाएर चारसय ६२ बिघामा एक कठ्ठामा लगाएको गाँजा र ४१ बिघा १० कठ्ठामा लगाइएको अफिम फडानी तथा नष्ट गरेको छ। प्रहरीले सबैभन्दा धेरै मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको तीनसय ७० बिघामा लगाएको गाँजा फडानी गरेको छ भने २८ बिघा १० कठ्ठामा लगाइएको अफिम पनि प्रहरीले नष्ट गरेको छ।

त्यस्तैगरी, कैलाश गाउँपालिकाको ६ बिघा २६ कठ्ठामा लगाइएको गाँजा र १३ बिघामा लगाइएको अफिम नष्ट गरिएको छ। त्यस्तै बकैया गाउँपालिकाको १४ बिघा , हेटौंडा उपमहानगरको २० बिघा,  भीमफेदी गाउँपालिकाको एक कठ्ठा र बागमती गाउँपालिकाको ४ कठ्ठामा लगाइएको गाँजा फडानी गरेर नष्ट गरेको मकवानपुर प्रहरीले जनाएको छ।

 यसअघिको अघिल्लो वर्षमा पनि मकवानपुर प्रहरीले पाँचसय ६३ बिघा १९ कठ्ठा गाँजा र ८९ बिघा ११ कठ्ठा अफिम फँडानी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.