|

पर्सा : अवैध तरिकाले भारतबाट चाँदीको तयारी गरगहना लिएर आउँदै गरेको समयमा प्रहरीले एकजना ज्वेलर्स सञ्‍चालकलाई वीरगन्जमा पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्त चितवनको श्रीया ज्वेलर्सका सञ्‍चालक अंगत साह हुन्।

उनी भारतबाट अवैध तरिकाले ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना लिएर वीरगन्ज आउँदै थिए। नेपाल भारत सीमामा रहेको मितेरी पुल पारगरी वीरगन्जको शंकराचार्य गेटसम्म आइपुगेको समयमा प्रहरीले चेकजाँच गर्दा उनी पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

भारततर्फबाट बिहानै शंकास्पद रुपमा पैदल यात्री नेपाल आइरहेको समयमा पर्सा प्रहरी मातहतको इनर्वा प्रहरी चौकीका सुरक्षाकर्मीले चेकजाँच गर्दा अवैध चाँदी फेला परेपछि बुधबार बिहान साढे ८ बजे चाँदीसहित साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले बताए।

चाँदीसहित पक्राउ परेका कारोबारी साह सप्तरीका स्थायी बासिन्दा भएको खुलेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका डिएसपी खनालले बताए। 

'पक्राउपछि अनुसन्धान गर्दै जाने क्रममा साह चितवनमा श्रीया ज्वेलर्स सञ्‍चालक रहेको खुलासा भयो' डिएसपी खनालले भने। पक्राउ परेका अभियुक्त साहले फ्याक्टर एक्स लेखिएको कालो रंगको ब्‍यागमा चाँदीका तयारी अवस्थाका गरगहना लिएर नेपाल प्रवेश गरिसकेका थिए। प्रहरीको चलाखीले उनी उम्कन नसकेको पर्सा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.