|

गुल्मी : ​२० रुपैयाँ पर्ने आयोडिन नुनलाई सदरमुकाम तम्घासका खाद्य पसलेहरूले २५ रुपैयाँमा बिक्री-वितरण गर्दै आएको खुलेको छ।

घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको अगुवाइमा तम्घासका पसलहरूमा अनुगमन गर्दा यस्तो पाइएको हो। आयोडिनयुक्त नुनको प्याकेटमा अधिकतम खुद्रा मूल्य २० रुपैयाँ लेखिएपनि २५ रुपैयाँमा बिक्री-वितरण गर्दै आएको पाइएको हो।

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले आयोडिन नुनको मूल्य भैरहवाकै होलसेलमा २० रुपैयाँ पर्ने बताए। भैरहबाबाट गुल्मीसम्म ढुवानी, लोड अनलोड गर्दा करिब २३ रुपैयाँ पर्न आउने उनले दाबी गरे। घाटा खाएर व्यापारीहरूले सामान बेच्न नसक्ने उनको तर्क छ।

यस्तै, भाडा पसल भनेर दर्ता गरेपनि उनीहरूले हार्डवेयरका सामानहरू पनि राखेर बिक्री-वितरण गर्दै आएको पाइएको छ। तम्घासको श्रीकृष्ण भाडा पसलमा हार्डवेयरका सामानहरू काटी, किला र रङरोगनका सामानहरू राखेर बिक्री-वितरण गर्दै आएको पाइएको हो।

तम्घासका पसलहरूमा मूल्यसूची नराख्ने, एउटै पसलमा खाद्य सामग्री, फलफूल र दूध दही लगायतका सामानहरू राखेर बिक्री-वितरण गर्दै आएको र दर्ता नै नगरी पसल संचालन गर्ने गरेको पाइएको छ। खाद्य सामग्रीहरूको मूल्य पसल अनुसार फरक फरक पाइएको गुनासो आएपछि उद्योग विकास समितिले बजार अनुगमन गरेको हो।

घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले पसलहरूमा मूल्यसूची नराख्ने र मापदण्ड विपरीत बिक्री-वितरण गर्नेलाई सचेत गराइएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.